
तपाईंका असङ्ख्य श्रोता र नेपाललाई के भन्न चाहनुहुन्छ ?
‘अरु त्यस्तो खास केही चाहना छैन, मलाई एकपटक नेपाल हेर्न, काठमाडौं आउनचाहिँ असाध्यै मन छ ।’ मेरो अन्तिम प्रश्नमा उनी यसरी पोखिँदै अझ अगाडि भन्छिन्, ‘‘नेपालले, नेपालीले, काठमाडाैंले नै मलाई यति धेरै चिनायो, मन पराइदियो, यदि मैले काठमाडौंमा बसेर केही समय सङ्घर्ष नगरेको भए सायद म, म हुने नै थिइनँ कि !’
नेपाल र नेपालीप्रति अगाध सम्मानभाव प्रकट गर्ने वरिष्ठ गायिका दिलमाया खातीसँग विजयकुमार राईमार्फत् २०७६ साल असोज १३ गतेको साँझ भलाकुसारी गर्ने अवसर जुट्यो दार्जीलिङको घुमपहाडमा ।
विछोडको पीडा नसकी खप्न
दसैंको बेलामा
तिमीलाई भेट्न आउँदैछु फर्की
रमाइलो गाउँमा ।
वरिष्ठ गीतकार रत्न शमशेर थापाको यो चर्चित गीत, दिलमाया र नारायण गोपालको युगल आवाजमा सार्वजनिक हुनासाथ जनजनको मनमा विराजमान हुन पुगेको थियो । दार्जीलिङबाट दिलमाया, नारायण गोपाल र गोपाल योञ्जन यो गीतको रेकर्ड गर्न कलकत्तासम्म पुगेका थिए । पुराना दिनहरु सम्झँदै दिलमाया भन्छिन्, ‘‘काठमाडांैदेखि नारायण गोपाल मलाई खोज्दै यहीँ घरसम्मै आउनुभयो । मसँग युगल गीत गाउन अनुरोध गर्नुभयो । पहिला त मैले मानिनँ, तर निकै जोड गरेपछि मैले नाइँ भन्नु नै सकिनँ ।’’ यसरी यी दुई जोडी युगल गायनमा निकै जम्न पुगे ।
दिदी, तपाईं आफ्नो साङ्गीतिक गुरुचाहिँ कसलाई मान्नुहुन्छ ?
शिवशङ्कर र नातिकाजी दाइहरु मेरो पथप्रदर्शक र साङ्गीतिक गुरुहरु हुन् ।
अनि उहाँहरुसँग प्रथम भेटघाट र जानपहिचानचाहिँ कसरी हुन पुग्यो ?
लामै कहानी पो छ त हौ भाइ ।
‘‘सुनौं न दिदी ! यस्तै पुराना कुराहरु सुन्न भनेर नै हामी उति टाढादेखि आएका छौं ।’’ मैले भनेँ । उनी अगाडि भन्दै जान्छिन्, ‘‘मेरो एकजना मिल्ने साथी थिइन् कृष्णा कन्दङ्वा, उनी पूर्वी नेपालकी हुन् । उनीसँग म पनि काठमाडाैं घुम्न गएँ । घुम्नेक्रममा रेडियो नेपालमा पुग्याैं । त्यहाँ नातिकाजी, शिवशङ्कर, तारादेवीहरुसँग चिनजान भयो । उहाँहरुले मलाई गीत गाउन अनुरोध गर्नुभयो । त्यहाँ एउटा हिन्दी गीतको भजन गाएर सुनाइदिएँ । यसबाट उहाँहरु प्रभावित हुनुभयो । रेडियो नेपालमा गीतहरु गाउने प्रस्ताव गर्नुभयो । मलाई धेरै खुसी लाग्यो । यो ठूलो अवसर हो भन्ने भावना कता–कताबाट त्यतिखेरको कच्चा उमेरमा पनि आएछ नि हौ भाइ मलाई ! अनि म नेपालतिर आकर्षित भएँ, रेडियो नेपालले मोहनी लगायो । हिमालको काखमा छ सानो मेरो गाउँ...बोलको गीत पनि मैले गाएकी थिएँ । रेडियो नेपालद्वारा एउटा प्रतियोगितात्मक साङ्गीतिक कार्यक्रमको आयोजना भएको थियो । त्यहाँ मैले कति पीडा कति रोदन...नामक गीत गाएर स्वर्ण पदक प्राप्त गर्न सफल भएँ ।’’
यसरी दार्जीलिङकी दिलमाया नेपाल आएर प्रसिद्धिको शिखर चढिन् । रेडियो नेपालबाट उनका गीतहरु एकपछि अर्काे घन्कन थाले । श्रोताहरु उनका गीतको पछि लट्ठिँदै झुम्न थाले । उनमा थप साहस, उत्साह र ऊर्जा थपिँदै गयो । त्यसपछि उनी दार्जीलिङ फर्केर हिमालय कला मन्दिरमा प्रवेश गरिन् । कर्म योञ्जनको सङ्गीत र गोपाल योञ्जनको शब्दमा सावन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केन...बोलको गीत दिलमायाको कर्णप्रिय आवाजमा आयो । यो सन् १९६२ मा कलकत्ताको हिन्दुस्तान रेकर्डिङ कम्पनीमा रेकर्ड भएको थियो । त्यहीबेला उनले– सम्झेर बुझेर दिइहाल यो जोवन...बोलको अर्काे कालजयी गीत पनि गाइन् । जसलाई कर्म योञ्जनकै सङ्गीत र गोपाल योञ्जनको शब्दले सिँगारिएको थियो । यस गीतको सहगायन कर्म र दिलमायाको रहेको थियो । यसरी नेपालबाट चम्किएकी यी तारा अब दार्जीलिङमा मात्र होइन खर्साङ, सिक्किम, असाम, गोहाटी, भुटानतिर पनि प्रसिद्ध हुन पुगिन् ।
तपाईंलाई मन पर्ने गायक को हो ?
प्रेमध्वज प्रधान मलाई निकै मन पर्छन् । आवाज पनि मीठो, भलादमी, असल बानी व्यहोरा । आकर्षक व्यक्तित्व ।
अनि महिलामा ...?
अरुणा लामा, शान्ति ठटाल...।
नेपालका महिला गायकचाहिँ....।
तारादेवी...(निकै सम्झिन खोज्दै) सबै बिर्सिसकेँ हौ भाइ अब त !
वरिष्ठ गीतकार रत्न शमशेर थापा, गायक बच्चुकैलाशहरुसँग चाहिँ तपाईंको सम्बन्ध कस्तो रह्यो ?
मेरो उहाँहरुसँग त्यति राम्रो चिनजान भएन । लोकप्रिय गायक नारायण गोपालको आवाज रहेको र हामीले सुन्दै आएको ‘तिम्रो जस्तो मुटु मेरो पनि...’ बोलको गीत सुरुमा दिलमायाले गाएकी हुन् । यो गीतको अन्तरामा ‘सीता’ त होइन म पनि, धेरै कमजोरी छ मेरो पनि...भन्ने बोल थियो । तर पछि यो गीत नारायण गोपालको आवाजमा रेकर्ड हुँदा त्यसमा केही परिवर्तन गरी सीताको ठाउँमा ‘देवता’ शब्द राखियो । त्यतिमात्र होइन, हिमालको काखमा छ सानो मेरो गाउँ, पर्वतकी छोरी हुँ म पार्वती हो नाउँ...भन्ने चर्चित गीत तारादेवीको आवाजमा हामी अहिलेसम्म रेडियोमा सुन्ने गर्छाैं, यो गीत पनि दार्जीलिङबाट आएर दिलमायाले नै सुरुमा गाएकी थिइन् । मायालु हजार हुन्छन्...बोलको गीत पनि दिलमायाले नै पहिला गाएको कुरा उनीबाट थाहा भयो ।
किन यस्तो भयो ?
शिवशङ्कर दाइले यो गीत तारादेवीको आवाजमा रेकर्ड गराइदिनुभएछ । त्यतिखेर म काठमाडौंमा थिइनँ । सायद त्यसैले होला । यसमा मलाई कुनै दुःख लागेको छैन । यी गीतहरु पहिले आफूले गाए पनि सुरक्षित र संरक्षित रुपमा रेकर्ड हुन सकेनन् । त्यसमाथि आफू दार्जीलिङमा बस्ने हुँदा यस्तो भएको होला । मैले त स्वर दिएर गाएको मात्र हो । मेरो आफ्नो गीत भए अर्कै कुरा हुन्थ्यो । यसमा मलाई कुनै आपत्ति र पछुतो छैन भाइ ।
यस्ता महत्वपूर्ण कुरालाई पनि स्वाभाविक रुपमा लिने उनको आदत देखेर छक्क परियो । उनको भद्र, शिष्ट र शालीन व्यक्तित्वले हामी प्रभावित भइरह्यांै ।
आफूले गाएका गीतमध्ये तपाईंलाई मन पर्ने कुन हो ?
