मुटु रोगीलाई सडक ओछ्यान 

काठमाडौंमा एकजना मुटुका रोगी अस्पतालमा जँचाएपछि छोराले चलाएको मोटरसाइकलमा पछाडि बस्न नसकेर ट्याक्सी चढेर घर जाने क्रममा ट्याक्सीभित्रै बिरामी हुन्छन् । प्यासेन्जर बिरामी भएर छट्पटाएको देखेका ट्याक्सी ड्राइभर अस्पताल लैजाने कुरा सोच्न पनि सक्तैन । उसलाई आफ्नो मोटरभित्रै बिरामी व्यक्तिको ज्यान जाला र दोष आफ्नो टाउकोमा आउला भन्ने त्रासले घेर्छ । मानवीयता, धर्म, नैतिकता, करुणा, दया कुनै भावनाले उसलाई एकपल्ट मोटर दौडाएर कुनै अस्पताल लगिदिऊँ भन्ने सोच जन्माउन सक्तैन । सडकको एक छेउमा ट्याक्सी पार्क गरेर बेवारिस घाइते जनावरलाई झैँ उक्त बिरामी व्यक्तिलाई सडकमा छट्पटिन छोडिदिन्छ र आफू मोटर लिएर भाग्छ । 

राजधानीको एक मुख्य सडकमा सबैको आवतजावत भएको स्थानमा एक बिरामीलाई अस्पतालसम्म पनि नपुर्‍याईं सडकमा छाडेर भाग्ने कार्यले हाम्रो समाज कति अमानवीय, दुषित र गैरजिम्मेवार भएको छ भन्ने पुष्टि हुन्छ । 

हाम्रै कतिपय ट्याक्सी चालकले ट्याक्सीमा छुटेको ठूलै रकम आफैँले प्रहरीमा पुर्‍याएर इमानदारीको परिचय पनि दिएका छन् । दुःखका साथ भन्नुपर्छ यस्ता घटनाले नेपाली समाजले सकारात्मक केही सिकेको छैन । बरु, समाजमा भएका पछिल्ला केही घटनाले नेपाली समाजको मूल्य र मान्यतामा अत्यन्त ठूलो ह्रास आउँदै गएको देखिएको छ । 

संसारमा कुनै पनि देश किन विकसित भयो वा किन विकसित भएन भनेर अनेक प्रकारका सिद्धान्त प्रतिपादित गरिएका छन् । यस्ता सिद्धान्तले भौगोलिक, धार्मिक, राजनीतिक व्यवस्थाजस्ता अनेक अवस्थाका कारण विकास हुने वा नहुने कारण खोज्ने प्रयास गरेका छन् । तर, सामाजिक मूल्य र मान्यतामा आएको ह्रासका कारण आर्थिक विकास हुन्छ वा हुँदैन भनेर तथ्यगत रुपमा अहिलेसम्म कुनै खोज भएको देखिँदैन । वास्तवमा मूल्य र मान्यताको मापक बनाउने हो भने त्यस्तो मापनमा पचास प्रतिशत पनि नल्याउने कुनै पनि समाजमा निर्धक्कसँग आफ्नो अधिकारको प्रयोग गरेर जीवनलाई गति दिन सक्तैन । नेपालको सामाजिक मूल्य तथा मान्यता वास्तवमै निकै ओह्रालो लागेको कारणले यस देशमा कुनै पनि प्रकारको सकारात्मकताले जरो गाड्न नसकेको हो । 

हामी त्यस्तो देशमा बसोबास गरिरहेका छौँ जहाँ भ्रष्टाचार उन्मूलन गर्ने निकायका पदाधिकारी आफैँ भ्रष्टाचार गरेको आरोपमा कारबाहीमा परेका छन् । तर, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठक एउटै उदाहरण पक्कै पनि होइनन् अख्तियारमा बसेर भ्रष्टाचार गर्ने । निर्धक्क भन्न सकिन्छ करिब सबै आयुक्त उत्तिकै भ्रष्ट छन् तर पाठकले जस्तो तिनको गल्ती समातिएको छैन । तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले अख्तियारको डर देखाएर देशै हाँकिसकेका थिए । कसो अलिकति बढी घमण्ड गरेर विदेशबाटै नेतालाई कारबाही गर्न खोज्दा फालिए । उनले कारबाही गर्न खोजेका सांसद र नेता चोखा थिए भन्न खोजेको होइन तर उनले भ्रष्टाचार र भ्रष्टाचारीको माध्यमबाटै कार्यकारी प्रमुखभन्दा बढी शक्ति प्रयोग गर्न खोजेको पक्कै गलत थियो । तर, कार्की वा पाठकको बदमासी र असफलताबाट अन्य आयुक्तले केही सिके भनेर कसैले सोच्छ भने अर्को ठूलो गल्ती हुनेछ । अख्तियारदेखि मुटुका रोगीलाई सडकमा सुताउनेसम्ममा एउटै समस्या छ – त्यो हो नैतिक मूल्य र मान्यताको खडेरी । त्यस्तालाई पशुपतिमा चितामा सुतुन्जेल पनि नैतिक मूल्य र मान्यतामा सम्झौता गर्न हुँदैन, त्यसोगर्दा समाज बिग्रन्छ भन्ने सोच आउँदैन । 

भन्न लाज लाग्छ, तर सत्य के हो भने पदमा पुगेका धेरै व्यक्तिको शिक्षाको प्रमाणपत्रनै नक्कली छ । संवैधानिक आयोगमा अध्यक्ष बनाउने व्यक्तिको नागरिकता नै नक्कली छ भन्ने थाहा हुँदाहुँदै उनलाई नै अनेक तरिका अपनाएर सुनुवाइ समितिको बैठकै नबोलाएर पनि नियुक्त गरिन्छ । त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकले अर्काको थेसिस सारेको आरोप लाग्दालाग्दै खोजबिन नै नगरी उपकुलपति बनाइन्छ । किन ? किनभने जसले यो निर्णय गरेका हुन् उनलाई यस्ता प्रकारका अनैतिक कार्य कत्ति पनि असहज लाग्दैन । आफू पनि सबैथोक नक्कली बनाएर त्यहाँसम्म पुगेका व्यक्तिले शासन गरेपछि आफ्ना निकटकाले नक्कली नागरिकता, नक्कली थेसिसजस्तो बदमासी गरेको विषयलाई हाँसेर उडाउन सक्छ । 

यहाँ मूल्य र मान्यता स्वीकार गर्नु प्रगति पथमा पछि पर्नु हो । बाटोमा अर्कालाई मिचेर अघि बढ्न सक्नुपर्छ । गत शुक्रवार बानेश्वरमा एक भीआईपीको पछुवा सुरक्षा गाडीले एउटा स्कुटरलाई गलत ढंगले देब्रेबाट उछिनेर अझै पेलेर एउटा परिवार सवार सो स्कुटरलाई लडाएर गयो । ट्राफिकका जिम्मेवार अफिसर भन्छन् – त्यो ड्राइभरलाई कारबाही गर्नै परेन । किनभने ठूलो दूर्घटना भएन । जब ठूला दुर्घटना पर्दा त्यस्ता पदासीनकै छोरा, छोरी पर्छन् अनि त्यसबेला सानै दुर्घटना हुँदा मैले कारबाही गर्नुपर्थ्यो अनि ट्राफिक नियम पालन गर्ने सोच आउँथ्यो भन्ने सोच आएर के हुन्छ ? हवाई उड्डयनमा सुरक्षाका नियम अत्यन्त कडा ढंगले पालना गर्नुपर्छ भन्ने सोच नपुर्‍याउँदा पाथीभरामा कत्रो दुर्घटना हुन पुग्यो ? देशले हस्ती गुमायो । बेलैमा सोच नपुर्‍याउने हो भने अझै त्यस्ता घटना हुन्छन् । 

बानेश्वरमा भएको दुर्घटना कसैले खिचेको कारणले देखियो र सबैतिर भाइरल भयो । तर, काठमाडौंको सडकमा सवारी साधन चलाउने सबैलाई थाहा छ जति ठूलो भीआईपीको सुरक्षार्थ खटिएको अगुवा वा पछुवा भयो त्यो त्यति नै ठूलो उन्मत्त साँढेले झैँ सडकमा दायाँबायाँ गर्दै हुत्तिँदै हिँड्छ । मानौ, उसले सडकमा सुरक्षा दिनेमात्र होइन दायाँबायाँका सवारीलाई तर्साउने र अत्याउने जिम्मेवारी पनि पाएको छ । अनि भीआईपीलाई प्रभाव पार्नका लागि होला त्यस्ता मोटरभित्र बसेका बत्ती बल्ने डण्डा बोकेका प्रहरी सो डण्डा तेस्र्याउँदै ‘‘पर पर जा’’ भन्दै कराउँदै हुन्छन् । यस्ता अगुवापछुवा मोटर लिएर हिँड्ने भीआईपी र पशुपतिको भिडमा पुलिस लगाई सबलाई ठेलेर कसैसँग छुन नहुने भन्दै हिँड्ने पण्डालाई वरपरका जनताले उस्तै प्रकारले घृणा गर्छन् । तर, त्यो अधिकार प्राप्त गर्ने भीआईपीलाई पदबाट झेरको दिनमात्र थाहा हुन्छ जनता कति दमनमा बाँच्न बाध्य पारिएकाछन् भनेर । 

अहिलेको नेपाली समाजमा बाँचेको कोही पनि हाम्रो समाजमा देखिएको नैतिक ह्रासको जिम्मेवारीबाट भाग्न पाउँदैन । हामी हरेक व्यक्तिले कुनै न कुनै स्थानमा नैतिकताको पाठ बिर्सेर कुनै न कुनै प्रकारको सम्झौता गरेका छौँ । कोही सानै भए पनि उसका उसका माता, पिता वा दाजु, दिदीले पक्कै यस्तो काम गरेका छन् । कर नतिरेर होस्, घरको नक्सा पास नगरेर वा नक्कली काम गरेर होस्, सडकमा फोहोर फालेर होस्, जग्गा मिचेर होस् वा सडकमा नियम मिचेर । हामी सबैले सानो सानो गल्ती गर्दा बेवास्ता गर्दै गएको कारण नैतिकताको मूल्य र मान्यतामा क्रमशः ठूलो खाल्डो पर्दै गयो । एसईईमा प्रश्नपत्र बाहिरिन्छ तर त्यसलाई साधारण घटना मानिन्छ । आफ्ना सन्तानलाई चिट चोराउन बाबु आमा, दाइ सबै परीक्षा केन्द्रमा पुग्छौं अनि त्यो सन्तानले ठूलो भएर देशको नैतिक पतनलाई रोक्छ भन्ने आशा गर्छौँ । कस्तो विडम्बना । 

हामी सबै मुटुको रोग लागेको अवस्थामा सडकको ओछ्यान पाउँछौ कि भन्ने डरमा बाँचिरहेका छौँ । कुनै कथित ठूला मान्छेको ‘सवारी’ हुँदा सुरक्षा गाडीको चक्का मुनि पुगिन्छ कि भनेर त्रसित छौँ तर त्यतैतिर ओर्लदो समाजलाई सशक्त रुपमा ओट लगाउने प्रयास गर्नेतर्फ अझै सोचिरहेका छैनौ ।  

प्रतीक प्रधान

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ad