site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
उपसभामुखले शर्त अस्वीकार गरेपछि महराले दिए दोस्रो राजीनामा

काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामाको भाषामा असहमति प्रकट गरेपछि निवर्तमान सभामुख कृष्णबहादुर महराले दोस्रो पत्र बुझाएका छन् ।

मङ्गलबार महराले ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि छानबीन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु,’को पत्र लेखी प्रमुख स्वकीय सचिव सागर केसीमार्फत उपसभामुख तुम्बाहाम्फेलाई पत्र बुझाएका थिए ।

Argakhachi Cement Island Ad

पत्र पाउनेबित्तिकै उपसभामुख तुम्बाहाम्फेले ‘यस्तो पनि राजीनामा पत्र हुन्छ’ भन्दै भाषा अस्वीकार गरेको स्रोत बताउँछ । भाषा त्रूटिपूर्ण र सर्तसहितको राजीनामा आएकाले उपसभामुख तुम्बाहाम्फेले संसद् सचिवालयलाई सूचना टाँस गर्न निर्देशन दिएकी थिइनन् ।

बुधबार भाषा सच्चिएर आएरपछि सूचना टाँस गरिएको स्रोत बताउँछ । बुधबार बुझाइएको दोस्रो राजीनामा पत्रमा ‘हिजोदेखि विभिन्न सञ्चारमाध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाइ लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनि नैतिकताका आधारमा आजकै मितिदेखि राजीनामा दिएको छु’ भन्ने बेहोराको पत्र आएको उपसभामुख तुम्बाहाम्फेको सचिवालयले जनाएको छ ।

संसद् सचिवालयले टाँस गरेको सूचनामा पनि राजीनामाको सोही भाषा उल्लेख छ ।

“ उपसभामुखले पत्र आउनेबित्तिकै भाषाप्रति असन्तुष्टि जनाउनुभएको थियो । राजीनामाप्रति बाहिर टीकाटिप्पणी पनि भयो । त्यसैले सच्चाएर राजीनामा पत्र बुझाउनुभयो,” सचिवालय स्रोत भन्छ ।

प्रकाशित मिति: बुधबार, असोज १५, २०७६  १९:४५
प्रतिक्रिया दिनुहोस्