बचाई राख सम्झनाभित्र म भित्र मर्दिनँ...यो गीत मलाई निकै मन पर्छ । यसको शब्द रचनाचाहिँ गोपाल योञ्जनको हो ।
तपाईं यस क्षेत्रमा आउँदाका प्रारम्भिक दिनलाई कसरी सम्झनुहुन्छ ?
म स्कुल पढ्दादेखि नै गीत–सङ्गीतमा अभिरुचि राख्थेँ । अनारकली भन्ने हिन्दी सिनेमामा लता मङ्गेशकरले गाएको– ये जिन्दगी उसी कि है...बोलको गीत थियो । त्यतिखेर यो निकै चलेको गीत पनि थियो । यही गीत मञ्चमा लाज नमानी मैले गाएँ । पछि त यही गीतमा म प्रथम पनि भएँ । मेरो यहीँबाट साङ्गीतिक प्रस्तुति सुरु भयो । यसैलाई मेरो साङ्गीतिक यात्राको पृष्ठभूमि मान्दा फरक पर्दैन भाइ ।
विख्यात भारतीय अभिनेता राजकपुरसमेत दिलमायाको स्वरबाट प्रभावित थिए । त्यसैले दिलमायालाई बम्बई गएर हिन्दी गीत गाउन उनले प्रस्ताव गरेका थिए । तर दिलमायाले उनको उक्त प्रस्तावलाई अस्वीकार गरिन् । त्यसैगरी, नयाँदिल्लीको एउटा साङ्गीतिक कार्यक्रमा राष्ट्रपतिले दिलमायाको गायकीको खुबै प्रशंसा गरेको घटनालाई आधार बनाएर मैले जिज्ञासा राखेँ । हाँस्तै उनले भनिन्, ‘‘धेरै पुरानो घटना हो भाइ त्यो ।’’
तपाईंको स्वास्थ्यस्थिति कस्तो छ ?
बूढो शरीर भएपछि रोगव्याधीले समाउँछ नै भाइ । सञ्चो नभएको कारण गाउन त मैले छोडिसकेँ । त्यति हिँड्न सक्दिनँ । त्यसैले टाढा जान मन पनि लाग्दैन । कसैले, कुनै कार्यक्रममा बोलाउँदा गाडी पठाउने गर्छन् ।
दिलमायाले दार्जीलिङको रामकृष्ण स्कुलमा शिक्षण पनि गरेकी थिइन् । पछि भानुभक्त स्कुलमा सरुवा भएर त्यहीँबाट सन् २०००मा उनले अवकाश लिइन् । सन् १९३९ को १५ डिसेम्बरमा नन्दलाल र अतिरुपाको कोखबाट कान्छी छोरीका रुपमा दार्जीलिङको घुमपहाडमा दिलमायाको जन्म भएको थियो ।
अहिलेको दिनचर्या कस्तो छ ?
पूजापाठ गर्छु । केही समय ध्यान, आराधना गरेर बस्छु । यस्तै त हो भाइ, अब त अरु खै के गर्न सक्छु र !
अहिलेका गीत–सङ्गीत कस्तो लाग्छ ?
ठीकै छन्, अहिलेको पनि राम्रो लाग्छ ।
अन्त्यमा, तपाईंका श्रोतालाई के भन्नुहुन्छ ?
एकचोटी नेपाल हेर्न आउने मन असाध्यै छ भाइ, त्यत्ति हो ।
उनको यो कुराले हामीलाई पनि भावविह्वल बनाउँछ । नेपाल र नेपाली जनताप्रति उनको स्नेहभाव अहिले पनि उत्तिकै छ । उनले नेपाली भाषा र नेपाली जातिका प्रति देखाएका अनेकौं चासो र जिज्ञासाप्रति हामी नतमस्तक हुन्छौं ।
अन्त्यमा तपाईंको आवाजको एउटा गीत नसुनी कसरी फर्काैं ? यसरी हाम्रो विनयी अनुरोधको कदर गर्दै उनले यो गीत सुनाइदिइन्:
सावन फर्की फेरि झर्यो माया लगाई निष्ठुरी फर्केन
चुँडाइ लग्यो यो मन मेरो जोडिदिने त्यो पापी आएन ।
प्रस्तुति: नगेन्द्रराज रेग्मी