विचार
निशान्त खनाल
संयुक्त अधिराज्य बेलायतका जनताले जनमत संग्रहमा युरोपियन युनियन (ईयु) मा नरहने पक्षमा मतदान गरेपछि यसले संसारकै अर्थतन्त्र र राजनीतिमा हलचल पैदा गरेको छ । युरोपेली युनियनको निर्णयमा बेलायतको खासै प्रभाव नभएको, बेलायतले ईयुमा गरेको लगानीको अनुपातमा फाइदा नभएको, ईयुको व्यापार नीति बेलायत नुकूल नरहेको जस्ता विषयमा बेलायतभित्र बहस भइरहेका थियो । यही बहसको निर्क्योलका लागि भएको जनमत संग्रहको परिणामस्वरूप बेलायत अब ईयु सदस्य नरहने भएको हो । बेलायतका जनताको यस निर्णयले अहिले समग्र विश्वमा क्षेत्रीय एकताका बारे प्रश्न उठेको छ । अबको विकास क्षेत्रीय संगठनको माध्यमबाट हुनुपर्छ भनेर विश्वभरमा ससाना क्षेत्रीय संगठन गठन हुँदैगर्दा बेलायती जनताको यस्तो जनादेशबाट विश्व अचम्ममा परेको छ ।
विश्वव्यापी असर
बेलायतले ईयुबाट निस्किने निर्णय गर्नासाथ विश्वबजारमा पाउन्डको मूल्य ३१ वर्षकै सबैभन्दा कम भएको छ भने युरोपेली साझा मुद्रा युरोको मूल्य पनि घटेको छ । यसरी पाउन्ड र युरोको अवमूल्यन हुँदा अमेरिकी डलरको भाउ बढेको छ र त्यसले गर्दा सुनको पिन मूल्य बढेको छ । युरोपमा देखिएको यो अस्थिरताले गर्दा लगानीकर्ताहरू अहिले पाउन्ड र युरो बेचेर घट्दो मूल्यको जोखिम बाट जोगिन सुन र डलरमा लगानी गर्न थालेका छन् । विश्वका ठूला सेयर बजारसमेत ओरालो लागेका छन् ।
बेलायती जनताको यस निर्णयले तत्कालका लागि समग्र विश्व अर्थतन्त्र प्रभावित भएको छ । यसले विश्व भूराजनीति र अर्थतन्त्रमा दीर्घकालीन असर पार्ने देखिन्छ । क्षेत्रीय संगठन मध्यमा राम्रो उदहारण बनेको युरेपेली युनियनमा ग्रिसको संकटपछि बेलायतको यस किसिमको निर्णयले अन्य क्षेत्रीय संगठनको औचित्य र भविष्यमा समेत प्रश्न उठ्न थालेको हो ।
नेपाल र दक्षिण एसियामा प्रभाव
बेलायत नेपालको सबैभन्दा पुरानो कूटनीतिक सम्बन्ध रहेको मुलुक हो भने विकासको एएटा प्रमुख साझेदार पनि हो । नेपालको विकासमा बेलायतले युरोपेली युनियनसँग बहुपक्षीय र आफैँ दुईपक्षीय सहयोग गर्दैआएको छ । युरोपेली युनियनबाट बेलायत अलग्गिएसँगै उसले लिने बैदेशिक नीति, वदेशिक सहयोग नीति कस्तो हुने छ भन्ने कुराले नेपालजस्तो मुलुकमा ठूलो प्रभाव पर्नेछ ।
अहिले देखिएको जनमतको परिणामका आधारमा बेलायतले अब अपनाउने आप्रवास नीति र उसले अन्य मुलुकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउनसक्ने अनुमान गर्न सकिन्छ । यसले नेपालमा आउने रेमिट्यान्समा केही प्रभाव पार्न सक्नेछ। यो संकटसँगै बेलायतमा बसोवास गरिरहेका करिब ९५ हजार नेपाली मूलका व्यक्तिले पठाउने रेमिट्यान्स घट्न सक्छ । । साथै डलरको मूल्य वृद्धिसँगै नेपालले गर्ने आयात महँगो हुनेछ । यसैगरी विश्व बजारमा डलरको मूल्य वृद्धि हुँदा नेपालले तिर्नुपर्ने वदेशिक ऋणमा समेत प्रभाव पार्नेछ भने आम्दानीको कमीले गर्दा नेपाल आउने बेलायती पर्यटकको संख्या पनि घट्न सक्नेछ। अर्कातिर, ईयुबाट अलग्गिएर बेलायतले भारत र चीनसँग आफ्नो व्यापार बढायो भने यसको प्रतक्ष्य फाइदा लिने अवसर नेपाललाई प्राप्त हुनेछ र ईयुबाट अलग्गिएर बेलयातले लिने नेपाल नीतिले यी सब कुरामा प्रमुख भूमिका राख्छन् ।
युरोपेली युनियनबाट बेलायत बाहिर निस्कँदा हुने तत्कालीन प्रभाव भने नेपालले प्राप्त गर्ने वैदेशिक सहयोगको परिमाणमा हुने परिवर्तन नै हो । बेलायतले आर्थिकरूपमा आफूलाई सबल साबित गर्न सकेन वा उसको आर्थिक स्थिति नराम्रो हुदै गयो भने द्विपक्षीय सहयोग एवं नेपालमा बेलायतबाट हुने लगानीमा असर पर्ने सम्भावना हुन्छ ।
बेलायत नेपाललगायात दक्षिण एसियाका अन्य मुलुकको पनि प्रमुख विकास साझेदार हो । यो घटनाले बेलायत र युरोपेली युनियनको आर्थिक र राजनीतिक अवस्थामा नकारात्मक प्रभाव पर्ने देखिन्छ र आफ्नै अर्थतन्त्र र राजनीतिमा ध्यान दिनुपर्ने हुदा यसले गर्दा समग्र दक्षिण एसियामा उसले दिने सहयोग कम हुने सम्भावना छ ।
क्षेत्रीय सहयोगमा धक्का
ब्रेक्जिटसँगै दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को भविष्यका बारे पनि प्रश्न उठेको छ । दक्षिण एसियामा एक सार्क नीतिअन्तर्गत परियोजना तर्जुमा हुँदैगर्दा सार्कप्रति यस क्षेत्रका जनताको राय के छ भन्ने प्रश्न पिन उठेको छ । सार्क निष्प्रभावी भयो यसको औचित्य छैन भन्ने मतलाई बेलायती जनताको यो कदमले बल पुर्याउने देखिन्छ । फलस्वरूप,सार्कमा समेत यस किसिमको विवाद निस्किन सक्ने देखिन्छ। यो समग्र क्षेत्रीयतालाई एउटा ठुलो चुनौती हुने देखिन्छ। ब्रेकजिट संगै क्षेत्रीयताका पक्षमा विश्वभर भइरहेका प्रयास केही कम्जोर हुने छन्र । त्यसको प्रभाव सार्क जस्ता क्षेत्रमा झनै पर्ने छ ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७३ १३:१०
प्रतिक्रिया दिनुहोस्