नेपालका कम्युनिष्टले मार्क्सलाई झुक्याएका छन् कि लोकतन्त्रलाई ?

नेपालका कम्युनिष्टले मार्क्सलाई झुक्याएका छन् कि लोकतन्त्रलाई ?

देवराज चालिसे नेपाली कांग्रेसका नेता हुन् । कास्कीमा लामो समय अध्यापन गरेका चालिसे पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा कास्की दुईबाट पराजित भए । रिक्त रहेको उक्त निर्वाचन क्षेत्रमा फेरि पनि प्रतिष्पर्धाको तयारीमा रहेका चालिसे दुईतिहाइ मत प्राप्त नेकपा अधिनायकवादी बाटोमा रहेको बताउँछन् ।
सरकारले ल्याएको विधेयकविरुद्ध जनता सडकमा उत्रिनपर्ने अवस्था नै अधिनायकवादको संकेत भएको उनको तर्क छ । पछिल्लो समयमा कांग्रेसको अवस्था, सरकारका कामकारबाहीलगायतका विषयमा बाह्रखरीले नेता चालिसेसँग गरेको कुराकानीको अंशः

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस अहिले कुन अवस्थामा छ  ? 

हाम्रो बुझाइमा संवैधानिक रुपमा प्रमुख प्रतिपक्षी दलको हैसियतमा छ । व्यवहारिक रुपमा हेर्दा देशले राजनीतिक विचारधारा नेपाली कांग्रेसको लिएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र । हाम्रो गणतन्त्र जनवादी गणतन्त्र होइन । देशले राजनीतिक प्रणाली र सिद्धान्त नेपाली कांग्रेसको स्वीकार गर्ने तर, भोट कांग्रेसले नपाउनु भनेको अर्थ सिद्धान्तमा कांग्रेस कमजोर नभएर व्यवहारमा कमजोर अवस्थामा छ भन्ने नै हो ।  

कांग्रेस रणनीतिक रुपमा पनि कमजोर अवस्थामा छ । सामूहिक लक्ष्य प्राप्त गरी सामूहिक स्वार्थमा सामूहिक प्रयास गर्ने जुन किसिमको संस्थाको मूल्य हुन्छ त्यसबाट कांग्रेस स्खलित भएको छ ।  २०४८ सालदेखिनै कांग्रेसमा सत्ताको राजनीतिले ‘मोटिभेट’ गर्दै आएको देखिन्छ । सत्ता केन्द्रित राजनीतिले बढी ग्रसित छ । सत्ता केन्द्रित राजनीति र आत्मकेन्द्रित चरित्रले समग्र स्वार्थको प्रतिनिधित्व गर्न सक्दैन ।   

अहिले पनि कांग्रेस सामु सुध्रिएर जाने, संसद्मा होस् अथवा पब्लिकमा । जनतालाई साथमा लिएर उनीहरुकै भावनाअनुसार कांग्रेसले भूमिका निर्वाह गर्नुपर्छ । 

जनताले किन साथ दिने नेपाली कांग्रेसलाई ?  

यस्तो हो, कांग्रेस पार्टीलाई सत्तामा पुर्‍याउनभन्दा पनि जनताको अपिल, चासोलाई कांग्रेसले सम्बोधन गर्नुपर्छ । त्यसलाई जनता र कांग्रेस दुबै मिलेर त गर्न सकिन्छ नि ! भोट जनताले दिए दिन्छन् नदिए दिँदैनन् त्यो जनताको कुरा भयो । के कांग्रेसको दायित्व जनताप्रति छैन ?
जनताले साथ कांग्रेसलाई दिने भनेको शेरबहादुर देउवालाई दिने भनेको होइन नि । 

मेरो अधिकारको अपहरण हुँदैछ भने मैले साथ पाएको भन्ने कि दिएको भन्ने ? मेरो भोलि सम्पत्तिको कुनै सुरक्षाको ग्यारेन्टी छैन भने मैले सहयोग मागेको भन्ने कि सहयोग लिएको भन्ने ? 

देशले लिइरहेको बाटो र पाइपलाइनमा रहेका विधेयकहरुले के संकेत गरिरहेको छ भने देश सही दिशामा गइरहेको छैन । सरकार बहुमतमा छ, चाहेको कानुन निर्माण गर्न सक्छ । तर, त्यसले राजनीतिक वैधता पाउँदैन । उसले बनाएको गुठी विधेयक फिर्ता भएको उदाहरण छ । फिर्ता हुने परिस्थिति नै राजनीतिक वैधता भएन भनेको हुँ । 

पोलिटिकल ‘लेजेटिमिसी’ कांग्रेससँग छ । या जनतासँग छ । सार्वभौमसत्ता सम्पन्न जनता हो । पाँचवर्षका लागि निर्वाचित भएँ भन्दैमा सरकारले ५० वर्षको देशको भविश्यलाई दूरगामी असर पर्ने नियम कानुन बनाउन सक्दैन । 

तपाइँको सार सरकार सही ट्रयाकमा छैन भन्ने हो ? तर, के अहिले कांग्रेस जनतालाई आफूसँग जोड्न सक्ने हैसियतमा छ ? 

भीरबाट लडेर मर्ने कि तालमा डुबेर मर्ने भन्ने विकल्प होइन, मृत्युको विकल्प जीवन हो । कांग्रेस अथवा जनताले सरकारका नराम्रा पक्ष खोतल्ने वित्तिकै उसले के भन्छ भने– पहिले के थियो ? 

‘पार्लियामेन्ट डेमोक्रेसी’ लाई मानिसकेपछि हामीले त्यसलाई ‘फलो’ गर्नुपर्छ । जनताले ‘टेस्ट’ गरिसकेकालाई ‘अप कमिङ प्राइम मिनिस्टर’ का रुपमा सारिनुहुन्न । जनताले ‘फ्रेस भ्यालु’ खोजिरहेको हुन्छ । एजेन्डा सही उठाएरमात्रै हुँदैन, जनताले एजेन्डा उठाउने पात्र पनि सही खोज्छ, ‘क्लिन’ खोज्छ । उसमा आफ्नो ‘इमेज’ र भरोसा खोजि रहेको हुन्छ । जनताले मेरो नेता हो भन्ने अपनत्व बोध गर्न सक्ने नेतृत्व आवश्यक पर्दछ । 

‘स्ट्रेस’ लाई ‘डाइभर्ट’ गर्ने व्यक्तित्व चाहिन्छ । नेपालमा जनता प्रताडित छन् । सम्भावना भएको देश हो । पाँचैवर्षमा नेपाललाई सिंगापुरको हाराहारीमा विकसित गर्न सकिन्छ । 

तर, यत्रो ‘रिसोर्स’ भएको देशलाई ‘गुड म्यानेजर’, ‘भिजन’ भएको, रक्तसञ्चार गर्न सक्ने र क्षमता पनि प्रदर्शित गरेको मान्छे जनताले खोजि भइरहेको छ । त्यो मान्छे र यो पार्टी मिल्यो भने तपाईं हामीले अनुमान गरेको भन्दा चाँडै लक्ष्य प्राप्त गर्न सकिन्छ । 

तपाईं भनेझैँ कांग्रेसले त्यस्तै नेता खोजेको हो कि अझै पनि अहिलेकै नेतृत्वले त्यो गर्न सक्छ ? 

भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री छन् । उनको मन्त्री मण्डलमा कति जना पूर्वसभापतिहरु छन् ? अमित शाहदेखि नीतिक गडकरी, नायडु, राजनाथ सिंहसम्मका पार्टीका पूर्वअध्यक्षहरुले मोदी अगाडि सारेको देखेका छौं नि हामीले । त्यहाँ पदीय अहंकारले काम गरेको देखिँदैन । 

नेता र पदका बीचमा धेरै फरक छ । हामीले नेतालाई ‘पोजिसन’ को आधारमा व्याख्या गर्छौं । नेता भनेको ‘हु लिड द सोसाइटी’, विचारको आधारमा, कार्यक्रमको आधारमा मान्छेलाई सम्मोहित गरेर आमजनतालाई समाहित गर्न सक्ने मान्छे नेता हो । कुर्सीलाई मात्रै नेता मान्न मिल्दैन ।  नेताको परिभाषा नै विचित्रको छ, कुर्सीलाई मान्ने कि पदलाई मान्ने ? पदाधिकारीलाई मान्ने कि विचारलाई मान्ने ? क्षमतालाई मान्ने कि दूरदृष्टि भएकोलाई मान्ने ? केलाई मान्ने ? 

