
काठमाडौं । भारतीय अर्बपति गौतम अडानीले सार्वजनिक निष्कासन (एफपीओ)मार्फत उठाएको दुई अर्ब अमेरिकी डलर लगानीकर्तालाई फिर्ता गर्ने भएका छन् ।
अमेरिकी रिसर्च कम्पनी हिन्डनबर्गले अडानीले सेयर बजारको मूल्य कृत्रिम रूपमा बढाएको र ८० प्रतिशत वास्तविकभन्दा मूल्य बढी भएको उल्लेख गरेको थियो ।
हिन्डनबर्गको रिसर्च आएको एक साताभित्रमा अडानीले व्यक्तिगत रूपमा करिब ५० अर्ब डलर सम्पत्ति गुमाएका छन् । उनका कम्पनीहरूको बजार पुँजीकरण मात्र १०० अर्ब डलरभन्दा बढीले घटेको छ ।
अडानी इन्टरप्राइजेजले सार्वजनिक गरेको एफपीओ बिक्री नहुने अनुमान गरिए पनि अन्तिम समयमा आश्चार्यजनक ढंगले बिक्री भएको थियो । एफपीओ बिक्री भएको भोलिपल्ट नै सेयर बजारमा अडानी इन्टरप्राइजेजको सेयर मूल्य २७ प्रतिशतले घटेको थियो ।
बुधबार राति भिडियोमार्फत सम्बोधन गर्दै अडानीले बजारको उतारचढावका कारण लगानीकर्तालाई पैसा फिर्ता गर्ने निर्णय गरेको जानकारी दिए । उनले ग्रुपअन्तर्गतका कम्पनीको नाफा राम्रो रहेको र कम्पनीमा समस्या नभएको दाबी गरे ।
हिन्डनबर्गको रिसर्च रिपोर्ट आउनुअघि विश्वका चौथो धनी व्यक्ति रहेका अडानी १६औँ स्थानमा पुगेका छन् । भारत तथा एसियाकै धनी व्यक्ति रहेका अडानीको स्थान खोसिएको छ । अब एसियाको धनी व्यक्तिमा मुकेश अम्बानी रहेका छन् ।