नेपाली कांग्रेसको जागरण

नेपाली कांग्रेसले सुरु गरेको एक महिने राष्ट्रिय जागरण अभियान समापन गरेको छ । स्थानीय तल्लो तहसम्म वर्ष दिन लगाएर गरिने घोषित अभियानले कांग्रेस स्वयंको जागरण कति हदसम्म हुनेछ परिणामपछि नै ज्ञात हुने हो । अहिलेलाई सम्पन्न देशव्यापी एक महिने अभियानको उपलब्धि र प्रभावका विषयमा विभिन्न कोणबाट समीक्षा भइरहेको छ । जो स्वाभाविक हो । 

जिल्लाजिल्ला खटाइएका केन्द्रीय प्रतिनिधिलाई झन्डै अढाई दर्जन सूत्र दिएर अभियान सञ्चालन गर्न भनिएको र  कार्यक्रमको स्वरुप (मोडेल) पनि निर्देशित थियो । यति हुँदाहुँदै पनि कांग्रेसले अभियानबाट चाहेको कुरा पायो कि पाएन ? उसको केन्द्रीय समिति र नेताहरुबीच गहिरो छलफलसहित निष्कर्ष निकालिएला । अहिलेलाई यति आशा लिन मिल्छ । 

बुझिने कुरा चाहिँ के हो भने – कांग्रेसको अभियान आन्तरिक संगठन वा कार्यकर्तामा विभाजित गुटगत मानसिकता बदली एकत्वभाव जाग्रत गर्नका लागि हो । सँगै, वर्तमान कम्युनिस्ट सरकारको स्वेच्छाचारी कामको जानकारी कार्यकर्ताको माध्यमबाट जनतासमक्ष  पुर्याउने पनि उद्देश्य हो ।   

महासमिति बैठकले जागरण अभियान चलाउन दिएको सुझावका आधारमा गरिएको कार्यक्रमपूर्व नेपाली कांग्रेसले जुन तहको तयारी गर्नुपथ्र्यो,त्यो गर्यो कि गरेन भन्ने अवस्थाले यसको उपलब्धिको सीमा तय गरेको छ । देखिएको तयारी पर्याप्त थिएन । आवश्यक तयारीविना कार्यक्रम सुरु गरिएको पार्टीका प्रभावशाली नेताहरुले नै यसबीच व्यक्त गरेबाट यो बुझिन्छ । तयारीको कमीले जागरण कार्यक्रमका अभिव्यक्तिमा केन्द्रीय प्रतिनिधिका आआफ्नै धारणा प्रभावी पनि भए । 

खास तयारीका साथै संगठन र सरकारको विषयमा भाषा फरक भए पनि, भावमा एकता रहोस् भन्ने बहससहित  केन्द्रीय प्रतिनिधिबीच पहिले नै निष्कर्ष निकालिएको भए, व्यक्त छरपस्ट धारणा संयमित हुने सोच सार्थक हुँदो हो । विषयगत जागरण पहिले केन्द्रीय प्रतिनिधिहरुलाई हुनुले अभियान थप सार्थक बन्दो हो । सरकारको स्वेच्छाचारी कार्यको उद्धरणमा एकरुपता देखिए पनि संगठनात्मक सोचमा फरक फरक प्रस्तुतिले ठाउँ पायो । सुन्दा, कतिपय ठाउँमा गरिएको सरकारको आलोचनाको प्रस्तुति पनि प्रभावोत्पादक आकर्षक भएन । ‘स्टेरियो टायप’भयो रे !  

नेता, कार्यकर्ताबाटै जागरणप्रति सबैभन्दा कठोर टिप्पणी पार्टीको ‘१४ औँ महाधिवेशन सार्ने सोद्देश्य’ भनी गरियो । यस विषयको उत्तर दिन नेतृत्व खासगरी सभापतिबाट आवश्यक ठानिएको छैन । त्यो टिप्पणीप्रति मौन स्वीकृति हो कि जस्तो बुझिन्छ । तर, जागरण अभियानसँगै निश्चित अवधिमा महाधिवेशन गर्ने धोको वा इच्छाशक्ति सभापतिमा हुनसक्छ ? त्यो भने खुल्न सकेको छैन । विगतमा ‘एकताको महाधिवेशन’ घोषणा गरेजस्तै, अब ‘जागरणको १४ औँ महाधिवेशन’ घोषणा हुने आशा लिन पाइन्छ तर त्यो आशा त्यतिबेला क्षीण हुन्छ जतिबेला फर्किएर यसको तयारी हेरिन्छ । बाहिरबाट उन्नत आशा गरे पनि आन्तरिक तयारी चाहिं शून्य छ ।

नहुनुभन्दा केही हुनु निको हो भन्ने कार्यकर्ताको एउटा सुझावमा चाहिँ समानता रहेको पाइएको छ । केन्द्रीय प्रतिनिधिलाई कार्यक्रममा सहभागी कार्यकर्ताले केन्द्रमा एकता भए स्थानीय कार्यकर्तामा समस्या छैन भन्ने समान सुझाव दिएका छन् । वाद, सम्वादमा विविधता भए पनि संगठनात्मक गतिशीलतामा एकता भन्ने सुझाव नै कार्यकताबाट आएको हो । सहभागी उनीहरुसँगको कुराकानीमा यो कुरा स्पष्ट हुन्छ । कतिपयले भनेछन्– पार्टी संगठन संघीय संरचनाअनुसार बनाउनु पर्यो  । 

प्रतिनिधिको कौशलअनुसार कतिपय जिल्ला कार्यक्रममा एकताको सन्देश दिने कोसिस पनि भएको छ । तर, कति ठाउँमा यसविपरीत पनि भएछ । तनहुँमा यो पंक्तिकारले सहभागीसँग कार्यक्रमको शैली, प्रभाव र धारणा बुझ्दा ‘नहुनुभन्दा केही भयो’ भन्ने बाहेक अरु सकारात्मक छैन । सहभागी उत्साहको मापन पनि उत्साहित गर्ने प्रकारको भेटिएन । जिल्लास्तरीय एक शीर्ष नेतासँग जिज्ञासा राख्दा मौखिक उत्तर त आएन तर चियाको घुट्को मुखमा बन्द गरेर डमरु बजाउने शैलीमा उनले बायाँ हात नचाए । जुन सकारात्मक थिएन । अझ भानु गाउँपालिकामा भएको कार्यक्रममा चलेको दोहोरीको संक्षिप्त वर्णन सुन्दा एकता सन्देश त्यहाँ भत्किएकै अवस्था बुझियो । 

अर्को, गोरखा जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिले विभाजनको उत्खननबाटै उद्घाटन मन्तव्य शुरु गरेछन् । त्यो पनि नेता कृष्णप्रसाद भट्टराई (किसुनजी) ले काठमाडौँबाट उपनिर्वाचन हारेको पुरानो प्रसंग आफ्नै नेताहरुमाथि थोपरेर । यसपछि उनी निजी कारण जनाएर त्यहाँबाट फिर्ता भएछन् र केन्द्रले अर्कै प्रतिनिधि खटाउनु परेछ ।      

कार्यक्रममा गएकाहरु मध्ये मुख बंग्याउने पनि निकै फेला परे । नगएकाले सिधै भने तिनको अर्ति र उपदेश सुन्न कति जानु ? आफू सुध्रिए भयो नि ! पदीय दायित्व र पहिचान जोगाउन जाने कार्यकर्ता नै धेरै थिए । जागरण अभियान लाग्थ्यो अन्तक्र्रियात्मक हुनेछ । धेरै जिल्लामा यस्तै भयो पनि । तर, काठमाडौंको एक कार्यक्रममा नेता आए भाषण दिए, गए । कार्यकर्ताको सुझाव लिने,गुनासो सुन्ने कुनै काम त्यहाँ गरिएन । प्रतिनिधिले नै विभाजनकारी भाषण दिए । सहभागीबीच असन्तुष्टिको गाँइगुँइ चल्यो ।  

यस्तो किन भयो ? केन्द्रीय प्रतिनिधिबीच आवश्यक तयारी र अभिव्यक्तिमा समानता राख्ने सहमतिकै अभावमा यस्तो भयो । नकारात्मक टिप्पणीको लामो फेहरिस्त भएपनि ‘नहुनुभन्दा केही हुनु निको’ भएकै हो । सकारात्मक पक्ष पनि धेरै छन्, तिनको परिणाम पनि आउँदै गर्ला । सबैभन्दा सकारात्मक त  ‘भूसको आगो होइन भने’ गुटको उच्च स्वर यतिबेला केही मत्थर हुनु नै हो । 

राष्ट्रिय जनजागरण अभियानमार्फत कांग्रेसले राखेको संगठनात्मक एकताको सन्देश दिने उद्देश्य विधानले मात्रै प्राप्त गर्न सकिँदैन । राजनीतिक दल विधानबोक भावना, विश्वास र सम्मानले पनि बन्छ, चल्छ र चलाइन्छ । विधान त कांग्रेससँग छ भलै त्यसअनुसार संरचना बनाउन बाँकी नै होस् । सिद्धान्त सिर्जित एकत्वको भावलाई विधानले उदार निर्देश गर्ने हो । प्रजातन्त्र अनुदार हुँदैन । भावना, विश्वास र कार्यकर्ताको सम्मान यतिबेला कांग्रेसमा कमजोर(लुज) भएको छ । मूल्यांकन छैन ।  परिणाम कांग्रेस संगठन कमजोर देखिएको वा भएको हो । जागरण नियमित प्रकृति हो । यो नियमित आकस्मिकता पनि हुन्छ । अहिले कांग्रेसले यही ‘आकस्मिकता’ प्रयोग गरेको हो । खास परिस्थिति र विषयको आवश्यकता बोधले सामूहिक जागरण अभियान चलाइन्छ । नभए मानिस व्यष्टि, समष्टि जाग्रत भइरहनु नियमित प्रक्रिया हो । 

अर्को राम्रो पक्ष अभियानमा कांग्रेसले तराइमूलका नेताहरुलाई कतिपय पहाडी जिल्लामा खटाउनु हो । खटिएको जिल्लामा तीमध्ये कति पुगे, पुगेनन् लेखाजोखा पार्टीसँग होला । तर दोलखामा खटिएका केन्द्रीय प्रतिनिधिले सक्रियतासाथ निर्वाह गरेको दायित्वले आफ्नो राजनीतिक जीवनमा अविस्मरणीय पुँजी प्राप्त भएको अनुभव सञ्चारमाध्यममा व्यक्त गरे । 

उनले पहाडी जीवनको दुःख, सुखसँग साक्षात्कार गर्ने सुअवसर पाएको बताए । भूबनोटको जटिलताले पनि पहाडी जीवन कष्टसाध्य रहेछ । तराई, पहाडको दिनचर्याको अनुभूति सँगाल्न पाउनु मेरो राजनीतिक जीवनको सम्पत्ति हो । यसरी अत्यन्त मार्मिक भावसमेत त्यहाँ पाएको सम्मान,सहयोगको ‘उद्गार’ व्यक्त गर्ने दोलखा पुगेका कांग्रेस केन्द्रीय प्रतिनिधि हुन्– रामकृष्ण यादव । 

अर्को सकारात्मक टिप्पणी गर्दा कांग्रेसले कार्यकर्तालाई काम दियो, केही उद्यायो । यसअघि अन्यमनस्क आरोपले डामिएको कांग्रेसको भूमिका संसद् र जनतासमक्ष प्रभावोत्पादक रहेन भन्ने थियो । त्यसमा केही सुधार चाहिँ ल्यायो । भारतीय समाजवादी नेता डा.राममनोहर लोहियाले–‘कुनै पनि दलका कार्यकर्ता हतियार जस्तै हुन्,तिनलाई उद्याउन काम दिइरहनु पर्छ, अन्यथा ती भुत्ते हुन्छन्, तिनमा खिया लाग्छ,’ भनेका छन् । कांग्रेसले जागरण अभियानबाट कार्यकर्तालाई धारिलो पार्ने कोसिस गर्यो । 

बाँकी रह्यो कम्युनिस्ट सरकारको अधिनायकवादी मनसुवालाई बुझ्ने गरी छर्लङ्ग कति पारे भन्ने ? यसका लागि त्यस्तो कुनै लिखत ‘डकुमेण्ट’भएजस्तो लागेन । तर, सरकारको आलोचना गर्नु आवश्यक थियो, सबैतिर गरियो । सरकार संरक्षित भ्रष्टाचार, विकृति र विधेयकहरु (कानुन निर्माण प्रक्रिया) मा प्रस्तुत सरकारको स्वेच्छाचारी नियत सबैतिर भनियो । कम्युनिस्ट सरकार संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक संविधानविपरीत काम गर्दैछ भन्ने उदाहरण पनि कांग्रेसजनले  दिए । कांग्रेस र सबै लोकतन्त्रवादीले भन्नैपर्ने– सरकार संविधानविपरीत मात्रै होइन कि संविधानमाथि नै निर्मम प्रहार गर्न लागेको स्पष्ट सन्देश तिनले  दिएको वा भनेको सुनिएन, सुनिएको छैन । 

छर्लङ्ग उदांगिएको यो कम्युनिस्ट सरकार नेपाली जनताको संविधान सभाले बनाएको संविधान असफल पार्न तल्लीन छ । उदाहरण अधिकार केन्द्रिकृत गर्नु, जनभावनाको निरन्तर उपेक्षा गर्नु,सुशासन होइन स्वेच्छाचारी कार्यशैली अपनाउनु, भ्रष्टाचार संरक्षण गर्नु, सरोकारवाला र संविधानको मर्ममा चोट पार्ने कानुन ल्याउने जमर्को गर्नु, संविधान संशोधनको उचित मागलाई सम्बोधन गर्न आवश्यक तदारुकता नदेखाउनु, प्रेस स्वतन्त्रतामा बन्देज लगाउन खोज्नु, नागरिक समाजलाई हेप्नु र शक्ति विकेन्द्रीकरणलाई खुम्च्याउनु लगायत छन् । सरकारी कृत्यका यी सबै उदाहरण स्वेच्छाचारी र तानाशाही सोच, संस्कारका उपज हुन् । यस्तो कृत्यले शासन प्रणाली र संविधानप्रति प्रहार हुन्छ, जन भरोसालाई स्खलित गर्छ । 

बेलायत पुगेर कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हो भन्ने भाषण दिए पनि देशभित्र उनको कृत्य उल्टो छ, लोकतन्त्र र संविधानमाथि प्रहार गर्ने प्रकारको छ । अब परिणाम कि प्रधानमन्त्री केपी ओली सच्चिनुपर्छ वा पदबाट हट्नुपर्छ अथवा कम्युनिस्ट सरकारको स्वेच्छाचारी अधिनायक अघिल्तिर घुँडा टेकेर मुख बन्द गर्ने ती दिन सहने सोच आलोचनात्मक स्वतन्त्र चेत सबैले अहिल्यै सँगाले हुन्छ ।     

       

कुलचन्द्र वाग्ले

प्रतिकृया दिनुहोस
ad