विचार
टर्कीमा सैनिक विद्रोह सफल भए पनि वा नभए पनि एउटा अपेक्षित प्रवृत्ति देखिने गरेको छ । प्रत्येक सैनिक विद्रोहपछि कमाल अतातुर्कको धर्मनिरपेक्ष टर्कीको अवधारणा विरोधी राजनितिक समूहहरू विशेषगरी इस्लामी कट्टरपन्थीको शक्ति बढ्ने गरेको छ । तनाव बढ्छ र धेरैजसो सडकमा हिंसा पनि सँगसँगै चर्किन्छ । त्यसपछि सेनाले शान्ति व्यवस्था बनाइराख्ने र धर्मनिरपेक्षताका सिद्धान्त जोगाउने संवैधानिक अधिकार प्रयोग गरेको बहानामा हस्तक्षेप गर्ने गर्छ ।
यसपटक भने अलि फरक भयो । धर्मनिरपेक्ष अधिकृतहरूलाई छानीछानी झुटो अभियोगमा कारबाही गरेपछि राष्ट्रपति रेजेप तैयप एर्दोआन सेनाको उच्च तहमा आफ्ना मानिसहरूलाई राख्न सफल भएका छन् । मुलुक आतंकवादी हमलाहरूको शृंखलाबाट आक्रान्त भएको र अर्थतन्त्र खस्कँदै गएको छ भए पनि सेनामा एर्दोआनका विरुद्ध कुनै असन्तुष्टि थिएन । बरु, एर्दोआनको रुस र इजरायलसँगको मित्रता र सिरियाली गृहयुद्धबाट बिस्तारै फिर्ता हुने चाहनाका कारण टर्कीका उच्च सैनिक अधिकारी खुसी नै थिए ।
यसैगरी, विद्रोहीहरूको कच्चा व्यवहार पनि कम रहस्यमय छैन । तिनले सेना प्रमुखलाई त कब्जामा लिए तर एर्दोआन वा अरू कुनै उच्चपदस्थ राजनीतिक नेतृत्वलाई पक्रने खासै सार्थक प्रयत्न गरेनन् । प्रमुख टेलिभिजन च्यानललाई घन्टौंसम्म नियमित प्रसारण गर्न दिइयो र सैनिकहरू जब स्टुडियोमा देखा परे त्यतिबेला तिनको अक्षमता हास्यास्पद थियो ।
हवाईजहाजहरूबाट नागरिकमाथि र संसद्मा बम वर्षा गरियो । कुर्दिस विद्रोहीको क्षेत्रबाहिर टर्कीको सेनाले यस्तो कार्य गर्दैनथियो । यो उसको प्रकृतिविपरीतको अभ्यास थियो । सामाजिक सञ्जालमा अलमिलएका उद्देश्यहीन सैनिकहरूलाई गैरसैनिक भिडले ट्यांकबाट बाहिर तानेर हतियार खोसेको वा अझ खराब अवस्थाका चित्र व्यापक भएका थिए । सैनिक विद्रोहलाई घृणा गरे पनि आफ्ना सिपाहीहरूलाई माया गर्ने एउटा मुलुकमा यस्तो दृश्य देख्ने कल्पना पनि मैले कहिल्यै गरेको थिइन ।
एर्दोआनले पुराना मित्र तर हाल उनका कट्टर विरोधी फेतुल्लाह गुलेनमाथि तुरुन्तै दोष लगाउन भ्याए । मुस्लिम धर्म गुरु गुलेन अहिले अमेरिकाको फिलाडेल्फियाको बाहिरी भेगबाट व्यापक इस्लामी आन्दोलन सञ्चालन गरिरहेका छन् । यस आरोपलाई पत्याउने केही आधार भए पनि यो उति पत्यारिलो देखिँदैन । सेनामा गुलिएनवादीको प्रभावकारी उपस्थिति छ ( नहुँदो हो त उच्च सैनिक अधिकारीविरुद्ध सरकारका पहिला कदमहरू अर्थात् एरगेनेकोन र स्लेजहम्मर विरुद्धका मुद्दाहरू सुरु नै हुनेथिएनन्) । वास्तवमा, प्रहरी, न्यायपालिका, र सञ्चारमाध्यमबाट गुलेनको आन्दोलनका समर्थकहरूलाई एर्दोआनले समाप्त पारिसकेकाले टर्कीमा गुलेनको प्रभाव बलियो भएको बाँकी संस्था सेना नै हो ।
एर्दोआन सेनामा रहेका गुलेनवादीहरूविरुद्ध ठूलै कारबाहीको तयारीमा रहेको सबैलाई थाहा थियो । पहिलेका मुद्दाहरूमा प्रमाण नष्ट गराएको अभियोगमा केही सैनिक अधिकारीहरू गिरफ्तार गरिइसकेका थिए भने आगामी महिना हुने सर्वोच्च सैनिक परिषद्को बैठकमा गुलेन समर्थक अधिकृतहरूमाथि कारबाहीका लागि ठूलो तयारी भएको हल्ला पनि चलेको थियो ।
गुलेनवादीहरूका लागि कारण थियो र विद्रोहका लागि रोजिएको समयले पनि उनीहरूको संलग्नताको सन्देह बढाउँछ । यो ठूलै विसंगति हो - धर्मनिरपेक्षतावादीहरूबाट सैनिक विद्रोह हुने डर एर्दोआनले लामो समयदेखि मान्दै आएका भए पनि अन्ततः विद्रोह त उनैका कुनै बेलामा सहयोगीबाट पो भयो । एर्दोआनविरुद्ध सैनिक विद्रोहको कल्पनालाई तिनले बढाइचढाइ गर्दै जो आएका थिए । तैपनि, रक्तपातपूर्ण सैनिक विद्रोह गुलेनवादी अभियानको कार्यशैलीअनुरूप हुँदैन । गुलेनवादीहरू प्रत्यक्ष सैनिक कारबाही वा हिंसाभन्दा पर्दापछाडिबाट काम गर्न रुचाउँछन् । टर्कीमा प्रभाव सकिन लागेका अवस्थामा यो सैनिक विद्रोह त्यस निराश समूहको अन्तिम प्रयत्न हुनसक्छ । तर, यस घटनाका बारेमा यति धेरै अनुत्तरित प्रश्न रहेका सन्दर्भमा आउँदा दिनमा आश्चर्यजनक मोड र रंग देखिए भने अनौठो हुनेछैन ।
अब के हुन्छ भन्नेमा भने उति अनिश्चितता छैन । यो सैनिक विद्रोहको प्रयासले एर्दोआनको दुष्टता अझ बढाउने छ र गुलेनवादी अभियानविरुद्ध व्यापक कारबाही हुनेछ । सेना र अरू सबै सेवाबाट हजारौं जनालाई बर्खास्त गरिनेछ, कैद गरिनेछ र कानुनको मर्यादा वा अपराधी सिद्ध नहुँदासम्म निर्दोष मान्ने प्राकृतिक न्यायको सिद्धान्तको सम्मान नगरी सजाय दिइनेछ । विद्रोहीहरूलाई मृत्युदण्डको सजाय हुने व्यवस्था गरिनुपर्छ भन्ने माग अहिले नै निकै सशक्तरूपमा उठाइएको छ । समातिएका सैनिकमाथि भिडले गरेको उद्दण्ड व्यवहारले नै टर्कीमा कानुनी संरक्षणका विधि र प्रक्रिया कमजोर बनाएने पूर्वसंकेत गरेको छ ।
सैनिक विद्रोह अर्थतन्त्रका लागि पनि दुर्दिनकै सूचक हो । रुस र इजरायलसँग हालै एर्दोआनको घाँटी जोडाइ पक्कै पनि विदेशी पर्यटक र पुँजीको प्रवाह पुनः सुरु गराउने इच्छाबाट अभिप्रेरित रहेको छ । तर, अब यस्तो अपेक्षा पूरा हुने सम्भावना बिरलै छ । यस असफल विद्रोहबाट मुलुकको राजनीतिक विभाजन अधिकांश निराशावादी पर्यवेक्षकले सोचेभन्दा पनि बढी गहिरो हुन पुगेको स्पष्ट भएको छ । यस्तो वातावरणले कुनै लगानीकर्ता वा पर्यटकलाई पक्कै पनि आकर्षण गर्दैन ।
तर, राजनीतिकरूपमा भने असफल विद्रोह एर्दोआनका लागि भने वरदानै हो । उनको नियन्त्रण स्थापित हुने वा नहुने स्थिति स्पष्ट भइनसक्तै उनले भने थिए - यो विप्लव भगवानले हामीलाई दिएको वरदान हो । किनभने सेनामा शुद्धीकरणका लागि यो एउटा कारण बन्नेछ । अब विद्रोह त विफल भइसकेको छ । अब संविधान संशोधन गरेर राष्ट्रपतिका हातमा शक्ति केन्द्रित गरी आफू अझ शक्तिशाली बन्ने उनको चाहना पूरा गर्ने राजनीतिक शक्ति पनि उनलाई प्राप्त भएको छ ।
सैनिक विद्रोहको विफलताले एर्दोआनको अधिनायकवाद बढाउनेछ भने टर्कीको लोकतन्त्रको भलो भने गर्नेछैन । तर, जे भए पनि विद्रोह सफल भएको भए लोकतन्त्रमाथि पक्कै पनि कडा चोट लाग्नेथियो र त्यसको दूरगामी असर पर्ने थियो । यसले कम्तीमा खुसी हुनुपर्ने केही कारण चाहिँ दिएको छ ।
प्राध्यापक, फोर्ड फाउन्डेसन ।
© Project Syndicate
प्रकाशित मिति: मंगलबार, साउन ४, २०७३ ०८:१०
प्रतिक्रिया दिनुहोस्