आध्यात्मिक व्यक्ति कहिले पनि पथभ्रष्ट हुँदैन 

पण्डित दीनबन्धु पोखरेल

आध्यात्मिक व्यक्ति कहिले पनि पथभ्रष्ट हुँदैन 

पुराण वाचनमा प्रवीण मानिएका पण्डित दीनबन्धु पोखरेलको व्यस्तता यतिखेर बढेको छ । नारायण पोखरेल प्रतिष्ठानको तत्वावधानमा काठमाडौंको सीतापाइलामा आयोजना गरिने ऐतिहासिक गीताज्ञान महानुष्ठानका लागि उनी सक्रिय छन् । गीताको तार्किक, व्यावहारिक, वैज्ञानिक तथा समसामयिक व्याख्या गरी समस्तजनमा आन्तरिक जागृति पैदा गर्ने, ऐतिहासिक बद्रीनारायण धामसहित नारायण आध्यात्मिक केन्द्रको विश्वव्यापी प्रवाह तथा सञ्चालन गरी नेपाललाई आध्यात्मिक केन्द्रका रुपमा विकास गर्न टेवा पुर्‍याउने र धार्मिक पर्यटनको विकास स्वदेशमै गर्ने हेतुले गीताज्ञान महानुष्ठान हुन लागेको बताउँछन् पोखरेल । सोमबार उनले थोरै समय निकाले बाह्रखरीसँग कुराकानीका लागि । प्रस्तुत छ, पण्डित दीनबन्धु पोखरेलसँग बाह्रखरीका राजेश खनालले गरेको कुराकानी–

तपाईंको अहिलेको व्यस्तता केका लागि हो ?

वेद र बुद्धलाई विश्वव्यापीरुपमा चिनाउन मैले विशेष पहल थालेको छु । मेरो मिशन के हो भने ‘वन डे नेपाल वील लीड द वर्ल्ड’ । एक दिन नेपालले विश्वलाई नेतृत्व गर्नेछ । यसका पनि केही कारण छन् । एउटा त विचारवादको वकालत गरौं भन्ने पनि हो । अर्को, नेपालमै बद्रीनारायण धामको निर्माण पनि हुँदैछ । जसमा दश–बाह्र करोड रुपैयाँ खर्च भइसकेको छ । चालीस करोडको यो परियोजना हो । यसै कामलाई सहयोग जुटाउन सकियोस् भनेर यो अनुष्ठानको आयोजना गर्न लागिएको हो ।

कुरा गीताज्ञानको पनि त छ ?

गीतालाई वैज्ञानिक ढंगबाट जनजनमा पुर्‍याउने उद्देश्य पनि हाम्रो हो । हामीले पुरातनवादी ढङ्गबाट जहिले पनि व्याख्या गर्‍याैँ । यसको परम्परागत रुपमा मात्रै व्याख्या भयो । यो सनातनी व्याख्या भन्दा माथि उठेर समयानुकूल र अहिलेका युवा पुस्ताले पनि बुझ्ने हिसाबबाट व्याख्या गर्ने दृष्टिकोणका साथ यस अनुष्ठानको आयोजना गरेका हौं । गीतालाई युग सुहाउँदो किसिमबाट व्याख्या गर्ने ध्येय हाम्रो हो । जसले अहिलेका युवा पुस्तालाई आध्यात्मिकतामा समाहित गराउने छ ।

गीता भनेको आध्यात्मिक चिन्तनको एउटा विशाल पुञ्ज हो भने भौतिकवादको परिचायक पनि हो । यी दुवैको समायोजन गीतामा छ । भौतिकवादीहरुले पनि गीता अध्ययन गर्नुपर्छ भन्ने हाम्रो धारणा हो । पूर्वीय दर्शनको अलिकति वैज्ञानिक ढंगबाट उजागर गरौं भन्ने सोच पनि हो ।

अर्थात् गीतालाई जनजनमा पुर्‍याउने नै यो अनुष्ठानको उद्देश्य हो । अर्को कुरो, चारधामका नाममा विदेशिने रकमलाई रोक्न नेपालमै धाम बनाउने र स्वदेशी पूँजी परिचालन गर्ने राष्ट्रियताको भावना पनि यसमा छ । आध्यात्मिक पर्यटनको विकास गर्ने अभियान पनि यसैमा छ । वेद र बुद्धलाई विश्वमा चिनाएर नेपाल ज्ञानको जननी हो भन्ने कुरा उठान गर्ने संकल्प पनि यसमा छ । त्यसैले मैले भनेँ, यो बहुआयामिक उद्देश्यका साथ महानुष्ठान हुँदैछ ।

तथापि, अहिलेको समयमा धर्म–संस्कृतिप्रतिको आस्था कमजोर हुँदै गएको देखिँदैन र ? 

हेर्नुस्, यो हाम्रो कमजोरी हो । मैले धेरै ठाउँमा भनेको छु । बौद्ध लामा गुरुहरुले त्यसलाई कैद गर्नुभयो । सीमिततामा राख्नु भयो । हिन्दू गुरुहरुले, वैदिक गुरुहरुले आध्यात्मिक चिन्तनलाई जीवनवृत्तिसँग मात्रै जोड्नु भयो । यो वैदिक विरासतलाई कहिले पनि जनजनमा लैजाने काम गर्नुभएन । यो मेरो कमजोरी नै हो भन्छु म । यही परिवर्तनकारी सोचका साथ वेद र बुद्धलाई विश्वव्यापी रुपमा चिनाउने र वैज्ञानिक अध्यात्मवादको वकालत गरेर वैदिक विरासत अर्को पुस्तालाई हस्तान्तरण गर्ने हाम्रो मूल लक्ष्य हो । मलाई लाग्छ, यो नेपाल र नेपालीका लागि गौरवको विषय पनि हो ।

विश्व समुदायमा हामीले स्पर्धा गर्ने दुई वटा विषय छ । एउटा हो वेद र अर्को हो बुद्ध । वेद भनेको हाम्रो देशमा जन्मिएको हो । हामीसँग त्यसको प्रमाण छ । विश्वमा बहेको ज्ञानगंगा यहीँबाट बहेको हो । यसलाई विश्वले मानेको पनि छ । अहिलेको विनिर्माणवाददेखि माक्र्सवादसम्म, माक्र्सवादले कल्पना गरेको साम्यवादसम्मै वेदले वैदिक साम्यवाद या रामराज्यको कल्पना गरेको छ भने विचारवादका लागि विदेश जानै पर्दैन । हामी स्वाबलम्बी छौँ । परजीवी बन्नै पर्दैन । हामीलाई पूर्वजहरुले दिएको विरासत छ । त्यसैको पुनरजागरणको अभियान पनि हो, यो अनुष्ठान ।

त्यसो भए आस्थामा हामी किन कमजोर छौं त ?

हामीले बुझाउन सकेनौ सायद । बुझाउन नसक्नु पण्डितजीहरूको कमजोरी पनि हो । अर्को कुरो, राज्यले यहाँ जन्मेको दर्शन, मक्का मदिनामा जन्मिएको दर्शन र बेथलियामा जन्मेको दर्शनलाई एउटै नजरबाट हेरेपछि त्यो देशको अस्तित्व रहन्छ ? सउदी अरबले मक्का र पशुपतिलाई हेर्ने नजर एउटै हुन्छ ? लुम्बिनीलाई एउटै नजरले हेर्छ ? किमार्थ हेर्दैन ।

राज्यले आफ्नोपन के हो भन्ने तर्फ पनि कहिल्यै हेरेन, चिनेन । त्यसले गर्दा जनजनमा अनास्था पैदा भयो । हामीले समयानुकूलरुपमा वैज्ञानिकीकरण गर्दै अहिलेका युवावर्गले बुझ्ने गरी आध्यात्मिक विचार हस्तान्तरण गर्न सकेनौ । यो पनि एउटा कमजोरी भयो । यसको गहनतालाई यसको गहिराईलाई हामीबाट उजागर गर्ने काम नै भएन । त्यसैका लागि नै यो जागरण अभियानको थालनी गर्न लागिएको हो । र, यसबाट म पूर्णरुपमा आशावादी छु ।

गीतालाई समयानुकूल बनाउने कार्य सम्भव छ ?

धर्म दर्शन व्यावहारिकतामा जानु पर्छ । त्यसको व्यावहारिक व्याख्या हुनुपर्छ भन्ने ध्येयका साथ नै गीतालाई समयानुकूल बनाउने प्रयत्न गरिएको हो । धर्म र दर्शन परम्परामा चल्नु हुँदैन । यसमा विकृति र विसंगति पैदा गर्नु हुँदैन । धर्म, संस्कार, परम्परा र मान्यतालाई हामीले समयानुकूल बनाउँदै जानुपर्छ । आज मानिसमा चरम निराशावादमा छ । किनभने उसले आशा धेरै गरेको छ । आशा धेरै गर्‍यो र तुरुन्तै त्यो काम बनेन भने उ तुरुन्तै निराशावादी हुन्छ । यसले व्यक्तिलाई तनावयुक्त बनाउँछ । त्यो तनावलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने कला अहिलेको युगलाई चाहिएको छ । हामी त्यही ढंगबाट पनि व्याख्या गर्दैछौं । 

अहिलेको युग अत्यन्तै काम र दामको पछि लागेको छ । तिमी नामको पछि पनि लाग, आरामको पछि पनि लाग र रामको पछि पनि लाग भन्ने सोच र चिन्तनको विकासका लागि यो अनुष्ठानको आयोजना गर्न लागिएको हो । अहिलेका युवावर्गमा जुन किसिमको अवस्था सिर्जना भएको छ त्यसलाई न्यूनीकरण गरेर हाम्रो संस्कृति, धर्म, निष्ठाप्रति प्रेमभाव जगाउन पनि यो कार्यको थालनी भएको हो ।

यस किसिमको अनुष्ठानलाई तपाईँहरूले समाजसेवासँग जोड्नुभयो । तपाईंको अनुभवले के भन्छ ?

हाम्रो संस्कृति, हाम्रो मान्यता र पूर्वीय दर्शनलाई पहिले–पहिले सम्भ्रान्त परिवारको पहुँचमा मात्रै राखियो । पुराण भनेको एउटा वर्गले मात्रै सुन्नुपर्छ भन्ने परम्परागत चिन्तन हावी थियो । त्यसको समूल अन्त्य गर्नका लागि नारायण गुरुले आध्यात्मिक चिन्तनबाट भौतिक समृद्धि सम्भव छ भन्ने विषयलाई जोडेर भागवतलाई जनजनमा लैजाने काम गर्नुभयो । भागवतलाई सामाजिकीकरण गर्नुभयो । त्यो वास्तवमा आध्यात्मिकता र भौतिकता समायोजनको मध्यमार्गी धार पनि थियो । त्यो अहिले युगको मागअनुसार नै अगाडि बढेको छ । 

अहिले धेरै कलेज, अस्पताल, बाटोघाटो, पुल पुलेसालाई लिएर हामीले धेरै काम गरेका छौँ । यो काममा हामीले जुन अनुभव हासिल ग¥यौं, त्यो विशुद्ध समाजसेवाका लागि आध्यात्मिकताको नविन प्रयोग हो । यसरी आध्यात्मिकतामा नयाँ प्रयोग गर्दै युवावर्गमा सकारात्मक सोचको विकास गराउने हाम्रो दृष्टिकोण हो । लक्ष्य हो । 

पिताजीको अवसानपछि म १३ वर्षदेखि यस अभियानमा निरन्तर लागि रहेको छु । यसबाट समाजका लागि केही गर्न सकियोस् भन्ने धारणाका साथ हामी अगाडि बढिरहेका छौ ।

यस किसिमका अनुष्ठान वा पुराण कार्यमा व्यापारी चिन्तन हावी हुँदै आएको छ भनिन्छ नि ?

त्यसैको न्यूनीकरणका लागि हामी लागिरहेका छौँ । भागवतलाई सागवत बनाउनु भएन भनेर मैले भन्दै आएको छुु । ब्राह्मणले प्रतिशत तोक्नु हुँदैन भन्ने मेरो भनाइ हो । यसलाई व्यापारीकरण गर्नु भएन भनेर कुरो उठाउने पनि मै हुँ । अनुष्ठानहरूलाई लिएर धेरै व्यापारीकरण हुने गरेको चर्चा नभएको होइन ।

म त्यस प्रवृत्तिको विरोधी हुँ । गुरुले त ज्ञान जगाउने हो । अभिप्रेरणा जगाउने हो । अन्तरमनको भावना जागृत गराएपछि प्राप्त दानले समृद्धि गराउने हो भन्ने मेरो धारणा रही आएको छ । यस विषयमा सञ्चार जगतले पनि खबरदारी गराउनु पर्छ । हामीले यस पटक न्यून खर्चमा कार्यसम्पादन गर्ने विचारका साथ काम गरेका छौँ । 

र पनि, बेलाबेलामा अध्यात्मसँग व्यापार किन जोडिन्छ ?

अध्यात्मसँग व्यापार जोडिन्न । यसलाई त्यसरी नसोचौ । अध्यात्म त ‘युनिभर्सल ल’ हो । ब्रह्माण्ड नियम हो । यो तपाइँभित्रको जागरण हो । चेतनाको बोध हो । तर आश्चर्यजनक रुपमा त्यसलाई व्यापारसँग जोडेर धमिल्याउने काम भएको छ । त्यसको न्यूनीकरण हुनु जरुरी छ । 

यो धमिल्याउने काम कहाँबाट भयो त ?

मैले भने नि, यो त पण्डितहरूबाटै भएको छ । म अरुलाई दोष दिन चाहन्न । यो हामीबाटै भइरहेको छ । यसको न्यूनीकरण आवश्यक छ । यसमा भक्तको पनि दोष छैन । राज्यको पनि दोष होइन । 

त्यसो भए न्यूनीकरणका आधारहरु के के हुन् त ?

सबैभन्दा पहिले, कुनै पनि कार्यक्रम वा अनुष्ठान हुँदा त्यसको स्पष्ट एजेन्डा तयार हुनुपर्छ । एजेण्डारहित कार्यक्रम बन्नुुहुन्न । जहाँतहीँ भागवत लाग्न पनि हुँदैन । यसको नियमन स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले पनि गर्नु पर्छ । भक्तको भावनालाई बटुलेर पैसा उठाउँदै हिनामिना गर्न पाइन्न भन्ने नियमन चाहिन्छ । आयोजकहरुले पनि खर्च न्यूनीकरणका विभिन्न उपायहरु अपनाउनु पर्छ । अर्को कुरा, ब्राह्मणहरुले पनि दक्षिणा तोकेर व्यवसायिक रुपमा आफूलाई अगाडि बढाउनु हुँदैन । अनुष्ठानलाई मूलतः ज्ञानसँगै जोड्नु पर्छ ।

अहिलेका युवा वर्गमा यसतर्फ विकर्षण किन बढेको छ भने हामीले धेरै कम पढेका गुरुहरुबाट यसको प्रयोग गर्‍यौं । अबका गुरुहरुले वैदिक दर्शनमात्रै नभएर विज्ञान पनि पढ्नु पर्‍यो । पूर्विय दर्शन मात्रै नभएर पश्चिमा दर्शन पनि पढ्नु पर्‍यो । अबका गुरुले बाइबल र कुरान पनि पढ्नु पर्‍यो र सबैलाई जोडेर समन्वयात्मक रुपमा प्रवचन दिनु पर्‍यो । यसरी नै हामीले अरुभन्दा भिन्न छाैँ पृथक छाैँ र श्रेष्ठ छौ भन्ने देखाउन सक्नु पर्छ । 

गुरु भनेको गुरुत्व हो । गुरु भनेको चेतना हो । जागृति हो । कपाल पालेर चन्दन लगाउँदैमा मात्र गुरु भइँदैन । गुरुमा ज्ञानको विहङ्गम सम्भावना र वृहत्तर सोच हुनुपर्छ । गुरु आवरण होइन, पुञ्ज हो । गुरु ज्ञानको शक्ति हो । र अर्को कुरो, यहाँ भक्त पनि सचेत हुनु पर्छ । गुरुले जे भन्छन्, भक्तले त्यसको पछाडि लाग्नु हुन्न । हेर्नुस्, हाम्रो पूर्विय दर्शन ज्ञान विज्ञानले सम्पन्न छ । यसको वैज्ञानिकीकरण गरेर, समयानुकूल व्यवहारिकीकरण गरी अगाडि लैजानु पर्दछ । 

धर्म र राजनीतिलाई कसरी हेर्नुहुन्छ ?

धर्ममा राजनीति हुनु हुँदैन । तर राजनीतिमा धर्म होइन, आध्यात्मको केही अंश हुनुपर्छ । एकजना पश्चिमा राजनीतिशास्त्रीले भन्नु भएको छ, ‘आध्यात्म बिनाको राजनीति अपाङ्ग हुन्छ’ । आध्यात्मलाई हामीले परम्परागतरुपमा मात्रै बुझ्यौं– पशुपति जाने, मन्दिर जाने, तीर्थ जाने, व्रत बस्ने, कर्मकाण्ड गर्ने, हवन र श्राद्ध गर्ने यस्तै । अधिकांश नेतामा पनि यही सोच छ ।

आध्यात्म भनेको तपाईँ भित्रको ब्रह्माण्डीय शक्ति हो । तपाइँ भित्रको चेतना हो । जागृति हो । मलाई लाग्छ, सम्भावनाको खोजी र यात्रा नै आध्यात्म हो । आध्यात्मले लिड गरेको व्यक्तिको व्यक्तित्व, मष्तिष्क र बुद्धि कहिले पनि पथभ्रष्ट हुँदैन । त्यसैले राजनीतिमा आध्यात्मको थोरै मात्र पनि अंश रह्यो भने नैतिकतायुक्त, निष्ठा, नियम, आचार संहिता अनि सदाचारयुक्त समाजको निर्माण हुन्छ । त्यो कुरालाई गान्धी र नेलशन मण्डेलाले पनि स्थापना गर्न खोज्नु भयो । अध्यात्ममा लागेको व्यक्ति निश्काम कर्मयोगी हुन्छ । मुलुकलाई त्यस्तै खालको राजनेता चाहिन्छ । तर धर्म र आध्यात्ममा राजनीति घुस्न हुँदैन । 

त्यसो भए हामीकहाँ के देखिन्छ ? 
हामीकहाँ अनावश्यकरुपमा धर्म र आध्यात्ममा राजनीतिक हस्तक्षेप र राजनेतामा आध्यात्मिक अंशको कमी देखिन्छ । ठ्याक्कै उल्टो पाएको छु मैले । 

हामीकहाँ कुनै बेला धर्म अफिम हो भनेर लाग्नेहरु नै धार्मिक क्रियाकलापहरुमा गएर जोडिएको आज देखिँदै छ ! तपाई के भन्नुहुन्छ यसलाई ? 

त्यो बेलाको जर्मनीको राज्य सत्ता र त्यहाँका पोप पादरीहरूले, चर्चका नायकहरुले जुन किसिमको शोषण गर्ने काम गरे, जनमानसमा जुन किसिमको विकृति विसंगति ल्याए, त्यो देखेर माक्र्सले ‘ए यो धर्म भनेको त अफिम पो रहेछ’ भन्ने अन्दाज गरे । अब दुई तीन सय वर्ष अगाडि मार्क्सले गरेको यो कुरालाई यहाँको भूगोलमा, यहाँको परिप्रेक्ष्यमा जडसुत्रवादी सिद्धान्तका साथ हेरिनु त्यति राम्रो हुँदैन । हो, विगतमा हाम्रै गुरुहरूको कर्मकाण्डी व्यवहार देखेर नेताहरुले ‘यो त अफिम पो रहेछ’ भनेर सोच्नु भएको होला । तर पछि विज्ञान विषय पढेर पनि पूर्विय दर्शन र पश्चिमा दर्शनलाई अध्ययन गरेका दीनबन्धु पोखरेल जस्ता पनि आज यस क्षेत्रमा लागेका छन् ।

मैले मार्क्सवाद पनि पढेको छु । अहिलेको विनिर्माणवाद पनि हेरेको छु मैले । यथार्थमा, पूर्विय दर्शन र पश्चिमा दर्शनको ज्ञान लिएर हाम्रो दर्शन श्रेष्ठ छ भन्ने पर्गेलेरै हामी यसको वकालत गर्दै अगाडि बढिरहेका छाैँ । त्यसैले अबका नेताहरुले पण्डितको चन्दन हेरेर वा लामाको बक्खुलाई मात्र हेरेर धर्म अफिम हो भन्नु भएन । यसभित्रको गहिराई र गहनतालाई बुझ्नु पर्छ नेताले । यतातिर ध्यान दिने हो भने कुनै पनि राजनेताले धर्म अफिम हो भनेर भन्ने छैनन् । 
अचेल कतिपय नेताहरूले ‘हामीले पूर्विय दर्शन नबुझेका रहेछौँ, यो बुझ्नु पर्ने रहेछ’ भन्दै आउनु भएको छ । संस्कृतलाई मृत भाषा भन्नेहरुले पनि संस्कृत पढाउनु पर्ने धारणा राख्दै आउनु भएको छ । जबकी युरोप र अमेरिकामा संस्कृतको पढाई हुँदैआएको छ ।

तर खै नेपालमा संस्कृतको पढाइ ?

हो । यही विषयलाई जगाउनका लागि पनि यस किसिमका अनुष्ठान गर्दै आएका हौं हामीले । यस्ता अनुष्ठानका माध्यमबाट धेरै नेताहरुलाई बोलाएर पूर्विय दर्शन यो हो है भनेर ज्ञान दिनु जरुरी छ । हाम्रो अनुष्ठान आध्यात्मिक ज्ञानका हिसाबले, पूर्विय दर्शनको सोच र चिन्तनका हिसाबले, प्रवचनका हिसाबले उत्कृष्ट रहेको छ । वास्तवमा, समृद्धिका लागि, वेद र बुद्धलाई विश्वमा पहिचान गराउनका लागि, हाम्रो शीर उँचो गर्नका लागि नै यो अनुष्ठानको आयोजना गरिएको हो । 

वाचनमा तपाईं प्रवीण मानिनुहुन्छ । यो कला नै हो ? 

हरेक विधामा कला भएन भने मानिस र सिंग र पुच्छर बिनाको पशु जस्तो हुन्छ । यो कलाका लागि साधना पनि चाहिन्छ । यो कलामा आन्तरिक जागरण पनि चाहिन्छ । नेपालमा पुराण वाचन गर्ने धेरै थिए । तर यही वाचन कलालाई प्रयोग गरेर नारायण गुरुले समाजका लागि योगदान दिनुभएको छ । अनेकौँ स्कूल, कलेज, अस्पतालका लागि आवश्यक रकम उठाउने काममा सहयोग गर्नु भएको छ । मैले नै पनि नेपालको ६८ जिल्लामा गएर यस किसिमका काम गरेको छु । हो, यो कलाका लागि साधना र संस्कार भने आवश्यक छ । 

आफूमा यो कला छ भन्ने कहिले महसुस गर्नु भयो ?

यो काम गर्दै जाँदा थाहा हुँदै गयो । सुरुमा कोही पनि यो गर्छु भनेर लाग्दैन । विस्तारै हुँदै जान्छ । राजनीतिमा पनि पहिले ख्यालख्यालमै सुरुआत हुन्छ । पछि प्रधानमन्त्री बनिन्छ । पाण्डित्याई पनि ख्यालख्यालमै सुरु हुन्छ । 

त्यसो भए, तपाईं राजनीतिमा लाग्ने कतिको सम्भावना छ ?

निश्चय पनि, मैले एउटा विचारवादको वकालत त गर्दै आएको नै छु । मैले एउटा विचारवादको प्रतिपादन पनि गर्न खोजेको छु । त्यो एउटा विशुद्ध गैर राजनीतिक विचारवाद हो । अबको समाज भौतिकवादी जडता र आध्यात्मवादी परम्परागत निष्ठाभन्दा माथि उठेर भौतिकवादलाई पनि अध्यात्मवादलाई पनि समायोजन गर्ने मध्यमार्गी खालको विचारवाद समाजमा स्थापित हुनुपर्छ ।

यही सोच राखेर, यसैको संयोजन गरेर विचारवाद समाजमा ल्याउन खोजेका छौ । त्यसले राजनीतिक रुप लेओस् भन्ने हाम्रो चाहना होइन । अहिलेको परिप्रेक्षमा म राजनीतिमा जान्छु भन्ने कल्पना पनि गरेको छैन । चाहना पनि छैन । यद्यपि, धर्मको वकालत, पूर्विय दर्शनको वकालत गर्दै जाँदा समाजले त्यो ठाउँमा पु¥याउँछ भने वा सामाजिक अभियन्ता या आध्यात्म नेतृत्वकर्ताको माग भयो भने त्यहाँ जानलाई कसैले पनि पछि हट्नु हुँदैन भन्ने मेरो धारणा छ । 

अहिलेलाई भने जागरणको सोच छ । जनजनमा गीताको ज्ञान बाँड्ने सोच छ । सकारात्मक सोचको विकास गर्ने सोच छ । त्यसैले ऐतिहासिक गीताज्ञान महानुष्ठान २०७६ को कार्यमा हामी सक्रिय रहेका छौ । र, यहीँबाट समस्त महानुभावहरुमा अनुष्ठानमा उपस्थितिका लागि हार्दिक आग्रह गर्दछौं ।

तस्बिरः सुरञ्जन घिमिरे 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad