site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
अक्षरका अब्बल कुस्तीबाज  
Sarbottam CementSarbottam Cement

नरेश फुयाँल


बुवा (टीकाप्रसाद वस्ती) संस्कृतका विद्वान् थिए । धरान पिण्डेश्वर क्पाम्पसमा पढाउँथे । शरच्चन्द्र पनि संस्कृत पढ्न थालेका थिए । हजुरआमा विरामी भइन् । ११ वर्षको उमेरमा हजुरआमाको अभिभावकत्व ग्रहण गर्दै शरच्चन्द्रले उपचार गराउन बनारस लगे । हजुरआमालाई उपचार गराउँदै शरच्चन्द्र उतै पढ्न थाले । कहिले उतै बसेर पढ्ने, कहिले फारामभरेर पठाउँथे र परीक्षामात्रै दिन जान्थे । बनारसबाटै उत्तरमध्यमासम्म घरमै पढेर परीक्षा दिएका उनले त्यसपछिको अध्ययन भने उतै बसेर, पढेर दिए ।  

“पढ्ने, राम्रो ज्ञान प्राप्त गर्ने केही न केही भइहाल्छ भन्ने थियो । भोलि यही बन्छुभन्ने थिएन । अहिले आज यस्तो पढेर भोलि यो बन्छु भन्ने हुन्छ । त्यसको उद्देश्य पैसा कमाउने भन्ने नै हो । यसअर्थमा आजको पढाइ व्यापारिक भयोजस्तो लाग्छ,” शरच्चन्द्र भन्छन्, “पढ्नु भनेको ज्ञान प्राप्त गर्नु, जान्नु हो । त्यसपछि जिविकोपार्जनको बाटो आफैं खुल्छ भन्ने हुन्थ्यो त्यो बेला, भोलि गएर यो बन्छु भन्ने ममात्रै होइन त्यो बेला कसैको पनि हुँदैनथ्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

०३५ सालमा शरच्चन्द्रले बनासरसबाट संस्कृतमा स्नातकोत्तर (आचार्य) पास गरे । त्यो समय नेपालमा स्नातकोत्तर प्रथम वर्षको परीक्षा दिएपछि राष्ट्रिय विकास सेवा (राविसे) कार्यक्रमअन्तर्गत १० महिना गाउँमा गएर पढाएपछि मात्रै दोस्रो वर्ष पढ्न पाइन्थ्यो । नेपालमा पढेकाले उक्त १० महिना माध्यमिक तहमा मात्रै पढाउन पाउँथे भने बाहिरबाट स्नातकोत्तर पूरा गरेर आएकाले क्याम्पसमा पढाउन पाउँथे । 

राविसे कार्यक्रमअन्तर्गत उनले दाङको संस्कृत महाविद्यालय गएर पढाए । उनले पढाएको संस्कृतका गुरूहरुले सुनेछन् । संस्कृतका श्लोकहरु व्याख्या गरेर पढाएको उनीहरुलाई मन परेछ, बोलाएर सोधे, तपाईं त बडो राम्रो पढाउनुहुँदोरहेछ । पहिला पनि पढाउनु हुन्थ्यो ?

Global Ime bank

शरच्चन्द्रले पढाएको त्यहाँ पहिलो पटक थियो । गुरूहरुले भनेको उनलाई अहिले पनि याद छ, “हामीलाई तपाईंले अहिले पढाएको जत्तिको पढाउन छ–सात वर्ष लागेको थियो ।”

डिन थिए अम्बिकाप्रसाद अधिकारी । उनले बोलाएर शरच्चन्द्रलाई भने, “तपाईं राम्रो पढाउनुहुँदोरहेछ । व्याकरणमा राम्रो पढाउन सक्ने मानिस थोरै हुन्छन् । मैले त्यहाँका क्याम्पस प्रमुख तोयानाथ पाण्डेलाई फोन गर्दिसकेको छु । तुरुन्त गएर पढाउने, अब दायाँबायाँ गर्ने होइन ।”

तोयानाथ अम्बिकाप्रसादका मित थिए । 

शरच्चन्द्र काठमाडौं आए । वाल्मिकि क्याम्पस पुगे । तोयानाथले भने, “ओहो तपाईं आइपुग्नुभयो ? ल पढाउन सुरु गरिहाल्नुस् । आजैदेखि पढाउने कि भोलिबाट ?” 

संस्कृत पढे पनि शरच्चन्द्र पुरानो ढर्राका थिएनन् । सफासुग्घर बस्नुपर्ने । चिटिक्क परेका लुगा लगाएर हिँड्नुपर्ने । सोचाइ पनि अलि फरक थियो ।उनले क्याम्पस प्रमुखलाई भने, “गुरू म एक साताजति विचार गर्छु अनि मात्रै सुरु गर्छु नि ।’’

तिहारपछिको समय थियो । न्यानो घामको प्रतीक्षा सुरु भइसकेको थियो । वाल्मिकि क्याम्पसको छतमा बसेर गुरूहरु गफ गर्थे । तीनचार दिन शरच्चन्द्र क्याम्पस आएर उनीहरुसँगै बसे । कुरा सुने । गुरूहरुको बसाइ, उनीहरुका गफका विषय, शैली र चालढाल देखे । त्यसमा रमाउन सकेनन् । उनलाई लाग्यो म यहीँ बसेँ भने १०/२० वर्षपछि पनि यस्तै हुन्छु । उनलाई त्यस्तो हुन मन थिएन । 

तीन दिनका दिन उनले तोयानाथसँग भने, “म त नपढाउँ कि जस्तो लाग्यो ।” 

बोलाईबोलाई जागिर दिँदा पनि नगरेको देखेर उनी छक्क परे । 

० ० ०

आचार्य गरिसकेका, तर काम नगरी बसेका थिए । पूर्वाञ्चलमा विद्वान् कहलिएका छविलाल पोखरेल काठमाडौं आउँदा शरच्चन्द्रसँग भेट भयो । उनले भने– यसरी खाली बस्नुहुन्न । मेरो छोरो (गोकुल पोखरेल) गोरखापत्रमा सम्पादक छ । त्यहाँ गएर भेट । म भन्दिन्छु । 

संस्कृत पढेका त्यो पनि बनारसमा । सधैं प्रथम श्रेणीमा उत्तीर्ण । त्यसमा पनि युनिभर्सिटी टप गरेका शरच्चन्द्रदेखि छविलाल प्रभावित थिए । 

सामान्यतः बनारमा युनिभर्सिटी टप गरेको समाचार छापिँदैनथ्यो । तर शरदचन्द्रको पालामा छापियो । कारण थियो, १५ वर्षको कीर्तिमान तोडेका थिए । १५ वर्षको इतिहास भङ्ग गर्दा उनले ७५ प्रतिशत ल्याएका थिए । प्रथम श्रेणी आउनु नै दुर्लभ हुन्थ्यो । युनिभर्सिटी टप गर्नेले ६५/६६ प्रतिशत अङ्कमात्रै प्राप्त गर्थे । 

नेपालीमा १०० मा ९६ अङ्क प्राप्त गरेका थिए । शरच्चद्रले नेपालीमा लेखेका दुइटा प्रश्नको उत्तर कापी जाँच्ने व्यक्तिले आफ्नो नोटबुकमा सारेर राख्नुभयो होला भन्ने अनुमान गरेका छन् । 

किन ?

पढाइ नहुने र प्रकाशित नभएका कुरा उनले थाहा पाएका थिए । संयोगबस त्यही कुरा परीक्षामा आयो । त्यही लेखे उनले । 

के थियो ?

लेखनाथ पौड्यालका अप्रकाशित केही कविता शरच्चन्द्रसँग थिए । तिनीहरुलाई उदाहरणमा राखेर यी कविता प्रकाशित भएका छैनन् भनेर व्याख्या गरेका थिए । उनी भन्छन्, “त्यो जसले जाँच्यो त्यसका लागि पनि सम्पत्ति हो । मलाई लाग्छ, जिज्ञासु व्यक्तिले त्यो आफ्नो नोटमा नटिपी बस्नै सक्तैन ।”

लेखनाथ पौड्यालसँग शरच्चन्द्रका बुवा टीकाको राम्रै चिनजान थियो । टीका पूर्वाञ्चलबाट काठमाडौं आउँदा लेखनाथसँग भेटघाट हुन्थ्यो । गफगाफमा लेखनाथले भनेको टीकाप्रसादले टिपेका थिए । टीकाप्रसादमार्फत् शरच्चन्द्रले उक्त कुरा थाहा पाएका थिए । 

छविलालले भनेपछि शरच्चन्द्र गोरखापत्र पुगे । सम्पादक गोकुल पोखरेलले भने– तत्कालका लागि प्रुफ रिडिङको काममात्रै छ । शरच्चन्द्रलाई प्रुफमा रुचि थिएन । एकदुई दिनमा आउँछु भनेर फर्किए । तर गोरखापत्र फर्किएनन् । 
छविलाले केही दिनपछि शरच्चन्द्रलाई सोधे– तिमीले काम सुरु गर्‍यौ ?

किन नगरेको ?

शरच्चन्द्रले भएको कुरा बताइदिए । 

छविलाले भने– ए त्यसले त्यसो भनेछ । अरुमा खाली थिएन होला । अहिलेलाई जे छ, त्यसमै गर्दै गर । तिमीजत्तिको मान्छे भएपछि उनीहरुले मूल्याङ्कन गरिहाल्छन् । जस्तो काम गरे पनि सानो भइँदैन त ।

पछिल्लो वाक्यले उनलाई छोयो । लाग्यो, हो काम कुनै ठूलो–सानो हुँदैन । 

भोलिपल्टै उनी गोरखापत्र पुगे । प्रुफ रिडरका रुपमा काम सुरु गरे ।

गोरखापत्रमा दिउँसोको काम थियो । विहानबेलुकाको समय खाली नै थियो । उनी पुगे पद्मकन्या क्याम्पस । अन्तरवार्ता लिन बसेका डा. हरदेवमिश्रले भने– तिमीमा पढाउने कुरामात्रै होइन त्यसबाहेक गुदी पनि केही छ भन्ने हामीलाई लागेको छ । त्यसैले तिमीले नै आएर पढाउनुपर्छ । अन्तरवार्तामै तारिफ भएपछि नपढाउने कुनै भएन । पढाउन सुरु गरे । अहिले पनि पढाइरहेका शरच्चन्द्र पद्मकन्या क्याम्पसको संस्कृत र पत्रकारिता विभाग प्रमुख छन् । 

जटिल शब्द र वाक्यका उस्ताद
संस्कृत पढेका उनले पत्रकारिता सुरु गरे । पत्रकारिताको बाह्रखरी गोकुल पोखरेलले सिकाए । “मैले पत्रकारिता पढेको भनेको जम्मा एक दिन हो, त्यो पनि दुईतीन घण्टा । गोकुल दाइले मलाई राखेर फाइभ डब्ल्यू वान एच, एबीसी भनेको यो हो, सञ्चार माध्यमको मुख्य काम यी हुन् भनेर केही कुरा भन्नुभयो,” शरच्चन्द्र पत्रकारिताको कखरा सिकेको प्रसङ्ग सुनाउँछन्, “एक ताउ फुलिस्केपमा टिपेको थिएँ । मेरो पत्रकारिताको प्रशिक्षण, स्कुल, ट्रेनिङ जे भने पनि त्यति नै हो । त्यो बेला पत्रकारिताको किताब हुँदैनथे । रत्नराज्यमा भर्खर पढाइ सुरु भएको थियो । तर म पढ्न गइनँ । बाहिर जानेलाई दुइटा किताब ल्याइदिन भनेँ । त्यही पढेँ ।”

संस्कृत पढेका उनी समास भएका लामालामा शब्द लेख्थे । जटिल शब्द देख्ने उस्तादजस्ता भइसकेका थिए । सामान्य ज्ञान भएकालाई बुझ्नै गाह्रो बाक्य नलेखी चित्तै बुझ्दैनथ्यो उनलाई । 

‘आमसञ्चार माध्यम’ अर्थात् सबैका लागि सञ्चार । काम गर्दैगएपछि शरच्चन्द्र आफूलाई आत्मबोध भयो, यो त सबैले पढ्छन् । मैले लेखेको त धेरैले बुझ्दैनन् । मैले पनि त सबैले बुझ्ने गरी सरल र सरस शब्द र वाक्य लेख्नुपर्‍यो । लेखाइ र बोलीचालीको भाषालाई आममान्छेले बुझ्ने गरी प्रयोग गर्न थाले । 

“वास्तवमा मलाई गोकुल दाइले दुईतीन घण्टामा जेजति पढाउनुभयो, पत्रकारिता भनेको त्यति नै रहेछ । बाँकी त काम गर्दै जाँदा सिक्दै जाने कुरा त रहेछ,” उनी भन्छन्, “अहिले म विद्यार्थीलाई पत्रकारिता पढाउँदा भन्छु, सञ्चार भन्ने कुरा राम्रोसँग बुझ्यौ भने पत्रकारिता भनेको त्यही हो, बाँकी त त्यसको व्याख्यामात्रै हो ।” 

प्रुफ रिडरकारुपमा गोरखापत्र प्रवेश गरेका शरच्चन्द्र डेढ वर्षमा उप–सम्पादक भए । उनीसँगै सौरभ (दिनेश सत्याल), केशव भट्टराई लगायत पाँच जना एकैपटक उपसम्पादकमा गोरखापत्र प्रवेश गरेका थिए । 

गोरखापत्रमा रिपोर्टिङ गरे । त्योभन्दा धेरै फिचर लेखे । संस्कृतमा आचार्य । भाषामा दख्खल । गोरखापत्रले उनलाई धेरै सम्पादनकै जिम्मेवारी दियो । पञ्चायतकाल थियो । भाषामा ख्याल गर्नुपथ्र्यो । ‘बोल्ड डिसिजन’ तत्काल लिनुपर्‍यो, त्यही भएर उनले लामो समय गोरखापत्रमा ‘नाइट डेस्क’को जिम्मेवारी पाए । 

शनिवारीय परिशिष्टाङ्कको जिम्मेवारी पाए । लेख तथा फिचर लेख्थे । लेख्दा कलम डग्मगाउँदैनथ्यो । कसैलाई रिझाउने र रिसाउलान् भन्ने लेख्न बस्दा सोच्दैनथे । त्यही नै उनको विशेषता थियो । नडग्मगाउने बलियो कलम धेरैले मन पराए । “एकपटक नेपालगन्ज पुग्दा मलाई एकजनाले भन्नुभयो, शरच्चन्द्र भनेको तपाईं पो हो ? म त तपाईं हामीजस्तै पाको उमेरको हुनुहुन्छ होला भन्ने सोच्थेँ भर्खरको पो हुनुहुँदोरहेछ । तपाईंको लेखन मलाई मनपर्छ । तपाईंले गोरखापत्रमा लेखेको सबै कटिङ राखेको छु ।” 

पञ्चायतकालमा शीर झुकाए पुग्ने ठाउँमा लम्पसार नै पर्ने हाकिम हुन्थे । उनीहरु उपल्लो तहकालाई रिझाउन आफूमुनिका कर्मचारीहरुलाई सत्ताको त्रास देखाएर सरकारअनुकूल काम लगाउन खोज्थे । त्यस्तो आदेशको सधैं खिलाफमा हुन्थे, शरच्चन्द्र । त्यस्तो आदेश शीरोपर गर्नुभन्दा संस्था नै छोड्दिन्छु भन्ने उनको विचार थियो । भन्छन्, “मैले भोलि पनि म यो संस्थामा काम गरिरहेको हुन्छु भन्ने सोचेर एकै दिन पनि  काम गरिनँ । भोलिका लागि जागिर बचाउन काम गरिनँ ।”

भयो पनि त्यस्तै, ०४१ मा आफैंले काम गरिरहेको गोरखापत्रमा शरच्चन्द्र वस्तीलाई निकालिएको भन्ने सार्वजनिक सूचना जारी गरेर जागिरबाट वर्खास्त गर्‍यो । रामचन्द्र न्यौपाने सम्पादक थिए । नगेन्द्र शर्मा अध्यक्ष थिए । 

० ० ०  

०४१ मा भारतदत्त कोइराला, गोकुल पोखरेललगायतले नेपाल प्रेस इन्स्टिच्युटको स्थापना गरे । पहिलो ‘ब्याच’देखि नै शरच्चन्द्रले नेपाल त्यहाँ तालिम दिन थाले । 

गोरखापत्रको बिक्रीमा वृद्धि

०४५ सालमा त्यही गोरखापत्रमा बालमुकुन्ददेव पाण्डे सम्पादक भएर आए । उनले शरच्चन्द्रलाई पुनर्वहाली गरे । “बालमुकुन्ददेवसँग मेरो चिनजान थिएन । उहाँले मैले लेखेको पढ्नुभएको रहेछ । त्यसैले लेख्ने मान्छे चाहिन्छ भनेर मलाई पुनर्वहाली गर्नुभयो ।” 

बालमुकुन्ददेवले परिशिष्टाङ्क र विचार पृष्ठको जिम्मा शरच्चन्द्रलाई दिए । परिशिष्टाङ्क र विचार पृष्ठ राम्रो हुँदै गयो । गोरखापत्र खोजीखोजी पढिने पत्रिका बन्यो । बिक्री बढ्यो । 

‘मिटिङ’मा बालमुकुन्ददेव भन्थे, “यिनीहरु देखेर मलाई इष्र्या लाग्छ । गोरखापत्रको इज्जत बढिरहेको छ । यसको कारण फ्रन्ट पेज र समाचार होइन । समाचार रेडियो र टेलिभिजनमा बिहानै आउँछ । विचार पृष्ठ र परिशिष्टाङ्कका कारण हो । यो मैले भनेको होइन, मलाई सबैले भनेका हुन् ।”

सोमबार शरच्चन्द्रको ‘अर्को अर्थ नलागेमा’ भन्ने स्तम्भ छापिन्थ्यो । बिहीबार सौरभको स्तम्भ प्रकाशित हुन्थ्यो । ती दुई दिन गोरखापत्रको ‘सर्कुलेसन’ अन्य दिनको तुलनामा बढी हुन्थ्यो । 

“२३ हजारको सर्कुलेसन बढेर ४२ हजारसम्म पुग्यो भन्ने मलाई भन्थे । धेरै पुर्‍याइएछ भनेर म दङ्ग परेको थिएँ । तर मैले गोरखापत्र छोडेको धेरैपछि मभन्दा अग्रज पुरु रिसालले मलाई भन्नुभयो, हैन भाइ त्यो त तिमीलाई ढाँटिएको हो । परिशिष्टाङ्क र तिमीहरुको कोलम छापिएको दिन गोरखापत्रको बिक्री ५२ हजार र सामान्य दिन ४८ हजार पुगेको थियो । तिमीहरुलाई भन्दा धेरै हौसिएर अरु धेरै कुरा होला भनेर सही कुरा नभनिएको हो ।” 

नभन्नुको कारण थियो, गोरखापत्रले मुख्य लेखको २५० र अरु लेखको १५० रुपैयाँ दिन्थ्यो । श्रीश शमशेर राणा अध्यक्ष थिए उनालाई शरच्चन्द्रले भनेका थिए, “तपाईं अर्थशास्त्र पढेको मान्छे, गोरखापत्रको बिक्री यत्रो बढेको छ । यो बिक्रीको कारण विचार पृष्ठ र परिशिष्टाङ्कका कारण भन्नेमा तपाईंलाई थाहै छ । यो विचार पृष्ठ विचार दिने मान्छेहरुका कारण बनेको हो । आम्दानी बढेपछि बिक्रीको केही सेयर लेख्नेलाई दिनुपर्दैन ?” 

राणाः कति बढाउने ?

शरच्चन्द्रः मुख्य लेखको १५ सय । 

राणाः त्यत्रो त दिन सकिँदैन ।

शरच्चन्द्रः नसक्नुको कारण के छ ? विज्ञापन बढेको छ । बिक्री बढेको छ । लेख्नेलाई दिँदा के बिग्रिन्छ ?

आफूले मागेर छापिएको प्रमुख लेखलाई १५ सय दिने । सामान्य रुपमा आएका लेखलाई एक हजार रुपैयाँ दिनेमा राणा सहमत भए । 

“०४५ सालमा २५० रुपैयाँबाट १५ सय रुपैयाँ दिन थाल्नु र त्यो बेलाको क्रयशक्ति मूल्याङ्कन गर्दा त्यो ठूलो रकम थियो,” सन्तुष्टिको लामो सास फेर्दै भन्छन् उनी । 

नडग्ने स्वभाव
आफ्नो बारेमा आफैंले भन्नुपर्ने । शरच्चन्द्र अप्ठ्यारो मान्छन् । खरो स्वभाव उनको लेखनमा स्पष्ट देखिन्थ्यो । कलम लिएर बसेपछि कसका बारेमा लेख्दैछु, उसको पद के हो, लेखिसकेपछि त्यसको प्रतिक्रिया र प्रतिवाद कस्तो हुन्छ ? उनी मतलब गर्दैनथे । जे लेख्नु पर्ने हो लेख्थे । सम्पादनको टेबलमा बसेपछि के कति हटाउनु र थप्नुपर्ने हो थप्थे ।

केशरजङ्ग रायमाझी त्यो बेला जल्दोबल्दो राजनीतिज्ञ थिए । १३ पृष्ठको लेख लेखेर पठाए । 

कसरी अटाउने ? गोरखापत्रका हाकिम थरर भए । जसरी भए पनि छाप्नुपर्छ भने । 

शरच्चन्द्रले भने, “आजसम्म कसैको पनि फुल पेज छापेको छैन । उहाँको चाहिँ किन छाप्ने ? म छाप्दिनँ ।” काटेर उनले साढे तीन पेज बनाएर छापे । 

“तर उहाँले झगडा गर्नुभएन । आउनुपर्ने कुरा सबै आएछ  भन्नुभएछ । सम्पादक सन्तुष्ट हुनुभयो,” शरच्चन्द्रले सम्पादनको कथा सुनाए । 

जनआन्दोलन भयो । प्रजातन्त्रको पुनःस्थापना भयो । नयाँ सरकार आयो । नयाँ सरकारका धेरैलाई शरच्चन्द्रले चिनेका थिए । बनारस राजनीतिक क्रियाकलापको केन्द्र थियो । त्यहाँको राम्रो विद्यार्थीका नाताले बीपी कोइरालादेखि पुष्पलालसम्म उनको चिनजान थियो । आफ्नो उमेर समूहका अधिकांश नेतासँग राम्रै थियो ।   

राजनीतिमा आइपुगेका आफ्नै चिनजानका साथीहरुले यस्तो र उस्तो हुनुपर्छ भन्न थाले । पञ्चायतमा पनि हस्तक्षेप, प्रजातन्त्रमा पनि हस्तक्षेप ? “म यहाँ बसिरहेँ भने साथीहरुले भनेको कुरा हुँदैन भनेर भन्न सक्तिनँ, तर त्यस्तोचाहिँ हुनुहुँदैन,” शरच्चन्द्र भन्छन्, “मूल्यमा बसिरहन गाह्रो हुन्छ भन्ने लागेपछि मैले ०४७ पुसमा राजिनामा दिएँ । साथीहरु छक्क परे ।” सह–सम्पादक उनी गोरखापत्रमा बसिरहेका भए सम्पादक हुन धेरै वर्ष लाग्दैनथ्यो । 

त्यो लेख 
०४६ सालमा जनआन्दोन भयो । दलहरु खुल्ला राजनीतिमा आए । त्यो समय राजनीतिक दलहरुले पनि भ्रष्टाचार गर्छन् भन्ने आमजनताले कल्पना पनि गरेका थिएनन् । नेताहरु देवदूत हुन् भन्ने थियो जनतामा ।

०४७ साल असारमा शरच्चन्द्रले लेख लेखे, राजनीतिक दलले गर्ने भ्रष्टाचारलाई चाहिँ के गर्ने ?

उनले त्यो लेखमा लेखेका थिए– दलहरु स्वच्छ हुने हो, दलहरुले पारदर्शी हुने हो, वार्षिक रुपमा आयव्यय अडिट गराएर सार्वजनिक गर्नुपर्छ । 

छापिएकै दिन साढे १० बजे काङ्ग्रेस नेता रामचन्द्र पौडेल शरच्चन्द्रको टेबुलमा आइपुगे । भने, “तपाईंले लेखेको पढेँ, गज्जब राम्रो लाग्यो । यो कुरो पार्टीमा राखेर पार्टीबाट पास गराउँछु ।”

शरच्चन्द्रको लेखले पार्टीमा प्रवेश पाएछ । साउनमा अन्नपूर्ण होटलमा भएको एक गोष्ठीमा नेता शेरबहादुर देउवाले भने, “यो पार्टीको हिसावकिताब गर्ने भन्ने कुरो आको छ । त्यस्तो पनि हुन्छ ? पार्टीको पनि कहीँ अडिट हुन्छ ? कहाँबाट चन्दा लिइन्छ, कसले सहयोग गर्छ । त्यस्तो पनि हुन्छ । यो सब बेकारको कुरा हो ।”

पार्टीको हिसाबकिताब अडिट गराउनुपर्छ भन्दा उत्साहित भएर पार्टीबाट पास गराउँछु भन्ने रामचन्द्र १७ पटक प्रधानमन्त्रीको उमेदवार हुँदा पनि निर्वाचित हुन सकेनन् । तर पार्टीको हिसाब सार्वजनिक गर्ने कुरालाई बेकार भन्ने शेरबहादुर पटकपटक प्रधानमन्त्रीको कुर्सीमा पुगे । 

कुस्तीबाज शरच्चन्द्र 
समाचार लेख्दा धम्की दबाब आउँछ भनेको सुन्थे श शरच्चन्द्र, तर उनलाई खासै त्यस्तो लाग्दैनथ्यो । नडराउने भएर पनि होला धम्कीको महसुस उनले खासै गरेनन् । तर नआएका भने हैनन् । 

बनारसमा बसेर पढ्दा उनको ज्यान पातलो थियो । ५१/५२ किलोभन्दा वजन कहिल्यै माथि गएन । बलियाबाङ्गा भारतीयहरु त्यसमा पनि बाक्लो दारी भएका मानिसले एक थप्पड हाने पनि ढल्छु कि जस्तो लाग्थ्यो । बोली सुन्दा पनि हेपेर बोलेजस्तो महसुस गर्ने शरच्चन्द्रलाई आफू निकै दुर्बलजस्तो लाग्थ्यो । 

सायद कसैले शरच्चन्द्रको मनोभाव बुझेर उनलाई कुस्तीको अखडामा लगिदियो । कुस्तीबाजहरुको सहर हो बनारस । तर उनी त्यस्तो कुस्तीबाजको अखडामा पुगेछन्, जहाँका कुस्तीबाज भनेपछि अन्य कुस्तीबाजहरु डराउँथे । “परम्परागत कुस्तीबाजहरुले खेल्न नसक्ने फ्रिस्टाइल कुस्ती थियो त्यो । दुवै खुट्टाले उफ्रिएर छातीमा हान्ने । दुई खुट्टाले टाउको बेरेर लडाउने कुस्ती थियो त्यो,” उनी भन्छन्, “छेदिलाल भन्ने गुरू थिए, उनी मलाई भन्थे– युनिभर्सिटीमा टप गरेर के भयो त, यहाँ काम गरेर देखा न । नभन्दै त्यहाँ रहने चारवटा ए ग्रेडको ग्रुपमा म पनि परेँ ।”

शरच्चन्द्रले भारतका आधा दर्जन सहरमा टिकट सो गरे । ती टिकट सोको अन्तिममा गुरुले च्यालेन्ज दिन्थे, सबैलाई च्यालेन्ज छ– यो ‘लाइट वेट ग्रुप’का कोहीसँग कुस्ती लड्ने ? तर मान्छे डराउँथे । कोही पनि ‘च्यालेन्ज’ सामना गरेर आउँदैनथे । 
छेदिलाल शरच्चन्द्रलाई भन्थे, “किन पढ्छस्, पर्दैन । मसँग तीन वर्ष बस् । काठमाडौंमा ठूलो कुस्ती प्रदर्शनी गर्दिन्छु । त्यसबाट उठेको पैसाले कुस्तीको अखडा खोल्दिन्छु । त्यसले जिन्दगीभर तेरो दाल–भात चल्छ ।’’

सायद यसैले पनि होला उनलाई धम्कीले प्रभाव पारेन । आफ्ना प्रकाशक र असिस्टेन्टलाई धम्की र प्रलोभन दिएको उनी थाहा पाउँथे । तर शरच्चन्द्रलाई भने प्रलोभन आएन । आएका एकाध  धम्कीका घटनालाई उनले वास्तै गरेनन् । “मेरा प्रकाशक र असिस्टेन्टलाई दिएको धम्की र प्रलोभनले मैले काम गरेको पत्रिकालाई प्रभाव पार्दैनथ्यो,” शरच्चन्द्र हाँस्दै भन्छन्, “ म उनीहरुलाई भन्थेँ  मलाई  सम्पादक मान्ने हो भने मेरो हिसाबले काम गर्न दिनुपर्छ ।” 

ती धम्की 

२०४८  सालमा गोरखापत्र छोडेर शरच्चन्द्र ‘पुनर्जागरण’को सम्पादक भए। कृष्णप्रसाद भट्टराई चुनाव हारेर बसेका थिए । उप–निर्वाचन हुने भयो । कृष्णप्रसादले पुनः उम्मेदवारी दिए । गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए ।

गिरिजाप्रसादले आफ्नै पार्टी सभापति कृष्णप्रसादलाई जिताउनु हुँदैन भनेर भाषण गरे ।

त्यही सन्दर्भलाई लिएर पुनर्जागरणले गिरिजाप्रसादले अन्तर्घात गर्दैछन्/गरे भनेर लेख्यो । “अन्तर्घात भन्ने शब्द प्रयोग गरेर त्यसलाई पपुलर बनाएको पुनर्जागरणले नै हो,” शरच्चन्द्र सम्झिछन् ।

साप्ताहिक पत्रिका भए पनि चुनावका बेला दैनिक प्रकाशन भइरहेको थियो । धुम्बाराहीस्थित शरच्चन्द्रको घरमा राति आक्रमण हुन थाल्यो । 

एक लासको भुईंतले घर, वरिपरि झाडी थियो । बाटो कच्ची थियो । आबादी बाक्लो नभएकाले डर नै थियो । घरको पछिल्तिर झ्यालढोका डङ्डङ् हान्थ्यो । कसले ? हेर्न जाँदा कोही देखिँदैनथ्यो । “हुँदाहुँदा म आफैं बसेका दिन पनि भान्सा कोठाको पछाडि डङ्डङ् हुन थाल्यो, हेर्न जाँदा केही हुँदैन थियो,” उनी भन्छन् ।

शरच्चन्द्रकोमा सानो केटा बस्थ्यो । उनी पढाइदिन्थे । उसलाई दिउँसो स्कुल जान लागेका बेला टेम्पोबाटै निकालेर कुटेर थापा गाउँको झाडीमा फाल्दिए । 

शरच्चन्द्रका आफन्त पर्ने कानुन अधिकृत थिए । धोबीधारामा साँझ रमझममा बस्दा सबइन्सपेक्टरले रक्सीको सुरमा भनेछन्, “विशालनगरतिर बस्ने एउटा पत्रकार रहेछ । त्यसलाई ठीकठाक पार्नुपर्ने भएछ । त्यसलाई हामी ठीक पार्न लागेका छौं । रक्सी लाग्दै गएपछि नाम पनि भनेछ ।”

अर्कोपल्ट पनि शरच्चन्द्रकोमा बस्ने त्यही विद्यार्थीलाई कुटेर अझै टाढा लगेर फाल्दिए । घरमा डाङ्डुङ् झन् बढ्दै थियो । तर उनले कतै भनेनन् ।

किन ?

धम्की र चुनौती पत्रकारिताको अङ्ग हो । यसलाई स्वीकार गर्छु भनेरै पत्रकार हुने हो भन्ने लाग्थ्यो उनलाई । एकाध साथीहरु जसलाई यो घटना थाहा थियो, उनीहरु यो ठूलो समाचार हो, यसलाई छाप्नुपर्छ भन्थे । शरच्चन्द्र मान्दैनथे । परिणामः केही पत्रकार रिसाए पनि । 

‘‘सरोज मिश्र नामका मेरा एकजना साथी थिए । बीपीको माइलो छोरो श्रीहर्ष कोइरालासँग उनको राम्रो सम्बन्ध थियो । उनले भनेछन् कस्तो सरकार यो ? यस्तो पनि काम गर्न लगाउने ? श्रीहर्षले भनेछन्, हो र ? यस्तो कुरा हो भने म काका (गिरिजाप्रसाद कोइराला) लाई आफैं सोध्छु नि त,” २६ वर्षसम्म कसैलाई नसुनाएको कुरा उनी खोल्छन्, “काकासँग भन्दा पनि पहिला गृहसचिव छ, उसले मलाई दाइ भन्छ । सबै कुरा भन्छु । यो कुरा साँचो हो भन्ने अलिकति मात्रै सुईंको पाएँ भने पनि म काकासँग कुरा गर्छु ।”

पर्सिपल्ट भेट हुँदा त श्रीहर्षले भने, “केही सुईंको पाइयो भने काकालाई भनौंला भनेको त उसलाई त सबै पो थाहा रछ । सबै भन्यो मलाई ।” 

गृह सचिव थिए, भोजराज पोखरेल । भोजराजले भनेछन्, “वस्तीजीलाई नरिसाउनु भन्दिनू हामी पनि प्रशासनमा छौं, केही गर्न सक्तैनौं । उहाँलाई शारीरिक रुपमा नोक्सान हुनेगरीकेही नगर्नू भनेका छौं । तर्साउनेमात्रै हो । एक महिना हो । अब अलिकति समय हो, सकिइहाल्छ ।”

श्रीहर्ष भोलिपल्ट काका (प्रधानमन्त्री गिरिजाप्रसाद)कोमा गएर भनेछन्, “यस्तो के गर्नुभएको ? यो ठीक भएन । मलाई त राम्रो लागेन । यस्तो कामले राम्रो गर्दैन ।”

त्यति भनेर प्रधानमन्त्री कार्यालयबाट बाहिरिँदै गर्दा श्रीहर्षलाई जयप्रकाश आनन्दले भनेछन्, “दाइ तपाईंले यस्तो कुरामा के हात हाल्नुभएको । छोड्दिनुस्, हामी हेन्डल गर्छौं ।” 

त्यसभन्दा पहिला नै शरच्चन्द्रलाई उनकै कार्यालयमा आएर एकजनाले भनेका थिए, “तपाईंले त अन्तर्घात भनेर लेख्नुभएछ । के लेख्नु भको ?”

तर शरच्चन्द्र डराएनन् । भने, “तपाईंको आपत्ति छ भने लेखेर छोड्दिनुस्, हामी खण्डन छापिदिन्छौं ।”

ती व्यक्ति जङगिए, “हैन तपाईंले यस्तो गर्नुभयो भने ठीक हुँदैन ।”

शरच्चन्द्रदाई रनक्क रिस उठ्यो, उनले भने, “त्यहाँबाट उठ्नुस् ।”

उनले मानेनन् । भने, “किन उठ्नू ?”

शरच्चन्द्रले जुरुक्क उठेर कठालो समातेर भने, “तपाईं खुरुक्क जानुस् ।”

ती व्यक्तिले भने, “यस्तो ठीक हुँदैन ।”

“तपाईंलाई दादागिरि गर्न मन रहेछ । म बिहान ७ बजेदेखि राति ११ बजेसम्म यही टेबलमा हुन्छु । तपार्ईंलाई मन लागेको समयमा मन लागेका मान्छे लिएर आउनू । आँगन खाली छ, त्यहाँ कुरा गरौंला,” शरच्चन्द्रले भने, “त्यो बेला बजार व्यवस्थापन गर्ने प्रह्लाद रिजाल हुनुहुन्थ्यो । उहाँले भन्नुभयो– दाइ त्यो त पेस्तोल बोकेर हिँड्ने मान्छे हो । ती व्यक्ति विराटनगरका डन थिए ।” 

सलमानसँग श्रुतिको तस्बिर  
०४९ सालमा पुनर्जागरणकै अर्को घटना पनि छ, शरच्चन्द्रसँग । श्रुति शाहको तस्बिर भेटे उनले । तस्बिरमा श्रुतिभारतीय अभिनेता सलमान खानसँग थिइन् । सलमानकी फ्यान रहिछन् उनी । सलमानले श्रुतिको काँधामा हात लगेजस्तो पनि देखिन्थ्यो । 

अरुका लागि भए सामान्य थियो, त्यो तस्बिर । तर राजा वीरेन्द्रकी छोरी भएकाले त्यो असामान्य थियो । पहिलो पृष्ठमा छापिएको त्यो तस्बिरमा क्याप्सन थियो– राजपरिवारका सदस्य यसो गर्न पनि थालेका छन् । यो ठीक हो या बेठीक, यसबारे सोच्नुपर्ने समय आएको छ ।

दरबार शक्तिशाली भएको समय । दरबारबारे टीकाटिप्पणी होइन, त्यतातर्फ शीर ठाडो गरेर हिँड्ने आँट पनि कसैले गर्दैनथे । छापिएकै दिन सार्क शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री बाहिर जाँदै थिए । पुनर्जागरणका प्रकाशक माथवरसिंह बस्नेत उनलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए । उनलाई गिरिजाप्रसादले भनेछन्, “तपाईंले केके छाप्नुभएको छ, अलि सतर्क हुनु है ।”  

भोलिपल्ट शरच्चन्द्र र माथवरसिंहलाई सरकारले पक्राउ गरेर हनुमानढोका पुर्‍यायो । प्रजातन्त्र आएपछि पत्रिकामा प्रकाशन गरेवापत् सरकारले पक्राउ गरेर थुनेको शरच्चन्द्र र माथवरसिंह पहिलो पत्रकार हुन् । भर्खर प्रजातन्त्र आएकाबेला सरकारले फेरि समाचार तथा समाचार सामग्रीवापत् पत्रकारलाई थुनेपछि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा हल्ला भयो । वक्तव्यबाजी भयो । फलतः एक सातामा रिहा गर्न सरकार बाध्य भयो । 

गणेशमानका प्रेस सल्लाहकार
पुनर्जागरणमा काम गरिरहेकाबेला गणेशमान सिंहले शरच्चन्द्रलाई आफ्नो प्रेस सल्लाहकार बनिदिन आग्रह गरे । एउटा शर्त राखे उनले– तपाईंको प्रेस सल्लाहकार हुन म तयार छु । तर एउटा चिठी लेखेर दिनुपर्छ । त्यसमा औपचारिक रुपमा प्रेस सल्लाहकारको जिम्मेवारी दिएको छु भन्ने लेख्नुपर्छ । र बिनापारिश्रमिक स्वयम्सेवी रुपमा काम गर्ने लेखर दिनुपर्छ ।

शरच्चन्द्रको शर्त मान्न गणेशमान तयार भए । ०५१ सालबाट प्रेस सल्लाहकार बनेका उनी गणेशमानको मृत्युसम्म पनि सोही जिम्मेवारीमा रहिरहे । राजनीतिक रुपमा प्रदुषित हुनु नपरोस् भनेर उनले आर्थिक सुविधा लिन मानेनका थिएनन् । त्यो कालखण्डमा पढाउनेबाहेक उनी कुनै पनि सञ्चारमाध्यममा संलग्न रहेनन् ।  

हिमाल खबरपत्रिका
हिमाल खबर पत्रिका निस्किने भएछ । राजेन्द्र दाहाल सम्पादक हुने भएछन् । उनले भोटेर भने, “मलाई सम्पादक बनाउने कुरा छ । सम्पादनको काम तपाईंले हेरिदिनु पर्‍यो  ।”

शरच्चन्द्रले भने, “यो झञ्झट नगरौं होला ।”

राजेन्द्रले भने, “यत्रो स्किल छ,तपाईंको यसको फाइदा त उठाउनुपर्‍यो नि ! पत्रकारले पनि फाइदा पाउनुपर्‍यो । पत्रकारिताले पनि फाइदा उठाउनुपर्‍यो ।”

सल्लाहकार सम्पादक उनको जिम्मेवारी थियो । पहिलो अङ्कबाटै हिमाल खबर पत्रिकाको कपी एडिट गर्न थाले । भाषामा अब्बल उनले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गरे । हिमाल खबर पत्रिका नेपालमा म्यागेजिनको इतिहासमा कोशेढुङ्गा नै भयो । 

संयोग हो या के हो, उनलाई पनि थाहा छैन, तर हरेक संस्था सुरु गर्दा उनी जिम्मेवार तहमा राखिन्छन् । संस्थाले बाटो समाउँछ । त्यसपछि उनलाई त्यही संस्थामा बसिरहन मन लाग्दैन । निस्किन्छन् । तर फेरि उनी त्यस्तै जिम्मेवारीमा पुग्छन् । 
हिमाल खबरपछि शरच्चन्द्र पुगे कान्तिपुर टेलिभिजन । पहिलो दिनबाटै उनले समाचार सम्पादकको भूमिकामा काम गरे । दुई वर्ष हिमाल खबरमा काम गरेका उनी त्यती नै समय  कान्तिपुर टेलिभिजनमा बसे । कामनालाई करिब चार वर्ष सघाएका शरच्चन्द्र इमेज च्यानलमा दुई वर्ष बसे । सगरमाथामा एक वर्ष काम गरेका उनी केही महिनादेखि आर्थिक अभियान दैनिकमा छन् । 

“केही समय मेहनतले काम गरेपछि सिस्टमले आफैं काम गर्न थाल्छ । हाकिम भएर काम अह्राएर बस्ने बेला भएपछि मलाई आफू निष्क्रिय भएँ र अब मेरो काम छैन भन्ने लाग्छ । र, अर्को चुनौती खोज्न मन लाग्छ,” उनी भन्छन्, “मलाई कहिले पनि भोलि के गरौं भन्ने लागेन । नयाँ ठाउँमा काम फिक्स गरेर गरिरहेको काम छोडेको छैन । गोरखापत्र र क्याम्पसमा बाहेक आजसम्म मैले निवेदन हालेर कतै पनि काम गरेको छैन र कसैसँग मलाई काम देऊ पनि भनेको छैन ।” 

अन्त्यमा, 
लामो बसाइमा शरच्चन्द्र पत्रकारिताको विगत र वर्तमानबारे  गफिन्छन् । चुनौती र अवसरका कुरा गर्छन् । धम्की र त्यसवरपरका घटना सुनाउँछन् । पत्रकारिताको लामो अनुभवको एउटा किस्सा अन्तिममा यस्तो सुनाउँछन्, “सोमबार विहान गोरखापत्रमा आउँदा  सम्पादक (बालमुकुन्ददेव पाण्डे)को अनुहार उज्यालो हुन्थ्यो । त्यस दिन मेरो स्तम्भ ‘अर्को अर्थ नलागेमा’ छापिएको हुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो – आज तिमीले गज्जब लेख्यौ । साढे ११ बजेतिर मलाई बोलाउनुहुन्थ्यो । जाँदा अँध्यारो मुख हुन्थ्यो । म सोध्थें के भयो दाइ ? सञ्चार सचिव (विष्णुप्रताप शाह) उहाँ (बालमुकुन्ददेव)को क्लासमेट थिए । उनी भन्दारहेछन्– त्यस(शरच्चन्द्र)ले के लेखेको ? तँलाई जागिर खाने मन छैन ? मन छ भने त्यसलाई निकाल्दे । टाउकोमा हात राखेर तनावमा बस्नुहुन्थ्यो । म पनि  चुपचाप बस्थेँ । निकै बेरपछि भन्थेँ, म लेख्न छोड्दिऊँ त दाइ ? उहाँ चिया मगाउनुहुन्थ्यो । चिया खाएर दिमाग ठण्डा भएपछि भन्नुहुन्थ्यो–“ त्यसले भन्दैमा हुन्छ ? तिमी लेख्न नछोड । त्यस्ता सम्पादक आज कहाँ पाउनु !” 

 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन ३२, २०७६  ०८:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC