site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Ghorahi CementGhorahi Cement
कांग्रेस नसुध्रिए सकिन्छ रे !

‘ठूलो पार्टी भएर पनि विपक्ष’मा पुग्नु परेकाेमा नेपाली कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुक चिन्तामा छन् । तीमध्ये अधिकांशले सभापति शेरबहादुर देउवाकै कारण पार्टी विपक्षमा पुगेकाे आक्रोश मिश्रित गुनासाे गरिरहेका छन् । सामाजिक सञ्जालले नेताका सामु बक नफुट्नेले पनि सजिलै भडाँस पोख्न सकेका छन् । यसले कुण्ठाको पनि विरेचन हुन्छ होला ।

सभापति देउवाविरुद्ध यसरी आक्रोश पोखिन थालेपछि उनकाे प्रतिरक्षामा पनि एउटा जमात लागिसकेको देखिन्छ । तीमध्ये पनि केहीले देउवा होइन उनका आसेपासे र पत्नी दोषी हुन् भन्न थालेका रहेछन् । स्वाभाविक पनि हो । अरूसँग जुध्नुपर्दा त बाझ्न नछाड्ने कांग्रेसीहरू मुखैमा आएको सत्ता गुमाउनु पर्दा यति पनि छटपटाएनन् भने पो अस्वाभाविक हुन्थ्यो ! 

आक्रोश, आक्रमण र प्रतिरक्षामा नलाग्ने केही कांग्रेसजन भने पार्टी देउवाकाे नेतृत्वमा सरकारमा जान नसकेकोमा ‘अनुभव’ गर्नेहरू पनि  रहेछन् । त्यसरी हेर्नेहरूमध्ये एकजनाले भने - सत्तामा गएर उनीहरू हुँदो नहुँदो गर्छन् । जनताको गाली हामीले सुन्नुपर्छ । सिङ्गो कांग्रेस पार्टीलाई गाली गरेको सुन्नुपर्दा मन कुँडिदो रहेछ । नेतृत्व परिवर्तन नहुँदासम्म सत्तामा नगएकै बेस ! अब पनि नसुध्रिए कांग्रेस सकिन्छ भन्ने चेत पलाउँछ कि !

Agni Group

जस्ले जे भने पनि कांग्रेस हालका लागि सत्ताबाट बाहिर भएको छ । अहिलेसम्म कसैले ‘ आउँदो ५० वर्ष’ नेपाली कांग्रेस सत्तामा पुग्दैन भनिसकेका छैनन् । तै पनि, अनुदार अधिनायकवादी शक्ति यसरी नै एकजुट हुने क्रम रहिरह्यो भने कांग्रेस सजिलै सत्तामा जान सक्तैन । यद्यपि, अहिलेको गठबन्धन पनि छिटै र सजिलै भत्कन नसक्ने ठान्नु पनि मूर्खता नै हुन्छ ।

पार्टीको चरित्र र विधानमा बेमेल 
समस्या मूलतः विधानविपरीत पार्टी सञ्चालन गर्दा उत्पन्न भएको हो । नेपाली कांग्रेसकाे विधान संगठनको प्रकृति अनुकूल छैन । त्यसमाथि पार्टी सभापतिले नै विधान पालना गर्दैनन् । पार्टीको चुनाव जित्न नसक्ने कथित ‘वरिष्ठ’हरू कुनै न कुनै नाम र निहुँमा ‘प्रभावशाली’ नेता कहलिन र वैधानिक पदाधिकारीलाई छायामा राख्न चाहन्छन् । यो कथित पूर्वपदाधिकारीको बैठक बसेर निर्णय गर्ने अभ्यास निर्वाचित प्रतिनिधिलाई कमजोर बनाउने षड्यन्त्र नै हो । धेरै अगतिला निर्णय यिनैले गरेका छन् ।  

Global Ime bank

पार्टीका अधिकांश निर्णय केन्द्रीय समितिबाहिरै तय हुन्छ । महासमिति त सितिमिति बोलाउनै खोजिँदैन । महाधिवेशन चुनावमा सीमित हुन्छ । विधानकाे बेवास्ता गर्ने वा विधान मिच्न नहिचकिचाउने यही अभ्यासले अहिलेजस्ता दुर्घटना भइरहन्छन् र जिम्मेवारी पनि कसैले लिनुपर्दैन ।

सुध्रिने हो भने कांग्रेसले कि त आफ्नो चरित्रअनुसार जनाधारित (मास बेस्ड) दलकाे जस्ताे सभापतिकाे निर्वाचन गरेर अरू नेताको जिम्मामा दिनुपर्छ । उदार लोकतान्त्रिक दलहरू जनाधारित प्रकृतिका हुन्छन् । तिनकाे संगठन संरचना र अभ्यास नेतामा आधारित हुन्छ । नेपाली कांग्रेसले पनि २०४८ मा विधान संशोधन नगर्दासम्म त्यही संरचना अपनाएको थियो । पार्टीको नेताकाे निर्वाचनमा सकेसम्म धेरै सदस्य सहभागी हुने तर एकैजना नेताले पार्टी हाँक्ने गरेको देखिन्छ । 

नेपाली कांग्रेसमै पनि कृष्णप्रसाद भट्टराईकै पालासम्म पनि विधान त त्यस्तै थियो तर केन्द्रीय समितिको गठनमा बिरलै विवाद सुनिन्थ्यो । जति बेला सदस्यहरूको निर्वाचन सुरु भयो अनि चक्र बास्तोला, बलदेव मजगैयाँहरू हार्न थाले । धन्न, भीमबहादुर तामाङ, शैलजा आचार्य सदस्यको चुनाव नहारी बिदा भए ।  

जनाधारित दलका नेता छान्न भने निर्वाचक मण्डल बढी नै फराकिलो बनाउनुपर्छ । क्रियाशील सदस्यता निश्चित मापदण्ड पूरा गरेपछि मात्र पाइने बनाएर सभापतिको निर्वाचन तिनैले गर्ने व्यवस्था गरे कांग्रेसले चोला बदल्न सक्छ । यसैले कांग्रेसले विधानकै पहिले समीक्षा गर्नुपर्छ । 

अहिलेकाे विधानअनुसार कार्यकर्तामा आधारित दलकै संरचना कायम रहुन्जेल पनि विधानले नचिनेकाे समूहले निर्णय गर्ने अभ्यास छाड्नुपर्छ । त्यस्तो समूहले निर्णय गरे महामन्त्रीहरूले स्वीकार गर्नु हुन्न । कांग्रेसका नेताहरूमा आफूले भाग पाए विधान बिर्सने बानी छ । त्यस्तो अभ्यास हुँदासम्म संगठनमा सुधार हुँदैन ।

चतुरेहरू चिप्लिए पनि !

अन्तर्घातको ललरी गाउँदै कारबाहीकाे आतङ्क फैलाउने चतुरेहरूले सत्ता जोगाउन सकेनन् । अझै पनि देउवाका निकट सहयोगीहरू आफ्ना कमजोरीको समीक्षा गर्न तयार देखिएनन् । गठबन्धनका कारण केही स्थानमा चुनाव जिते पनि नेपाली कांग्रेसको मत हेर्दा खासै लाभ भएको देखिँदैन । लाभ मूलतः नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी)लाई भयो । 

नयाँ पार्टीहरूको उदयमा पनि कांग्रेसको गठबन्धन मोहसमेत कारक बनेको हो । परन्तु, पार्टीभित्रका विरोधी तह लगाउन भने ‘गठबन्धन’ गज्जबको अश्त्र बनेकाे देखियो । डा. गोविन्द पोखरेलदेखि डा. मीनेन्द्र रिजालसम्मलाई देउवाले यही अश्त्रले तह लगाए । 

सभापति देउवा अहिले मौन छन् । तर, सार्वजनिक भएका समाचारमा उनी निकट सहयोगीसँग सरसल्लाहमा व्यस्त देखिन्छन् । उनकाे सल्लाहको घेरा भने सीमित छ । मूलतः देउवाका निकट सहयोगीका रूपमा बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, प्रकाशशरण महतको नाम सुनिन्छ । तिनको ‘थर’ हेर्नेबित्तिकै नेपाली कांग्रेसले पुरानो राष्ट्रिय चरित्र त्यागेर सङ्कीर्ण ‘जातीयता’ अपनाएको भान हुन्छ । बीपी कोइराला, गणेशमान सिंह, महेन्द्रनारायण निधिका छोराहरू उनकै खेमामा छन् । तर, तिनलाई पनि देउवाले नजिक ढिम्किन दिएनन् । 

सायद, अहिलेको कांग्रेस र उदार लोकतान्त्रिक ‘स्पेस’ खुम्चनुकाे कारण यिनै र यस्तै हुन् । 

र अन्त्यमा 
कांग्रेसका नेताहरू कार्यकर्तालाई ‘सरकारमा नहुँदैमा आत्तिन पर्दैन’ वा ‘सत्ता गुमाए पनि शक्ति गुमेकाे छैन’भनेर थामथुम पार्न खोज्दैछन् । तर, काम गर्ने उपाय भने लुम्विनी प्रदेश सभाका सदस्य अनुराग खड्काले मात्र पहिल्याएकाे देखियो । खड्काका अनुसार कांग्रेसले जितेका स्थानीय तहबाट राम्ररी काम गरेमा केन्द्र र प्रदेश सरकारमा नभए पनि धेरै फरक पर्दैन । अनुरागले देखेको यही बाटो ठूला नेताले किन नदेखेका हुन्? विडम्बना, कांग्रेसबाट निर्वाचित स्थानीय जनप्रतिनिधिसँग ठूला नेताले त संवादसम्म पनि गरेका छैनन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, पुस १७, २०७९  ११:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC