site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
बीपी पुत्रमा राजा मोह

प्रतीक प्रधान

राजा वीरेन्द्र र उनको परिवारका १० जना सदस्यको एकै ठाउँमा उनकै छोरा दीपेन्द्रद्वारा गरिएको भनिएको संदेहास्पद हत्याको गत जेठ १९ गते १५ वर्ष पूरा भएको छ । यो दुर्घटनाको संझनाका कारण गएको साता केही नेपाली मनका तार झंकृत भए राजा वीरेन्द्रलाई सम्झिएर । धेरैले राजालाई मात्र होइन राजतन्त्रलाई समेत ‘मिस’ गरे । एकपल्ट फेरि नेपालमा राजतन्त्रनै चाहिन्छ भन्नेहरूले यसो टाउको उचाले । अनि राजा नभएपनि नेपाल जस्तो देशमा ‘दयालु तानाशाह’ चाहिन्छ भन्नेहरू सलबलाए । विकासका लागि तानाशाह नै चाहिन्छ भन्नेहरूले फेरि सिंगापुरका ली क्वान युलाई बौराए, मलेसियाका महाथिर मोहम्मदको सम्झना गरे, दक्षिण कोरियाका पार्क चुङ हीलाई उदाहरण बनाए । नेपालमा फेरी राजतन्त्र आउनसक्ने संभावन इंगित गरे । मनको लड्डु घिउसँग खाए ।

बाघ शाकाहारी भइदिएको भए, साङ्ला घीनलाग्दो नभइदिएको भए, बिच्छीले विष नफैलाउने भए, बाँदरले उपद्रो नगर्ने भए, जुकाले रगत नचुस्ने भए त संसारै अर्कै हुन्थ्यो । मान्छेले कुकुर पाल्न छाडेर बाघै पाल्थे, साङ्लालाई कोठामा सजाउँथे, बिच्छीलाई खल्तीमा राखेर हिँड्थे, बाँदरलाई साथी बनाउँथे अनि जुका लाग्ला भन्ने डरै मान्दैनथिए । यस्ता कुरा कहिलेकाहीँ सर्कसमा सम्भव हुन सक्छन् । तर, जसरी सहरमा देखाइने सर्कसको उदाहरण दिएर जंगलमा बाँच्न सकिँदैन त्यसैगरी एक दुई राम्रा देशको उदाहरणले सबै देशमा तानाशाही र राजतन्त्रले स्थायित्व र विकास हुन्छ भन्न मिल्दैन ।

Agni Group

दयालु तानाशाहका कारण देश विकास हुन्थ्यो भने राजा महेन्द्रभन्दा, हार्वड र इटन कलेजका विद्यार्थी रहेका उनका छोरा राजा वीरेन्द्रका पालामा झन् धेरै विकास हुनुपथ्र्याे । नेपालको इतिहासमै सबैभन्दा लामो समय राजा भएका वीरेन्द्रको पालामा किन विकास हुन सकेन ? दयालु त तिनी थिए नै, २०२८ सालदेखि २०४६ सालसम्म तानाशाह पनि त थिए । नेपाललाई पछि पारेर अघि बढेका सिंगापुर र दक्षिण कोरियाको उदाहरण त्यही ताकाकै हो । त्यसैले कुनै अफ्रिकी देशका तानाशाहको उदाहरण दिएर नेपालमा तानाशाहीको विरोध गर्नै पर्दैन, राजा वीरेन्द्रको काम सम्झे पर्याप्त हुन्छ । कति बाटो बन्यो ? कति साक्षरता बढ्यो? कति प्रतिशत जनता गरिबीको रेखाबाट माथि आए? उद्योग कति बढे? कृषिमा के प्रगति भयो?

यही प्रश्न २०४६ पछिको नेपाली कांग्रेस र २०६३ पछिका कम्युनिस्ट पार्टीहरूलाई पनि गर्न सकिन्छ । लोकतन्त्रमा पनि देश विकास भएन भनेर तर्क राख्न सकिन्छ । तर लोकतन्त्रमा विकासको दर तानाशाहीमा जत्तिकै भयो भनेर न्यून आंकलन नै गर्ने हो भने पनि यही अवधिमा सम्पूर्ण नेपाली रैतीबाट अधिकार सम्पन्न जनताका परिणत भएका छन् । सबैतिर भ्रष्टाचार व्याप्त छ तथापि भ्रष्टाचारको विरोध गर्न छुट पनि छ र भएको पनि छ । सर्वत्र राजनीतिकरण गरिएको छ तर अझै पनि सानो कोठे समूहबाट हुने राष्ट्रको स्रोतको बाँडफाँटमा धेरै जनताको संलग्नता छ । जे होस्, यस्तो अवस्था प्राप्त भएको छ जहाँबाट स्थायित्व र विकासमा पुग्न सकिन्छ, गलत तत्वलाई जनताले सत्ताच्यूत गर्न सक्छन् ।
यस्तो अवस्थामा राप्रपा, राप्रपा नेपाल तथा वा तुलसी गिरी प्रवृतिले नेपालमा राजतन्त्र चाहिन्छ भनेर बोलेका भए वा जुलुसै निकालेका भए पनि त्यस विषयमा बाह्रखरीका पाठकको ध्यान आकृष्ट गर्न जरुरत हुनेथिएने । तर अहिले राप्रपा नेपालले पनि छाडिसकेको राजतन्त्रको पुनस्र्थापनाको विषयलाई नेपाली कांग्रेसका नेताले उचालेर लैजाने प्रयास गर्दैछन्, लोकतन्त्रका लागि त्यसभन्दा दुःखद समाचार अर्को हुनसक्दैन ।

Global Ime bank

कांग्रेस नेतामा पनि खुमबहादुर खड्का प्रवृतिलाई कसैले वास्ता गरेका छैनन् । तर दुःख कुरो त के भएको छ भने जुन राजतन्त्रले यस देशका सबैभन्दा प्रखर जननेता बिपी कोइरालालाई मृत्युको मुखमा पुर्यायो, अहिले तिनै नेताका छोरा राजाका पक्षपोषक भएर निस्केका छन् । जेठा पुत्र प्रकाश कोइरालाले बाउको इज्जतै फाले भनेर चित्त बुझाएका नेपाली कांग्रेसका कार्यकर्ताले कान्छा छोरा डा. शशांक कोइरालालाई निर्वाचित महामन्त्री बनाए तर उनी पनि विस्तारै ठूला दाइको बाटोमा पुग्दैछन् । शशांकमात्र होइन अर्का प्रखर बुद्धिजीवी नेता तथा बीपीका भतिजा डा. शेखर कोइराला पनि बिस्तारै धर्मको बाटो समाउँदै राजतन्त्रको सपना देख्न थालेका छन् ।

यी राजतन्त्र र धर्म सापेक्षताका पिठाधीशलाई सोध्नुपर्ने – बिपीले कहिले राजालाई समर्थन गरे ? विसं २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल प्रवेश गर्दा विश्वेश्वरप्रसाद कोइरालाले के भनेका थिए र त्यसबेलाको अन्तर्राष्ट्रिय अवस्था कस्तो थियो भन्नेसमेत मनन नगरेर बीपीले राजाको विरोध गरेका थिएनन् भन्नु आफैँमा गलत तर्क हो । बीपीले राष्ट्रिय शक्तिहरूबीचको मिलापको कुरा गरेका थिए । त्यसबेला राजा र जनता राष्ट्रिय शक्तिका प्रतीक थिए तर २०६३ सालपछिका राजा राष्ट्रिय शक्ति हुन् त ? विसं २०५८ सालका राजा केही कारणले राष्ट्रिय शक्ति थिए । किनभने उनको मृत्युको शोकमा कफ्र्युका बीचपनि जनता सडकमा ओर्लेका थिए । तर, २०६५ साल जेठ १५ गते राजतन्त्र नै सकिँदा पनि जनता किन सडकमा ओर्लेनन् ? किनभने त्यसबेला राजा राष्ट्रिय शक्ति थिएनन् ।

राजा शक्ति नै भए पनि एकजना लोकतन्त्रवादीले कुनै पनि प्रकारको तानाशाही प्रवृत्तिलाई कहिल्यै समर्थन गर्न सक्दैन । जनताको अधिकारका लागि लड्नुपर्नेले जनतालाई रैती र दास बनाउने शक्तिलाई अनेकौं कारण देखाएर समर्थन गर्नु पद लोलुपता र पाखण्डको पराकाष्ठा हो । अहिले नातावाद, कृपावाद र भ्रष्टाचारको ठूलो हुन्डरी चलेको भए पनि जनताले के बुझ्नुपर्छ भने बाउबाट छोरामा शक्ति हस्तान्तरण हुने व्यवस्थामा यस्ता समस्याको ज्वालामुखी नै फुटेका हुन्छन् । तर राजतन्त्र वा तानाशाहीमा शक्तिको रापले पोलिने डरले जनताभने मूकदर्शक भएर बस्छन् ।

जनता माझ राजतन्त्र लोकप्रिय भएकै बखत पनि राजालाई ‘ठाउँ’मा राख्न खोज्ने पिताजीका सन्तानले बुझ्नुपर्छ किन उनले त्यसबेला समेत राजाको अधिकार बिस्तारै खुम्चाउन खोजेका थिए ? बीपीको समयको शीतयुद्धमा रसियाले अफगानिस्तान कब्जा गरेको थियो, भारतले सिक्किम खाइसकेको थियो, पाकिस्तानलाई दुई टुक्रा बनाइएको थियो र नेपाललाई कुनै प्रकारले अधिग्रहण गरेको भए पनि विश्व समुदाय नबोल्ने परिस्थिति थियो ।

कुनैबेला भारतले आफ्नो देश खान्छ भन्ने डरले बीपी राष्ट्रिय शक्तिको मेलमिलापको नारा लिएर देश खोज्दै आएका थिए र राजाको मूर्खताका कारण आफ्नो जीवनकै आहुति दिए । अहिले भारतले नेपालमा धर्म सापेक्षता र ‘बेबी किङ’ चाहन्छ भनेर तीनै सिद्धान्ततिर लहसिएका कोइराला परिवारका बाँकी बीउ देख्दा कताकता श्री कृष्णका सन्तानको किन विनाश भएछ भन्ने प्रश्नको उत्तर फेला परेझैँ लाग्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ७, २०७३  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC