माझीले नै डुबाउन लागेको कांग्रेसको डुंगा ! 

‘‘मझधार मे नैया डोले तो माझी पार लगाए
माझी जो नाव डुबोए उसे कौन बचाए ?’’ 
हिन्दी सिनेमा ‘अमर प्रेम’को एउटा गीतका यी दुई पंक्ति अहिले नेपाली कांग्रेसको नियतिको पर्याय बन्न पुगेका छन् । नेतृत्वले नै डुबाउँदै लगेको कांग्रेसलाई बचाउने पो कस्ले ? 

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त केही स्थानमा आजको ठीक महिना दिनपछि अर्थात् मंसिर १४ गते मतदान हुने गरी निर्वाचन आयोगले तयारी गरिसकेको छ । यस्तो उपचुनावलाई सरकार र विपक्षको लोकप्रियताको कसीका रूपमा लिने गरिन्छ । यसैले दलहरूले उपनिर्वाचन जित्न विशेष प्रयत्न गर्छन् । 
नेपाली कांग्रेसका नेताहरू भने अहिले पनि भागबन्डाको तानातानमा लागेर दुनियाँ हँसाइरहेका देखिन्छन् । तरुण दलले स्थापना दिवस नै दुई ठाउँमा मनायो । यसरी भाँडिएका कार्यकर्ता चुनावमा एक भएर कसरी होमिएलान् ? 

केन्द्रीय समितिको बैठक ‘विभागहरू’ गठनमा भागबन्डा नमिलेको भन्दै अल्पमत पक्ष उपस्थित नभएपछि बस्ने सकेन । अल्पमत पक्षका भनिएका नेताहरू पार्टी कार्यालयमै भएर पनि बैठक कक्षमा छिरेनन् रे ! 

राजनीतिक चेत र पार्टीप्रति प्रतिबद्धता भएको भए नेपाली कांग्रेसका नेताहरूले पक्कै पनि अहिलेको घडीमा भागबन्डाको खिचडी पकाएर दुनियाँलाई हसाउँने थिएनन् । उनीहरू  एक ढिक्का भएर उपचुनावको तयारीमा लाग्ने थिए । 

पार्टी सभापति कार्यकर्तालाई उत्साहित र उत्प्रेरित गर्न हैन धम्क्याउन व्यस्त छन् । भक्तपुरको सभामा सभापति शेरबहादुर देउवाले मंसिर १४ गते हुने ‘‘उपनिर्वाचनमा पार्टीभित्र अन्तर्घात भए असह्य र अक्षम्य हुने’’ चेतावनी पार्टी कार्यकर्तालाई दिएका छन् । 

कार्यकर्तालाई उमेदवार चित्त बुझेन भने पार्टीभित्र अन्तर्घात हुन्छ । उमेदवार छनोटमा आफ्नो तजबिज गर्ने अनि अन्तर्घात गरे भनेर कार्यकर्तालाई धम्क्याउने नेतृत्व लोकतान्त्रिक हैन । उमेदवारको छनोट कार्यकर्ताकै बहुमतले गर्न पाउने हो भने पक्कै पनि अन्तर्घात हुँदैन । कार्यकर्ताले रोजेको उमेदवार उठाउँदा पनि अन्तर्घात भयो भने बल्ल कारबाहीको प्रसंग उठ्छ । आफू चुनावका लागि गर्नुपर्ने तयारी नगरी पार्टीलाई अनिर्णयको बन्दी बनाएर राख्ने अनि कार्यकर्तालाई धम्की दिने गरेर पार्टीको नेतृत्व हत्याउन सकिएला चुनाव जिताउन सकिँदैन । 

चुनावकै मुखमा आलम प्रकरण सुरुभएको छ । यसले नेपाली कांग्रेसको छवि धेरै धमिलो बनाएको छ । पार्टी सभापतिले प्रवक्ताको जति पनि राजनीतिक विवेक देखाउन सकेको भए सम्भवतः क्षति केही कम हुन्थ्यो । तर, सभापति देउवाले त भोलिपल्टै स्पष्टीकरण दिनुपर्ने गरी आवेग पोखे । त्यस्तो नेताको नेतृत्वमा कार्यकर्ताको मनोबल कसरी बढ्छ ? आलम प्रकरणमा देउवाले पोखेको अलोकतान्त्रिक र अराजनीतिक आवेगले कार्यकर्ताको तेजोबध भएको देखिएको छ ।       

सरकार अप्रिय भएको छ । जनअपेक्षा कुनै पूरा नहुँदा जनता सरकारप्रति निराश हुनपुगेका छन् । त्यसमाथि जनसाधारणको सरोकोरका कार्यालयहरू भ्रष्टाचारको बिगबिगी नरोकिएकाले जनता नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँगै रिसाएका छन् । तर, उनीहरूको निराशा र आक्रोशबाट फाइदा लिन भने नेपाली कांग्रेस तत्पर देखिएन । कांग्रेसको नेतृत्वमा राजनीतिक विवेक त छैन नै इच्छाशक्ति पनि रहेनछ भन्ने पछिल्ला घटना र अभिव्यक्तिबाट पुष्टि भएको छ । 

लोकतान्त्रिक राजनीतिमा जनभावनाको विशेष स्थान हुन्छ । जनताको नाडी छाम्न सक्नेले नै उनीहरूको समर्थन पनि हासिल गर्छ । नेपाली कांग्रेसको नेतृत्व जनभावना त के कार्यकर्ताको मन बुझ्न पनि तयार देखिँदैन । कार्यकर्तासँग छलफल गर्न हैन उनीहरूलाई धम्क्याएर आदेश दिन सजिलो मान्ने सभापति भएको पार्टीले एक्काइसौं शताब्दीका जनतासँग संवाद गर्न सक्तैन ।

चुनावपूर्व नै सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व छाड्ने हो भने सायद उपनिर्वाचनमा नेपाली कांग्रेसले चमत्कार गर्न सक्छ । नेपाली कांग्रेसको इतिहासमा गर्व गर्न सक्ने ठाउँ छ । आशालाग्दा नेताहरू पनि छन् । सिद्धान्तमा खोट लगाउने ठाउँ छैन । तर, शीर्ष नेताहरूलाई हेर्नेबित्तिकै जनतामात्र हैैन कांग्रेसकै कार्यकर्ताको मन भरंग हुन्छ । 

द न्यु योर्क टाइम्सको अनलाइन संस्करणमा प्रकाशित एउटा समाचारको प्रसंगबाट बिट मारौँ । अमेरिकी प्रतिनिधि सभा ‘हाउस अफ रेप्रेजेन्टेटिव’की सभामुख नान्सी पेलोसीले स्तम्भकारहरूसँगको भेटघाटमा अब्राहम लिंकनको एउटा उक्ति सुनाइन् रे — ‘‘जनभावना सबैथोक हो । यो भएन भने केही हासिल हुँदैन र भयो भने हासिल हुन नसक्ने पनि केही हुँदैन ।’’

नेपाली कांग्रेसको नेतृत्वले अहिले यही जनभावना बुझ्न नसकेकाले ‘अमर प्रेम’को गीतका पंक्तिहरू यसको नियति बनेको हो । साँच्चै नै माझीले नै डुबाउन खोजेको डुंगा कसैले पार लगाउन सक्ला त ?  
@agovinda
 

गोविन्द अधिकारी

प्रतिकृया दिनुहोस
ad