महेश थापा
स्वर्ग देखेँ, नर्क पनि भोगेँ । यही जीवनमा, यसै धरतीमा । देवदूत पनि सशरीर मेरा सम्मुख आए, मलाई मुक्ति आश्रम पुर्याइदिन !
जीवनसँग मलाई कुनै गुनासो छैन । तर छक्क पर्छु, मुक्ति आश्रम जाने मेरो निर्णयलाई लिएर मानिसहरुका टीकाटिप्पणी सुन्दा । निरर्थक ! ती अनावश्यक र अतिरञ्जित प्रतिक्रियाप्रति म निस्पृह छु । तर तिनका असन्तुष्ट र आशावादी नजर मतिर मुखरित हुन्छन् । मानौं, म कुनै एलियन हुँ, ढिँट, भावहीन— जो यहाँका जीवातहरुको चिन्ता, चासो र सरोकार महसुस गर्नै सक्दैन; जसलाई अरुका समस्या र पीडाप्रति कुनै वास्तै छैन । हताशावश सायद ती सोच्ता हुन्, “...मान्छे बूढो भए निहुँ खोज्छ ।” आहान त्यसै बन्या हो र !
अनौठो त मलाई यो कृशकाय हालतमा थातथलो छाडी हजारौं माइल भौंतारिँदै मुक्ति आश्रमको दैलो ढकढक्याउन पुग्नुपर्ने परिबन्द र आफ्नो नियतिप्रति लाग्छ । यी सबैबाट बेखबरझैं प्रक्षेपित र लाञ्छित अनेक तर्कहरु मलाई बेतुक लाग्छन् । किनकि आफ्नो भलो÷कुभलोको हेक्का राख्न म आफैं सक्षम छु— शारीरिक र मानसिक दुवै कोणबाट । धमिलिँदै गएका मेरा आँखाले यो संसारलाई छाम्न थालेको पनि शताब्दी नाघिसक्यो । दुनियाँदारी राम्ररी बुझेको छु ।
०००
वरिष्ठ प्राध्यापक मात्र होइन, वनस्पति वैज्ञानिकका रुपमा मैले ठूलै ख्याति आर्जन गरें । हरेक बुलन्द अवसर छोएँ, वनस्पतिसम्बन्धी जुनसुकै काममा मेरो सहयात्रा, सहकार्य, सहभागिता वा अनुमति अनिवार्य थियो कुनै समयमा । तर जिन्दगीले जेजे दिन्छ, ती सबै क्रमशः हर्दै लाँदो रहेछ आफैं । जीवनको डोरी तन्किँदै जाँदा मेरा प्रियजनहरु छुट्दै, हराउँदै र बिलाउँदै गए । मात्र म थिएँ अनि मेरो एकाकी जीवन । काम सकेर फर्किएपछि अपार्टमेन्टमा एक्लै पर्थें । अध्ययनअनुसन्धानका कर्मबाट दिमाग भट्किनासाथ त्यो एकाकीले लखेट्न थाल्थ्यो । बुढ्यौलीले गाँजेपछि मनको घोडा पनि चाँडै थाक्दो रहेछ, कतै भौंतारिन नसक्ने । कविता कोर्दै त्यसलाई छल्ने निष्फल कोसिस गर्थें । तर त्यो दुष्ट हरदम मैलाई ढुकिबसेको हुन्थ्यो टिल्ल हेर्दै ।
शतायु छिचोलेको पारितोषिकस्वरुप विश्वविद्यालयले मेरो अवैतनिक नोकरी हर्ने फर्मान सुनाउँदा म छाँगाबाट खसेतुल्य भएको थिएँ । नियमानुसार सेवानिवृत्त भएपछि विश्वविद्यालयले मलाई मानार्थ पद दिएको थियो यो । अर्थोपार्जन नभए पनि आफूले गरिआएका कर्मलाई त्यसबाट निरन्तरता दिन सक्थें । साताको कम्तीमा चार दिन म आफ्नो कार्यकक्षमा पुग्थें रेल वा सार्वजनिक बसहरु हुँदै झन्डै डेढ घण्टा लामो दूरी छिचोलेर ।
मसँग थियो त केवल मैले आर्जेको ज्ञान, सीप, दक्षता र मेरो पेसा । फगत एउटा नोकरी थिएन त्यो । त्यो थियो मेरो जीवनाधार । मेरो जीवन हर्ने त्यो प्रपञ्चले जिन्दगीमा पहिलोपल्ट मलाई भित्रैदेखि हल्लायो । कातर हुँदै मैले स्वयम्लाई छाम्न खोजेँ । त्यसरी आवतजावत गरिरहनु मेरा निम्ति खतरापूर्ण हुने तिनको जिकिर थियो । जीवनभर सक्रिय म निष्क्रिय बस्न कसरी सक्थें ? आफ्नो अस्तित्वमाथि नै प्रश्नचिह्न खडा भएझैं लाग्यो, पहिलो पल्ट मलाई । सायद ती मलाई कोक्ल्याँटो ठान्थे । तर भाँडमै जाओस् तिनीहरुको सोच जस्तो लाग्थ्यो— अवाञ्छित सदाशयता र वाहियात चिन्ताहरु !
झन्डै दशक नाघिसकेको थियो टेनिससँग नाता टुटेको । शरीरले साथ नदिँदा थिएटरमा अभिनय गर्ने मेरो सोखले बिदा लिएको पनि धेरै भइसक्यो । अहिले बसिरहेको ‘सोसाइटी’मा कसैसँग मेरो सामाजिक सम्पर्क छैन । सिङ्गो पर्थ महानगरमै पनि मेरो सम्पर्कका व्यक्ति छैनन् भनिदिए फरक नपर्ला । जेजति छन्, ती सबै मेरो कार्यालय हाताभित्र भेटिने सहकर्मी, सहयोगी र विद्यार्थीहरु हुन् । तीसँग हाँसेर, जिस्किएर म एकछिन बोल्न सक्थें । तिनलाई फुर्सद होस्÷नहोस्, मेरा गलफती सुन्ने मुडमा ती होऊन् वा नहोऊन्, अधिकारपूर्वक तिनीहरुसँग म गन्थनिन सक्थें ।
शारीरिक अवस्थाको कारण देखाउँदै विश्वविद्यालयले मलाई आफ्ना अनुसन्धान कार्यहरु घरबाटै निरन्तरता दिन सुझायो । मैले गरेका सेवा, योगदान सबै बिर्सिइए । मेरा उपलब्धि र दक्षता अझै काम लाग्दा नै थिए । तर म बेकामे बनाइएँ । तिरस्कृत हुनुको पीडाले छाती लुछ्न थाल्यो । परिचितहरुबाट टाढिएपछि निर्जन टापु जस्तो आफ्नो एक बेडरूमे अपार्टमेन्टभित्र गुम्सिएर बाँच्नुपर्ने भविष्य सम्झी म निसास्सिएँ, कहालिएँ, चिच्याएँ । र विश्वविद्यालयको त्यो बेतुके निर्णयलाई चुनौती दिएँ । विश्वभरिका न्यायप्रेमी जनसमुदायले मेरो पक्षमा आवाज उठाए । आफ्नो निर्णयबाट पछाडि फर्कंदै विश्वविद्यालयले मसँगको करार लम्ब्यायो । तर साविकको रहेन मेरो कार्यकक्ष । मैले घरबाट आउजाउ गर्दा लाग्ने दूरी आधा घट्ने गरी विश्वविद्यालय हाताभित्रै मलाई नयाँ कार्यकक्ष दिइयो । त्यही अवाञ्छित सदाशयता र वाहियात चिन्ता । तथापि, सापेक्षित रुपमा यो निर्णय केही सन्तोषप्रद थियो ।
संसारका विभिन्न देशमा छरिएका छन्, मेरा सन्ततिहरु । म आफ्नो दिनचर्या छाड्न सक्दिनँ, उनीहरु पनि आफ्नै जिन्दगीमा रमिरहेका होलान् । कुनै गुनासो छैन मलाई । यदाकदा भौतिक भेटघाट पनि जुर्छ, नत्र भर्चुअल देखभेट भइ नै रहन्छ । सन्तुष्ट छु, मात्र निष्क्रियताको तर्कनाले पिरोल्छ मलाई । मस्तिष्कले फुर्सद पाउनासाथ अपार्टमेन्टभित्र ढुकीबसेको एकाकी मलाई झम्टिन आइपुग्थ्यो— लुछ्न, चिथोर्न । त्यसको सम्झना मात्रले पनि सिरिङ्ग पाथ्र्यो । त्यसलाई छेउ पर्न नदिन प्रतिपल म आफैंसँग भागिरहन्थें । “बाँचिरहेको छु वा भागिरहेको ?” सोच्ता पनि असमञ्जसमा पर्थें । निस्सार जीवन र भगौडाको नियति सम्झँदा सयौंपल्ट मभित्र आत्महत्याको विचार नपलाएको होइन— तीनपल्ट त मैले आत्महत्याको असफल कोसिसै गरें ।
फेरि सोच्थेँ, “जीवन र जगत्का लागि मैले गर्न सक्ने अझै बाँकी छ । प्रकृतिले दिएको यो अनुपम अवसर, यो वरदानलाई नास्ने अधिकार मसँग छैन !” त्यो मेरो आत्मश्लाघा थियो वा आत्मवञ्चना ? अझै निश्चित हुन सकेको छैन ।
जसोतसो जीवनको गाडी धकेलिइरहेकै थियो । अनायास एक दिन आफ्नो अपार्टमेन्टभित्र म लडें । उठ्न गरेका भगीरथ प्रयत्नहरु निष्फल सावित भए । चिच्याएँ, कराएँ, रोएँ । तर सुनिदिने कोही थिएन । घिस्रिँदै मैले कुनै सञ्चार उपकरणसम्म पुग्ने चेष्टा गरें । स्नायुपुञ्ज र मांसपेसीले मलाई साथ दिएनन् ।
विगत एकडेढ वर्षदेखि मेरो स्वास्थ्य अवस्था निकै खस्कँदै गयो । दृष्टि पनि धमिलिएको थियो । उठ्ने उहापोहमा गरेका हरेक प्रयत्नहरुसँगै मेरो शरीर झन्झन् शिथिल हुँदै गयो । अन्ततः मैले आत्मसमर्पण गरें, उठ्ने प्रयत्नहरु विसर्जित गरेर । मांसपेसीभित्रको कम्पन, हृदयको धड्कन, श्वासप्रश्वासको लय र आँखाको झिमझिमबाहेक मेरो सम्पूर्ण शरीर निश्चल भयो । पसिनाको चिसो महसुस गरें । मोक्षको अपेक्षामा एउटा सन्तुष्टि पनि थियो । तर मप्रति अवाञ्छित सदाशयता र वाहियात चिन्ता प्रकट गर्ने मनुवाहरुको तस्बिर मस्तिष्कमा तैरिँदा मलाई झनक्क रिस उठ्यो— कहाँ हराए यति बेला ती ? मेरो जीवनमा केही बदलियो तिनको सदाशयता र चिन्ताले ? के बिग्रन्थ्यो म कुनै ‘खतरा’मै परेको भए पनि ? योभन्दा त श्रेयस्कर हुने थियो, त्यो दुर्भाग्य मेरा लागि !
दिन ढल्यो । रात बित्यो । चराको चिरबिरसँगै प्रभाती किरण सलबलाए । तर मेरो दशा बदलिएन । भुइँमै लम्पसार थिएँ— शिथिल, अशक्त, असहाय । आफूलाई यस्तो दीनहीन अवस्थामा पाउँदा मभित्रको मान्छे मर्माहत भयो । वास्तवमा शरीर कृशकाय भए पनि त्यसभित्रको मान्छे त थलिएको थिएन नि ! औधी प्रेम र सम्मान गर्छु म त्यसलाई । कठोर परिश्रम, सङ्घर्ष र तपको बलमा त्यसले एउटा शानदार जिन्दगी बाँच्यो । तर पछिल्लो केही घण्टाभित्र त्यो हजारौंपल्ट मर्यो । “यस्तो नियतिको हकदार होइन त्यो,” त्यस घडीमा लाग्यो, “बस्, अब पुग्यो !”
हो, आवश्यकताभन्दा बढी बाँचेँ म । तन्कँदो आयु सँगसँगै मेरो जीवनको आयतन, घनत्व र गुरूत्व झन्झन् खुम्चँदै गयो । जेजति पाउनु थियो, पाइसकेँ; जेजति फलाउनु थियो, मैले फलाइसकें । मेरो जीवनरुपी बागमा अब कुनै पूmल फुल्नेछैन, फल लाग्नेछैन । टुसाए पनि झारपात र ऐंजेरू मात्र टुसाउने हो । आफैंसँग भागेर, पलप्रतिपल मरेर बाँच्नुको कुनै अर्थ छैन । त्यसैले जीवनको शारीरिक र मानसिक बोझ बिसाउनु नै उत्तम हुनेछ ।
बिस्तारै मभित्र प्रतिरोधको भाव पलायो । फेरि सोचें— यस्तो अन्त्यको हकदार होइन म । सानदार जीवनको अन्त्य पनि सानदारै हुनुपर्छ ! हतास र निराश मनोदशामा आत्महत्याको बाटो रोज्ने कायरमा दरिनु मलाई किमार्थ मञ्जुर थिएन । यही अवस्थामा मेरो मृत्यु भए “दुर्घटना थियो वा आत्महत्या ?” भनेर मानिसहरुबीच फेरि तर्कवितर्क चल्ने निश्चित थियो । एक्लै जीवनयापन गरिरहेको व्यक्ति, आफ्नै अपार्टमेन्टमा लडेर उठ्न नसकेको तथ्य धेरैका निम्ति अपाच्य हुन्थ्यो नै । तीमध्ये केहीले मलाई दयाको पात्र बनाउँथे भने केहीले हेयको । अवाञ्छित सदाशयताको सिकार हुँदै मृत्युपर्यन्त ‘विचरा’ बन्थेँ म ।
“आई डिजर्भ बेटर ! म मुक्ति आश्रम जानेछु...,” मैले निश्चय गरें ।
मुक्ति आश्रमलाई झन्डै दुई दशकदेखि विकल्पका रुपमा हेरिरहेको थिएँ मैले । त्यसको सम्झनाले मात्र पनि मभित्र उत्साह सञ्चार गरायो । जीवनको आशा जागृत भयो ।
दुई दिनपश्चात् मेरो अपार्टमेन्टको दैलो घ¥याक्क उघ्रियो । म अर्धचेत थिएँ । हाउस किपरले भेटेर म अस्पताल पु¥याइएँ । एक्लै बस्न नहुने वा चौबीसै घण्टा नर्सहरुको पहरामा रहनुपर्ने सुझाव दिइयो । हरपल कसैको निगरानीमा रहनु मेरा निम्ति स्वीकार्य थिएन । केही अघि मात्र यसो भनिएको भए म बहुलाउँथें सायद । तर यति बेला मसँग मुक्ति आश्रम थियो । तिनको चेतावनीमिश्रित आग्रहलाई मैले हाँसोमा उडाइदिएँ ।
दुर्घटनाको केही दिनपश्चात् मैले आफ्नो एक सय चारौं जन्मदिनको केक काटें । र त्यही समारोहमा आफन्त र परिचितहरुमाझ मुक्ति आश्रम जाने उद्घोष गरें । त्यो निर्णय सुनेर एकछिन त उनीहरु हतप्रभ देखिए । तर बिस्तारै परिवारजनले मेरो निर्णयको सम्मान गरे ।
मुक्ति आश्रम जान मैले आवेदन दिएँ । स्वीकृत भयो मेरो आवेदन । मलाई त्यहाँसम्म पुर्याइदिन एक सहयोगी आइपुगे । साक्षात् देवदूत लागे ती मलाई । त्यो लामो यात्रा मेरा निम्ति कष्टप्रद नहोस् भन्नेमा सजग थिए सायद उनी । ‘गो फन्ड मी’ नामक वेबसाइटमा उनले सहयोगको अपिल गरे । यो संसारमा मानवता मरिसकेको रहेनछ । ‘इकोनोमी क्लास’को टिकटलाई ‘बिजनेस क्लास’मा अपग्रेड गर्न सहृदयी मनुवाहरुले दिल खोलेर सहयोग गरे ।
तय भएकै दिन हामी विमानस्थल पुग्यौं । अस्ट्रेलियामा रहेका परिजनहरु मलाई बिदा गर्न पर्थ विमानस्थलमा उपस्थित भए । नातिनातिना र पनातिपनातिनाहरुले मलाई भावुक हुँदै सुमसुम्याए । यो न्यानोपनलाई मुटुभरि सँगालेर म फ्रान्सको बोर्दो पुगें, जहाँ परिजनहरुसँगै मैले केही दिन बिताएँ । उनीहरुसँग छुट्टिएर मुक्ति आश्रमतर्पm लम्किन खोज्दा गला अवरूद्ध भयो । तर भावनाको त्यो भुल्कोले मेरो मरूभूमीकृत जीवन रूझाउन सम्भव थिएन ।
गन्तव्य पहिल्याउँदै म स्विटजरल्यान्डको बाजल पुगें । युरोपका अन्य देश र अमेरिकामा रहेका बाँकी परिवारजन मसँग भेट्न त्यहीँ भेला भएका थिए । बाजल विश्वविद्यालयको बोटानिकल गार्डेनमा नातिनातिनाहरुसँग गफिँदै मैले केही घण्टा बिताएँ । मुक्ति आश्रमको मार्ग नरोजेको भए यो मौका मलाई मिल्ने थिएन । हात लागेको यो मौकालाई हृदयले स्वागत गर्दै अँजुलीमा थापें । जिन्दगीमा रहेसहेको कसर पनि पूरा भए जस्तो लाग्यो ।
मुक्ति आश्रम प्रवेश गर्ने पूर्वसन्ध्यामा म पत्रकारहरुद्वारा घेरिएको थिएँ । त्यो सानो कोठा देशीविदेशी पत्रकारहरुले खचाखच थियो । मुक्ति आश्रमको बाटो रोज्ने मेरो निर्णयले संसारको ध्यान खिचेको देख्ता म चकित परें । ‘एजिङ डिस्ग्रेसफुल्ली’ अङ्कित मेरो टिसर्टतर्फ हेर्दै ती निकै उत्सुक अनि जिज्ञासु देखिन्थे । सायद ती मेरो जीवनमा रहेका कमीको हिसाबकिताब गर्दै थिए वा कहाँबाट जिज्ञासा सुरू गर्ने भनेर अलमलिएका थिए । त्यस्तो केही निस्कने अपेक्षासहित तिनले प्रश्न गरे, सबैतिरबाट । उनीहरुको जिज्ञासा मेट्तै भनें, “अब म जीवनदेखि खुसी छैन, त्यसैले मर्न चाहन्छु । यथार्थमा यो दुःखी हुनुपर्ने कुरा होइन । यदि कसैलाई रोकिन्छ भने त्योचाहिँ दुःख हो । मेरो उमेरमा वा मभन्दा कम उमेरको कोही मर्न चाहन्छ भने उचित समयमा मृत्यु रोज्ने स्वतन्त्रता उसलाई हुनुपर्छ । पछिल्ला केही वर्षदेखि मेरो शारीरिक क्षमता र दृष्टि घट्तै गइरहेको छ । योभन्दा बढी म जीवनको निरन्तरता चाहन्नँ । यसलाई अन्त्य गर्ने मौका पाएकोमा खुसी छु म ।”
भोलिपल्ट हामी बाजलबाट अलि टाढा लिस्टलको मुक्ति आश्रम पुग्यौं, जहाँ मेरो तात्कालिक मनस्थिति परीक्षण गर्न केही सवालजवाफ भयो—
“तपाईंको मानसिक क्षमता ठीक छ ?”
“मलाई त्यस्तै लाग्छ, ठीक छु ।”
“तपाईंलाई कुनै असाध्य रोग लागेको छ ?”
“छैन ।”
“तपाईं कुनै असह्य पीडामा हुनुहुन्छ ?”
“छैन ।”
“के तपाईं डिप्रेसनबाट पीडित हुनुहुन्छ ?”
“छैन ।”
“तपाईंलाई कसैले उक्साएको हो, यो निर्णय लिन ?”
“होइन ।”
“के तपाईंको परिवारलाई जानकारी छ ?”
“छ ।”
“के तपाईंका डाक्टर जानकार छन् ?”
“छन् ।”
“तपाईं यो कागजातमा दस्तखत गर्न सक्षम हुनुहुन्छ ?”
“मलाई विश्वास छ, सक्छु,” फिस्स हाँस्तै भनें । मसँगै उपस्थित अन्य मानिस पनि हाँसे । वातावरण अलि हलौं भयो । मैले कागजातमा हस्ताक्षर गरिदिएँ ।
अब सायद प्रक्रिया सुरू भयो । उनीहरु मलाई क्यानुलाको भल्भ अन गर्ने विधि सिकाउन थाले । त्यो काम मैले नै गर्नुपथ्र्यो, जसले मेरो शरीरमा औषधि इन्जेक्ट गथ्र्यो ।
अझै पनि म गन्तव्य भेटिरहेको थिइनँ । उनीहरु तयारीमै व्यस्त थिए । यो ढिलाइ र पट्यारलाग्दो प्रक्रियाले मलाई विचलित पार्दै थियो । मैले झर्कंदै सोधें, “अझ के रूँग्दै छौं, हामी ?”
०००
मुक्तिको कामनामा व्यग्र थिएँ म । त्यही व्यग्रताबीच आफूबाट हुन गएको त्यस्तो व्यवहारले मलाई अलि खुम्च्यायो । अन्ततः प्रतीक्षाको घडी सकियो । सबै तयारी पूरा भयो । मेरो रोजाइमा बिथोविनको नवौं सिम्फोनी अड टू जोयको मधुर सङ्गीत गुन्जियो, कोठामा । शनैःशनैः मैले क्यानुलाको भल्भ ठेलें । उन्मुक्तिको आभासले मेरो रोमरोम पुलकित भयो । सन्तुष्टिको उच्छ्वाससँगै मेरो मुखबाट निस्कियो, “निकै समय लियो यसले !”
मेरा आँखा लोलाए । मीठो निदले गाँज्दै ल्यायो ।