व्यक्तिगत गुण, दोषका आधारमा अपमान हुने गरी हामी नबोलौं तर, यसरी अहिलेकै जसरी चल्दैन । आउने दिनहरु चुनौतीपूर्ण छन् । यस्तो ‘एडप्ट बेसिस’ मा जसो गरे पनि हुन्छ, जे गरे पनि हुन्छ, जस्तो मान्छेले पनि चल्छ भनेर संस्था चल्दैन ।

कांग्रेसको यो नेतृत्वले तपाईंहरुले खोजेको जस्तो गरी कांग्रेस ‘रिभाइभ’ हुन सक्छ कि सक्दैन ? 

धाँदली गरेर त कसैले जितेका होइनन् । सबैले मतदानबाटै चुनाव जितेर नेतृत्वमा पुगेका हुन् । हामीले निर्वाचित गरिसकेको नेतृत्वलाई अपमानजनक बिदाइ गर्ने मनसाय कदापि लिनु हुँदैन । 

‘एक्जुकेटिभ पोजिसन’ मा नहुँदा नेता होइन भन्ने हुँदैन, पार्टीको सभापति नरहेर पनि नेता त हुन सकिन्छ नि । महात्मा गान्धीको पद थियो ? नेलशन मण्डेलाको पद थियो ? मार्टिन लुथर किङको पद थियो ? समाजमा राजनीतिका सम्वाहक जति पनि छन् ति कसका पद थिए ? कसैका पद थिएनन् । तर, ति नेता थिए । 

नेता हुनु र पद हुनुमा फरक कुरा हो । त्यही भएर उहाँहरु नेता हो भन्ने कुरामा कुनै कमी छैन, उहाँहरु नेता हो नै । तर, कार्यकारणी पदहरु नयाँ पुस्ताको ‘डायनामिक’ मान्छेलाई शान्तिपूर्वक रुपमा हस्तान्तरण गर्नुपर्छ । जसले आफ्नो जीवनकालमै आफू सक्रिय राजनीतिमा भएकै अवस्थामा अत्यन्तै भरपर्दो मान्छेलाई नेतृत्व हस्तान्तरण गर्छ त्यो नै अशल नेता हो । 

नेपाली कांग्रेस अहिले ओरालो लागेको हो कि १०–१५ वर्ष अघिबाटै लक्षणहरु देखिँदै आएका थिए ? 

बीपी कोइरालाले नेपाली कांग्रेसलाई तीनजना नेताको जिम्मा लगाउनुभयो । तीनजना नेताले कम्तिमा ५० प्रतिशत बचेखुचेको पार्टीलाई जिम्मा लगाउनुभयो । व्यवस्थापनको सिद्धान्तमा ५० मा जिम्मा लगाइएकोलाई ५१, ५२, ५३ गर्दै ‘इम्प्रुभ’ गर्नु ‘गुड म्यानेजर’ को दायित्व हुन्छ । तर, हाम्रो समस्या के भयो भने ‘डेटुरेड’ हुँदै गयो । ४९, ४८, ४७ हुँदै तल गयो । 

सफलता र असफलता, लोकप्रियता र अलोकप्रियताको मापदण्ड यही हो । कसले गर्दा भन्दा यसले गर्दा भन्ने भएन । भोट लिने भन्ने कुरा दिएन भन्न पाइँदैन राजनीतिमा । विश्वास जित्ने कुरा महत्वपूर्ण हुन्छ । भोट लिने कुरा हो, विश्वास जित्ने कुरा हो । अर्काले दिएन भन्न पाइँदैन । लिन सक्नुपर्छ । विश्वास जित्न सक्नुपर्छ । सक्नु नसक्नु भनेको हाम्रो आफ्नो सफलता र असफलतामा भर पर्छ । 

तपाईंले निर्वाचन लडेको क्षेत्रमा उपनिर्वाचनको तयारी हुँदैछ । गाउँगाउँमा गइरहनुभएको होला । अहिलेसम्म मतदाता नामावलीमा नाम नभएर तर, आउँदो चुनावमा मतदान गर्ने अधिकार पाउन लागेका नयाँ युवा मतदाता कांग्रेस किन हुने ? 

राजनीतिको विकल्प राजनीति नै हो, लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । यसको अर्को बाटो छैन । त्यसकारण सुध्रिएको कांग्रेस, भरोसापूर्ण कांग्रेस बनाउन सक्यौं भने सबैभन्दा रुपान्तरणको साथी पार्टी कांग्रेस बन्न सक्छ । अहिलेका युवाहरुको जुन दिमाग, मनोविज्ञान र सपना छ, त्यो सपनाको नेपाल भनेको कुनै माक्र्सवादी नेपाल, लेनिनवादी नेपाल र माओले कल्पना गरेको नेपाल हुनै सक्दैन । 

युवाका लागि विकल्प भनेको नेपाली कांग्रेस हो वा कम्युनिस्ट पार्टी हो । कम्युनिस्ट पार्टीको विचारधाराले निर्माण गर्न चाहेको समाज र कांग्रेसको विचारधाराले निर्माण गर्न खोजेको समाजको बीचको अन्तरबोध गर्दा यो जेनरेसनका मान्छेको ‘ड्रिम’ लाई कांग्रेसको विचारले मात्रै समबोधन गर्न सक्छ । जुन ‘लाइफ’ उसले बाँच्न चाहेको छ, जुन स्वतन्त्रता उसले चाहेको छ त्यसलाई सम्बोधन गर्ने राजनीतिक व्यवस्था र प्रणालीलाई नेपाली कांग्रेसको उपस्थितिले मात्रै सुरक्षित गर्न सक्छ । यसकारण नयाँ ‘जेनरेसन’ ले कांग्रेस रोज्नुपर्दछ । 

तर, भद्रगोल कांग्रेसले, २००७ सालको कांग्रेसले नयाँ पुस्ताको भावनालाई सम्बोधन गर्न सक्दैन । बदलिदो कांग्रेस, २१ औं शताब्दिको बदलिँदो समयलाई बुझ्ने, सयौं वर्षपछिसम्मको योजना बनाएर पूरा गर्न सक्ने कांग्रेसले बनाएर नयाँ मतदातालाई आफूसँग जोड्नुपर्छ । 

कास्कीमा एउटा क्षेत्रमा उपनिर्वाचन गर्ने तयारी भइरहेको छ । तपाइँले फेरि उमेदवारी दिने तयारी गरिरहनुभएको हो ? 

गएको निर्वाचनमा लडेको हुँ । दुर्भाग्य हो, मेरो मित्र रवीन्द्र अधिकारी रहनुभएन । हामीले फरक–फरक पार्टीबाट चुनाव लडे पनि प्रतिद्वन्द्विताको भावना राखेनौं । मित्रवत प्रतिष्पर्धा गरेका हौं । संवैधानिक व्यवस्थाले चुनाव हुँदैछ । चुनाव गर्ने सरकारको काम हो । चुनाव होला । 

चुनावमा हाम्रो पार्टीको कुरा हो । योभन्दा अगाडि म उमेदबार भएको कारणले गर्दा स्वाभाविक रुपमा म नै फेरि पनि उमेदवार हुन्छु भन्ने अनुमान गरिएको होला । तर, म पार्टीको सिपाही हो, पाँचवर्षका लागि म चुनाव हारे पनि जिते पनि जनताको सेवामा छु । उहाँहरुको सुख, दुःखमा सहभागी हुनु मेरो कर्तव्य हो ।

टिकटको कुरा, पार्टीको आफ्नो विधि छ, नियम छ । कसलाई दिने, कसलाई नदिने सभापति र संसदीय बोर्डको तजबिजको कुरा हो । मेरो लागि टिकट पाउनु नै ठूलो कुरो होइन । जनताको मन अहिले फर्किएको छ । उहाँहरुले कम्युनिस्टको बोलाइ र काम गराइ, अनुहार र व्यवहारबीच फरक देखिसक्नुभएको छ । उपचुनावमा जो लडे पनि जनताले नेपाली कांग्रेसलाई समर्थन गर्ने विश्वास भने मैले गरेको छु । 

चुनावको बेला कम्युनिस्ट सरकार आयो भने अधिनायकवाद आउँछ भन्नुहुन्थ्यो । साँच्चै तपाईँहरुले भने जस्तै अधिनायकवाद आउने भयो त ?
कम्युनिस्ट पार्टीले लोकतन्त्रिक पद्धतिको उपयोग गर्ने हो । माध्यमका रुपमा प्रयोग गरिहरेको छ । तर, कम्युनिस्टले लोकतन्त्रप्रति निष्ठा राख्दैन । सत्तामा रहेको कम्युनिस्ट पार्टी लोकतन्त्रप्रति वास्तवमै प्रतिवद्ध हो भने उसको मार्क्सवादप्रतिको मोह के हो ? कि मार्क्सलाई अन्याय गरेका छन् उनीहरुले कि लोकतन्त्रलाई अन्याय गरेका छन् । 
कार्ल्स मार्क्स सिद्धान्त र लोकतन्त्र एक साथ जान सक्छ ? लेनिनको जनवादी केन्द्रीयतावादको सिद्धान्त र बहुदलीय प्रणाली एकसाथ हिँड्न सक्छ ? दुइटामा एउटा कुरा त झुट हो नि । दुइटामध्ये एउटा त झुक्याइएको छ नि । यो ओपन कुरा हो । 
अहिलेको सरकारको जुन रबैया छ, उ बहुमतमा छ, उसले चाहेअनुसार कानुनहरु बनाउन सक्छ । उसले चाहेको संविधान सुधार पनि गर्न सक्छ । सत्तामा कम्युनिस्ट छ र संविधानभन्दा बाहिर जंगलमा पनि कम्युनिस्ट छ । हिजो एमाले र माओवादी हुँदाका बेलाको जस्तै परिस्थिति छ । सरकार दोहोरो चरित्र देखाइरहेको छ । 

लोकतान्त्रिक व्यवस्था मानेर आइसकेपछि र यही संविधानअनुरुप निर्वाचन जितेर आइसकेको पार्टीलाई आशंका गर्न मिल्छ र ? 

कांग्रेसले उनीहरुलाई लोकतन्त्रवादी पार्टी बनाउने प्रयास गरेको हो । उनीहरुले चुनावमा भाग लिए भन्दैमा उसको निष्ठा लोकतन्त्रप्रति हुन्छ भन्ने छैन । त्यसलाई उसले दस्तावेजबाट प्रमाणित गर्नुपर्छ । मार्क्सवाद, लेनिनवाद र माओवाद विचारधारालाई राखेरै लोकतन्त्र मान्छु भनेको मुसाको श्राद्ध गर्न बसेको बिरालोको कथा जस्तो हो । यो मिल्दैन । कि म एउटा सोसल डेमोक्रेट हुँ भन्न पर्‍यो, आफूलाई सोसलिस्ट पार्टी भन्न सक्नु पर्‍यो । 

जबसम्म त्यो पार्टीले मार्क्सवाद भनिरहन्छ, जबसम्म त्यो पार्टीले जनवादी केन्द्रीयतावादमा आधारित आफ्नो सिद्धान्त भनिरहन्छ, जबसम्म त्यो पार्टीले साम्यवाद आफ्नो लक्ष्य भनिरहन्छ तवबसम्म यसले चुनावमा भाग लिएको हो त्यसकारण यो लोकतन्त्रवादी हो भन्ने बाटो रहँदैन । 

प्रतिकृया दिनुहोस
ad