– ध्रुव अधिकारी
क्याल्पोको घरअगाडि आज गाउँका सबैजसो मानिस जम्मा हुँदै छन् । केही मानिसहरू घोडा चढेर डाँडाबाट त्यही घर भएतिर झर्दैछन् । केही महिलाहरू पिठ्युँमा बच्चा बोकेर आउँदै छन् । माथिको गुम्बाबाट एक वृद्ध लामा तल झर्दै छन्— पहेंलो र कलेजी रंगको वस्त्र धारण गरेका, लामो, बाक्लो कपालमाथि टाउकोमा बेरेका । पोल्टोमा किताब जस्तो केही बोकेर उनी ओरालो लाग्दै छन् । करिब एक महिनापछि तिब्बतबाट भर्खरै आइपुगेका त्यस्तै ३०–३५ याकहरूको पिठ्युँबाट नुनको भारि अझै उतारिएको छैन । आँगनको बीचमा क्याल्पोको शव राखिएको छ । शवको वरपर राखिएको धूपबाट सल्ला र धूपीको जस्तो तीखो गन्ध आइरहेको छ । शरीर सेतो कपडाले ढाकिएको छ । त्यसमाथि तिब्बती अक्षरहरू भएका सेतो, नीलो, हरियो र रातो कपडाका टुक्राहरू राखिएका छन् । पेमाको आँखामा आँसु रोकिएको छैन । नोर्बु र टसी शवको दुईतिर बसेका छन् । नोर्बु बेला–बेलामा आँखाको आँसु दाहिने हातले पुछ्दै छ । टसी भने मौन छ ।
“मैले दाइलाई तपाईं बिरामी हुनुहुन्छ, केही दिन तल पालमै बसौं, त्यो लेक तर्न गाह्रो छ भनेकै हुँ । दाइले मान्दै मान्नुभएन,” भन्दै नोर्बु फेरि रुन थाल्यो । नोर्बुका साथीहरू नजिक गएर उसलाई समाए र नरुन भन्दै सम्झाउन लागे ।
भदौको महिना थियो । गाउँका चारैतिर रहेका खैरा उजाड पहाडहरूमा पोहोर सालको थोरै मात्र हिउँ बाँकी थियो । त्यो उचाइमा रुख हुँदैनथ्यो । तल गाउँमा स्थानीय भाषामा उवा भनिने जौंजस्तो अन्न पाकेर फाँटै पहेंलो भएको थियो । कसैको बारीमा फापर पाकेर बारी रातै देखिन्थे । नजिकै रहेको सानोखोला ढुंगासँग जुध्दै कालो बालुवा आफूसँगै बोकेर तेज गतिमा बगिरहेको थियो । आकाश गाडा नीलो र उज्यालो थियो । घोडाहरूको मुखमा गहुँकास (साना थैलाहरू) झुन्डाइएको थियो । उनीहरू आफ्नै सुरमा मुख हल्लाउँदै गहुँ चपाउँदै थिए । माथिको गुम्बामा रंगीबिरंगी कपडाका टुक्राहरू हावाको वेगसँग फहराइरहेका थिए । जम्मा भएका मानिसहरूको अनुहार मलिन थियो, आश्चर्यचकित थियो, अचम्मित, भयभित थियो । आँगनको कुनातिर कपडा बुन्ने तानमा धागोहरू तन्काएर राखिएको थियो । चौंरीहरूको पिठ्युँबाट भारी नउतारिएकोले यताउता सल्बलाइरहेका थिए ।
छोक्याप लामा अलि बूढा भइसकेका थिए । उनको बाक्लो जटाधारी कपाल टाउकोमा केही फन्को बेरिएको थियो, उनको पहेंलो वस्त्र अलि मैलो भएको थियो, उनको अनुहारमा थोरै रौं थियो र उमेर बढेसँगै उनको शरीर अलि मोटो र पेट केही बाहिर निस्केको थियो । उनी धेरै हिँडडुल गर्दैनथे र क्याल्पोको आँगनसम्म आइपुग्दा उनी लामो सास लिँदै थिए । उनी त्यहाँ क्याल्पोको शवलाई गाड्ने कि, टुक्रा पारेर खोलाका माछाहरूलाई अर्पण गर्ने वा गिद्धलाई दिने भन्ने कुराको हिसाबकिताब गर्न आएका थिए । उनले आफ्नो दायाँ कानमा सिउरिएको चुच्चो छेस्कोजस्तो वस्तु निकाले र मसीको भाँडोमा चोपे । छिक्, ङ्य, सुम् (अर्थात् १, २, ३) भन्दै उनीले केही गन्दै थिए र हिसाबकिताब सकिएपछि उनले सेतो पातलो कपडामा केही तिब्बती अक्षर कोरे ।
“क्याल्पोको चिनाले आकाशको किरियाकर्म माग्छ, उसलाई डाँडामा लिएर जानुपर्छ,” छ्योक्याप लामाले खाम भाषामा भने र त्यस पातलो कपडालाई आगोले पोले ।
सबैले एकछिन एक–अर्कालाई हेरे र क्याल्पोको शरीर गिद्धहरूलाई दान गर्नका लागि उसको शवलाई उठाउने र बाँध्ने तयारी गर्न लागे । क्याल्पोको शवलाई घुँडामा बसाएझैं बसालेर हात र खुट्टोलाई जोर्नीबाट अलग गरी बलियो कसेर डोकोमा अटाउने गरी बाँधियो । नोर्बुले डोको उठायो, केही लामाहरू ढ्यांग्रो ठोक्दै अघि लागे । तीन जनाले करिब १०–१२ मिटर लामो सेतो कपडा भुइँमा नछुवाई डोहो¥याउँदै अघि बढे । केही लामाहरू पछि–पछि डमरु बजाउँदै माथि डाँडातिर लागे ।
पाजोर पनि शवसँगसँगै गए । गाउँमा मान्छे मरेपछि गिद्धलाई खुवाउनका लागि शव काटेर टुक्रा बनाउने काम धेरै वर्षदेखि उनकै थियो । शव टुक्रा बनाउँदा गिद्धहरूले सजिलोसँग खान सक्छन् । गाउँमा मासु खानका लागि जनावरलाई काटमार गर्ने जिम्मेवारी पनि उनैको थियो । पाप लाग्ने डरका कारण गाउँका जो–कोहीले काटमार गर्दैनथे । पाजोरले शवको छाला छिलेर स–साना टुक्रा बनाएपछि लामाहरू नली खुट्टाको हड्डीले बनेको एक किसिमको बाजा बजाउँदै, डमरु बजाउँदै शवको वरिपरि निहुरी परी नाचेर गिद्ध बोलाउन लागे । गिद्धहरू उनीहरूको सताब्दीयौंदेखि चल्दै आइरहेको यो रीतबाट अपरिचित थिएनन् । आकाशमा केही छिनमै गिद्धको झुण्डले परिक्रमा गर्न थाल्यो । शिकार पाउन गाह्रो पर्ने त्यो विरानो उच्च हिमाली पहाडमा यत्तिकै आहारा पाउनु गिद्धहरूको निम्ति ठूलो अवसर थियो । शवका टुक्रा खाइसक्न उनीहरूलाई खासै धेरै समय लागेन । हड्डीमात्रै बाँकी रहेपछि पाजोर फेरि हड्डी भएको ठाउँमा गए, गिद्धहरूलाई केही टाढा धपाए र ढुंगामाथि राखेर बाँकी हड्डीलाई बञ्चरोको पछिल्लो भागले जोडले हिर्काएर मसिनो टुक्रा बनाए । स्थानीय भाषामा साम्पा भनिने उवाको सातु छर्दै हड्डीलाई धूलोजत्तिकै बनाए । माथि उचाइमा त्यत्तिको थकानयुक्त काम गर्न पाजोरलाई सजिलो थिएन तर उनका लागि यो धर्म कमाउने मौका पनि थियो । केही छिनमा गिद्धहरूले बचेखुचेको मासु र हड्डीका टुक्रा पनि हजम गरी उडान भरे ।
क्याल्पोको किरियाकर्म केही महिनासम्म चलिरह्यो । लामाहरूले धेरै दिनसम्म कहिले घरमै आई, कहिले गुम्बामा गई पूजापाठ गरे, मन्त्रहरू उच्चारण गरे र क्याल्पोको आत्मालाई उचित दिशा प्रदान गरे । गाउँभरिका मानिसलाई बोलाई रक्सी र याकको मासु खुवाएर अन्तिम भोज गरेपछि क्याल्पोको कर्मकाण्ड पूरा भयो ।
यता पेमाका एक पति बिते पनि उसको हेरचाह गर्ने दुई पति अझै जिउँदै थिए । उच्च हिमाली क्षेत्रमा खेतीयोग्य जमिन अत्यन्तै कम हुने, खाद्यान्नको चरम अभाव हुने हुँदा सम्पत्ति टुक्रिनबाट जोगाउन र परिवार सदस्य संख्या नियन्त्रण गर्न परिवारका सबै दाजुभाइकी एउटी श्रीमती राख्ने चलन पुरानो हो । क्याल्पो र नोर्बु पतिको रूपमा स्थापित भइसकेका थिए तर टसी भने अलि सानो भएका कारण पेमाका पति भइसकेको थिएन । तर, पेमामा टसीको पनि उत्तिकै हक थियो जति नोर्बु र क्याल्पोको । टसीले पनि आफू वयस्क भएको अनुभूति गर्दै थियो र बेलाबेला रतिक्रियाका सपना देख्न थालेको थियो । हालसालै मात्र २० वर्ष लागेको टसीले यसअघि कुनै महिलासँग सम्भोग गरेको थिएन । ऊ उत्सुक थियो ।
पेमा पहिलो पटक बिहे गरेर घर आउँदा २५ वर्षकी थिई, क्याल्पो २२ र नोर्बु १७ वर्षका थिए । टसी भने करिब ८ वर्षको मात्र थियो । पेमालाई पारि गाउँबाट क्याल्पोले तानेर ल्याएको थियो र पछि बिहे गरेको थियो ।
क्याल्पो तिब्बतमा नुन लिन जाँदा वा भेडा बाख्रा व्यापार गर्न जाँदा परिवारको रेखदेख नोर्बुले गथ्र्यो । पेमामाथि उसको अधिकार हुन्थ्यो । क्याल्पो र नोर्बु दुवै घर हुँदा भने पेमामाथिको अधिकार क्याल्पोको नै हुन्थ्यो किनकि ऊ सबैभन्दा जेठो थियो । पेमाका दुई छोरा र एक काखे छोरीमध्ये कुन बच्चा कोबाट हो भन्ने कुराको जानकारी शायद पेमालाई मात्र थियो । जोबाट जन्मेको बच्चा भए पनि क्याल्पो जेठो भएको कारण छोराछोरीले उसलाई बुवा भन्नुपथ्र्यो । टसी र नोर्बु भने काका बनेका थिए ।
पेमा अग्ली थिई । उसको शरीर सर्लक्क मिलेको थियो । चिल्लो तेल लगाएर चपक्क बाटेको कालो लामो कपाल अनि निदारको बीचसम्म आउने गरी अगाडिको कपाल काटेकी पेमाका साना आँखा, मिलेका आँखीभौं, घाँटीमा मुगाको माला र त्यसको फेदीमा झुन्डेको तिब्बती रिम्पोचेको तस्बिर । रातो अनुहार, थोरै अगाडि आएको छाती । कम्मरसँग मिलेको पेट । चिसोले गर्दा अलि–अलि चिरा परेका ओठ र रातो फुटेको गालालेजोले कोहीलाई पनि आकर्षित गर्थे । शिरदेखि पाउसम्म पुग्ने बाक्लो लामो कलेजी रंगको कपडामाथि तानमा बुनेको तल्लो पेटको भागदेखि घुँडासम्म बेर्ने एक हातजतिको फेरोमाथि करिब एक बित्ताजति चौडाइ भएको र पछाडि तुनाले कसेर कम्मरमा बेर्न मिल्ने पटुकाजस्तो कपडा लगाउने चलन थियो । त्यो कपडा लगाउँदा पेमा अग्ली, गोरी, बलियो र राम्री देखिन्थी ।
यता नुनका स–साना बोराहरू घरमा थन्किएको डेढ महिना जसो भइसकेको थियो । तिब्बतबाट ल्याएको नुन तलका जिल्ला लगेर अन्नसँग नसाटे नोर्बुको परिवारलाई भोकमरी लाग्न सक्ने खतरा थियो । किनकि बाटोघाटोको अभावले अन्य वैकल्पिक ठाउँबाट नुन ल्याउन अत्यन्तै कठिन थियो । त्यसैले तल औलका मानिसहरू पनि तिब्बतबाट ल्याएको नुनमाथि नै भर पर्थे ।
क्याल्पोसँग महिनौं दिनको तिब्बत यात्रामा याकको झुन्डसँगै केही वर्षअघिदेखि नोर्बु सँगसँगै हिँडे पनि ऊसँग अहिलेसम्म यस्तो व्यापार र यात्रा नेतृत्व गरेको अनुभव थिएन । लेकमा हिउँ पर्नुअघि नै नोर्बु र उसका याकहरूले नुन साटेर गाउँमा खाद्यान्न ल्याइसक्नु पर्ने थियो । गाउँमा फलेको उवा र फापरले वर्षभरि खान पुग्दैन भन्ने कुरा त्यो गाउँका सबैलाई थाहा थियो । परिवारलाई आवश्यक अतिरिक्त खाद्यान्नको जोहो गर्ने जिम्मेवारी नोर्बुको काँधमा आएको थियो । गाउँका अरू याकहरू करिब १५ दिनअघि नै व्यापारका लागि प्रस्थान गरिसकेका थिए ।
नोर्बुले छोक्याप लामासँग सल्लाह लिने निधो गर्यो र गोबरको गुइँठा, उवाको सातुको पोका र चोती (तरकारीको रूपमा खाइने उच्च हिमाली भेगमा फल्ने एक प्रकारको सलगमजस्तै खानेकुरा) बोकेर गुम्बातर्फ लाग्यो । गाउँमा बस्ने लामालाई गाउँलेहरूले नै पाल्ने चलन थियो ।
गुम्बामा धूपको बास्ना थियो । छेउमा पूजा गर्न लामाहरू बस्ने ठाउँ थियो । त्यहाँ साना बाजा, झ्याली, ढ्यांग्रो मिलाएर राखिएका थिए । मानिसहरू बस्न अर्को छेउमा काठको भुइँ र भेडाको रौंबाट बनेको गलैंचाजस्तो कपडा ओच्छाइएको थियो । बुद्धको जीवनी, उनले दिएको शिक्षा, मानिसभित्रको देवता, राक्षस, मृत्यु, जन्म इत्यादि जनाउने गरी गुम्बाको भित्तावरपर विभिन्न रंगीबिरंगी चित्रहरू कोरिएका थिए ।
नोर्बुले घुँडा टेकेर दुई हातअगाडि सारी निधारले भुइँमा छायो र ठूलो सुनौलो रंगको बुद्धको प्रतिमालाई दण्डवत् ग¥यो । छोक्याप लामा त्यसबेला पित्तलको भाँडामा बत्ती बाल्न घिउ राख्दै थिए । नोर्बु एकछिन आँखा चिम्म गर्दै प्रार्थना गर्न लाग्यो ।
“कति कामले आइस् नोर्बु ?” छोक्याप लामाले खोक्दै सोधे ।
“क्याल्पो दाइ बितेपछि लामाहरूले निकालेको मितिमा याक र नुन लग्न सकिनँ, अहिले एक्लैजसो छु । गाउँका दुई–चार जना बोकेर तलतिर जाऊँ भनेको, कहिले जान मिल्छ भनेर तपाईंसँग सल्लाह लिन आएको,” नोर्बुले अलि सानो स्वरमा भन्यो ।
“यो महिना राक्षसहरू सक्रिय हुने महिना हो । लेक तर्ने बेला हिउँ पर्यो भयो भने तँ र तेरो याक दुबैलाई खतरा हुन्छ । पख म दिन हेर्छु, बस् एकछिन चिया खा !” छोक्याप लामाले चियाको भाँडा र स्टिलको सानो बटुको जस्तो भाँडो अघि सार्दै भने ।
तिब्बतमा पाइने एक प्रकारको जडीबुटी, तिब्बती घ्यु, तातोपानी र नुन मज्जाले लामो र साँघुरो काठको भाँडोमा लामो लट्ठीजस्तो चिजले मही मोथेझैं घोलेपछि बन्ने सेतो नुनिलो चिया नै त्यो ठाउँको अतिथि सत्कार गर्ने खानेकुरा थियो ।
छोक्याप लामाले कानमाथि राखेको कलमजस्तो छेस्को निकाल्दै हिसाबकिताब गर्न लागे र एकछिनपछि अलि ठूलो स्वरमा भने, “तँ सोमबार बिहानै हिँड्नू, त्यो दिन राक्षसहरू अलि शान्त छन् । तँ र तेरो याकलाई दुख दिँदैनन् ।”
लामालाई दण्डवत् गर्दै नोर्बु तल घरतिर लाग्यो ।
पेमा तीते फापरको पीठोलाई काठको चारपाटे, गहिरो भाँडोमा थोरै पानी राखेर मुछ्दै रोटी बनाउने तयारीमा थिई । दाउरा खासै नपाइने त्यो ठाउँमा आगो बाल्न पेमाले अगेनोको छेउमा सुकेको गोबरका टुक्रा राखेकी थिई र चुलोमा तावा बसालेकी थिई । चुलोको चारैतिर बस्न बाक्लो रौं भएको चौंरीको छाला ओच्छ्याइएको थियो । टसी, नोर्बु र छोराछोरीहरू चुलोको वरपर शान्त भएर बसेका थिए । तीते फापरको लगर र रातो खुर्सानीको अचार खान केटाकेटीहरू अधैर्य भएर बसेका थिए । पेमामाथि टसीको पनि श्रीमान् बराबर हक हुने भए पनि अरूको जस्तो श्रीमान्–श्रीमती जिस्किने, चल्ने, एक–अर्कालाई छुने जस्ता व्यवहार भने गर्दैनथे । श्रीमान्–श्रीमती भए पनि अरूजस्तै साधारण व्यवहार हुन्थ्यो । त्यो कुरा पेमा र टसीमा मात्रै होइन, समुदायभरि नै लागू थियो । व्यवहार र बोलीचालीको आधारमा को कसको श्रीमान् र को कसकी श्रीमती भनेर छुट्ट्याउन नयाँ मान्छेलाई गाह्रै पथ्र्यो ।
“म सोमबार बिहानै जानुपर्ने भयो, लामाले त्यही भन्नुभएको छ । माथि गाउँको तेन्जिङ, पेम्बा, लाक्पा र कार्मा पनि मसँगै जान्छु भनेका छन् । नुन त बेच्नै प¥यो,” नोर्बुको बोलीमा धेरै आत्मविश्वास थिएन ।
यसअघि पनि यो यात्रा कयौं पटक गरेको नोर्बु यसपटक भने थोरै डराएको थियो । नयाँ जिम्मेवारी उसको काँधमा थियो । त्यही काम क्याल्पो दाइको पछि लागेर गर्दा उसलाई कत्ति पनि डर लाग्दैनथ्यो । हिउँ पर्ने बेला शुरु हुन लागेको थियो । पोहोर हिमपहिरोले तल सराङ गाउँका २२ वटा याक मारेको कुरा उसको दिमागमा ताजा थियो ।
“टसी, तैले पनि त भेडाहरू पाटनबाट तल झार्ने बेला हुन लाग्यो नि, कहिले जान्छस् माथि ? जाडो आइसक्यो,” नोर्बुले अलि नरम स्वरमा भन्यो ।
“तिमीले याक लागेपछि म पनि माथि पाटनतिर जान्छु,” टसीले सानो भतिजलाई काखमा राख्दै भन्यो ।
आइतबार राति पेमाले करिब २०¬–२५ वटा फापरको लगर बनाई कपडाले बेरेर राखी । उसले पाल कसेर बाँधी र पालका डन्डीहरू पनि झिकेर राखी । उवाको सातु भाँडाबाट एउटा सानो झोलामा खन्याई र त्यसमा बलियो गाँठो पारी । त्योनजिकै सानो काठको चिया घोल्ने भाँडो र घोल्ने लट्ठी सँगै राखी । त्यति गरिरहँदा टसी छेउमा बसेर उवाको रक्सीको चुस्की लाउँदै थियो । ऊ बेला–बेला अरुले थाहा नपाउने गरी पेमाको शरीरको पछिल्लो भाग हेर्दै थियो । नोर्बु भने माथि गाउँमा साथीहरूसँग भोलि बिहानका लागि तयारी गर्न गएको थियो । शायद ऊ पनि साथीहरूसँग बसेर रक्सी पिउँदै थियो होला ।
करिब १० बजेतिर नोर्बु घरतिर फर्कियो । पूर्णिमाको रात थियो, आकाशमा अनगिन्ती ताराहरू थिए । चन्द्रमा सम्पूर्ण रूपमा गोलो, सुनौलो र ठूलो आकारको देखिएको थियो । तलको सानो खोल्सामा चन्द्रमाको प्रकाशले गर्दा पानी सुनौलो देखिन्थ्यो । स्यालहरू हुइँयाऽऽ हुइँयाऽऽ गर्दै लामो स्वरमा नजिकै कतै कराउँदै थिए । घोडाहरू मुख चलाउँदै शान्त भएर उभिएका थिए । गाउँका सबै घरमा बत्ती निभिसकेको थियो । ठूलो टाउको र शरीर भएका काला र खैरा भोटे कुकुरहरू घरको कुनामा मुन्टो लुकाएर सुतिरहेका थिए । खोलाको आवाज मन्द तर निरन्तर थियो । चारैतिरका अग्ला डाँडाहरू चन्द्रमाको प्रकाशले गर्दा उज्यालो देखिएका थिए । नोर्बु घरको अगाडि पुग्यो । गाउँका सबैजसो घरहरू चारपाटे ढुंगाहरूको चाङ लगाएर बनाइएका थिए । छाना भने काठको भाटामाथि माटो पिटेर सम्म बनाइएको थियो । नोर्बुको घरमा चुक्कुल लगाइएको थिएन । उसले ढोका खोल्यो, भित्र पस्यो र ढोका बन्द ग¥यो ।
अँगेनोको छेउमा तीन बच्चाबच्चीहरू सुतिरहेका थिए । टसी कुनामा खुट्टा खुम्चाएर सुतेको थियो । नोर्बुले भित्रको कोठा खोल्यो र भित्र पस्यो । पेमा पातलो ओढ्ने ओढेर पल्टिरहेकी थिई— निर्वस्त्र ।
नोर्बुले आफ्नो वस्त्र उतार्यो र पेमा सुतिरहेको खाटमा गएर पल्टियो । धेरै दिनपछि शायद रक्सीको मातले होला— आज ऊ अलि उत्तेजित देखिन्थ्यो । उसले पेमाको छातीमाथि हात राख्यो र यताउता मुसार्न लाग्यो । पेमाले नोर्बुको हात हटाई । पेमाको कपाल सुम्सुमाउँदै नोर्बुले उसको ढाडलाई आफ्नो छातीतर्फ तान्यो ।
पेमाको शरीर हुर्किएको रुखजस्तै खँदिलो, बाक्लो र चुरो थियो । फल फल्न तयार भएको चिल्लो पात, फैलिएका हाँगाबिगा, प्रशस्त फूल, बलियो फेद भएको रुखजस्तो पेमाका विकसित अंगहरूले नोर्बुको अंगलाई ढुंगाजस्तै कडा बनायो । नोर्बु एकाग्र भयो । उसको दिमागका प्रत्येक कोष, रक्तनली, अंग–प्रत्यंग सबै सम्भोगमा मग्न थिए र त्यसको लागि सम्पूर्ण तयारी पूरा गरिसकेका थिए । नोर्बु तयार थियो, पेमा तयार हुँदै थिई । पेमा अलि ढिलो तात्ने तर ढिलै सेलाउने बनोटकी थिई ।
ऊर्जा पाएपछि सुस्तरी मन्द गतिमा शुरु हुने यन्त्रजस्तो नोर्बु पेमाभित्र प्रवेश गर्यो र यान्त्रिक गति लिन थाल्यो । पेमाले नोर्बुको पछिल्लो भागलाई आफ्नो दुईवटा बलिया तिघ्राले च्यापी र आफूले पनि नोर्बुको गति पकड्न लागी । नोर्बुले केही क्षणमै हार मान्यो र पेमाको छातीमाथि शरण लियो । पेमा अझै क्रोधित सर्पजस्तै स्वाँ–स्वाँ गर्दै थिई, नोर्बु भने खुम्चिसकेको थियो । केही छिनपछि नोर्बुले आफ्नो र पेमाको शरीर अलग गर्यो र भित्तातिर मुख फर्काएर सुत्यो । पेमाको शरीर भने खुम्चिसकेको थिएन ।
बाहिरको चकमन्न अँध्यारो कोठामा लम्पसार परेर सुतेको टसीको आँखा खुल्लै थियो । पेमा र नोर्बुको यौनक्रिडाको श्रव्य उसको कानका जालीहरूबाट ओहोरदोहोर गरिसकेका थिए ।
झिसमिसे बिहानपख ‘नोर्बु दाइ, ओ नोर्बु दाइ’ भन्दै बाहिरबाट आवाज आयो । नोर्बु हत्तपत्त उठ्यो र लुगा लगायो । टसी पनि आँखा मिच्दै उठ्यो । पेमा भने भित्र कपडा लगाउन लागी, नोर्बु बाहिर निस्कियो, चुकुल खोल्यो ।
“दाइ जाने हैन ? कि अझै सुतिरहने हो ?” तेन्जिङले आँखा सन्काउँदै भन्यो ।
“जाने हो भाइ, सामान बाँध्नु पर्यो । भित्र आइज । तिमीहरू पहिला चिया खा अनि सामान बाँधौंला,” नोर्बुले कपाल कन्याउँदै भन्यो ।
त्यस्तै करिब बिहानको ३ बजेको थियो । बाहिर अत्यन्तै चिसो थियो, आकाशमा चन्द्रमा उसैगरी हाँसिरहेको थियो । खोलाको पानी छोइसक्नु थिएन । बोल्दा मुखबाट बाफ आइरहेको थियो । पेमा जाडोले काम्दै चुलोमा सुकेको गोबरका गुइँठा राखेर आगो बाल्न लागी । चुलोमाथि कित्ली राखी र चिया घोल्ने भाँडो कुनाबाट लिएर आई । टसी आँखा मिच्दै उठ्यो । पेमाले काठको र्याकबाट ४–५ वटा बटुका र चिया खाने साना भाँडा निकाली । प्रत्येक बटुकामा सातु राखी र त्यसमाथि थोरै तिब्बती घिउ राखी । पानी तातेपछि लामो काठको भाँडामा खन्याई, त्यसमा घिउ हाली, हरियो तिब्बती जडीबुटी र थोरै नुन राखी । उठेर एक हातले त्यो लामो भाँडाको माथि बाँधिएको पेटी बलियो गरी समाई, एक खुट्टाले भाँडाको तल भएको अर्को पेटीमाथि टेकी र अर्को हातमा लामो लौरोले तलमाथि गर्दै चिया मोथी । करिब दुई मिनटजति मोथेपछि सबै भाँडामा खन्याई र आफू पनि आगोनजिक बसी । सबै जना अगेनोको वरपर बसेर चिया पिउन लागे, सातु घिउमा मुछ्दै, डल्लो पार्दै खान लागे ।
चिया खाएपछि, तेन्जिङ र केही साथीहरू नुनको बोरा भित्रबाट झिक्दै बाहिर ओसार्न लागे । केहीले याकको ढाडमाथि राख्ने काठको पिर्का ओसारे । नोर्बु घरछेउकै गोठमा गयो । टसी र केही साथीहरूले नुनको बोरा याक भएतिर लिएर आए । याकको ढाडमाथि सबैभन्दा पहिले ढाड छोप्ने गरी बाक्लो कपडा राखियो, त्यसमाथि काठको पिर्का राखियो, त्यसलाई मेरुदण्डको आड दिएर दुईतिर झुन्ड्याइयो । माथि ढाडबाट डोरी लिएर तल पेटमा फन्को लगाई टपक्क बाँधियो । अगाडि घाँटीभन्दा थोरै तलबाट र पछाडि पुच्छरको माथिल्लो भागबाट बेरेर डोरी त्यही पिर्कामा बलियो गरी बाँधियो । त्यसमाथि करिब १५ किलोका दुईवटा बोरा दुईतिर मिलाएर बाँधियो । थचक्क बसेका याकहरूलाई उठाउँदै टसी भारी कस्दै थियो । पेमा खानेकुराको जोहो गर्दै थिई । नोर्बु चाँजोपाँजो मिलाउँदै थियो । साथीहरू पनि भारी बाँध्ने काममा लागेका थिए । धेरैजसो याकको ढाडमा नुनको बोरा बाँधियो, केही याकमाथि ठूलो पाल र पालको लामो डन्डी र केही याकमाथि भने खानेकुराको भारी बाँधियो । माहोल अलि तातेको थियो, थोरै हल्ला थियो । भित्र सुतेका केटाकेटीहरू सल्बलाउन लागेका थिए ।
एकछिनमा भारी बाँध्ने काम सकियो । करिब एक महिना यात्राको लागि तयारी करिब–करिब पूरा भयो । नोर्बुले छेउमा रहेको चिया घोल्ने भाँडो र रक्सीको ग्यालिन पनि याकको ढाडमा बाँध्यो । पेमा भित्र गएर घिउ रंगको करिब दुई हात लामा पाँच वटा कपडाका टुक्रा लिएर आई र प्रत्येकको घाँटीमा लगाइदिई । टसीले सबैसँग पालैपालो टाउकोले टाउको जोड्यो र अन्तिम बिदाइ ग¥यो । याकहरूले पाइला चाल्न थालेपछि घाँटीमा बाँधेका घण्टी बज्न लागे । ‘हैट ... हैट ... हैट’ गर्दै नोर्बु र साथीहरूले याक धपाउन लागे ।
वर्षौंको अनुभववाट याकहरूले यात्रा लामो छ, कठिन छ, जोखिमपूर्ण छ भन्ने बुझिसकेका थिए । उनीहरूको नियति यही थियो । याकहरूको नेता दोर्जे अघि–अघि लागेको थियो । उसको घाँटीमा घण्टी र तिब्बती अक्षर कोरिएको कपडा बेरिएको थियो । बाक्लो सेतो र कालो छिर्केमिर्के रौं र लामो पुच्छर भएको दोर्जेले अब एक महिनासम्म झुण्डको नेतृत्व गर्ने ठूलो जिम्मेवारी बोकेको थियो । नोर्बुको आशा–भरोसा ऊमाथि थियो । हिउँले सेताम्मै हुने ५ हजार मिटरभन्दा अग्ला लेकहरूमा भारी बोकेर कयौं पटक यात्रा गरेको सबैभन्दा धेरै अनुभव दोर्जेसँग मात्र थियो । यसअघि आफ्ना धेरै साथी गुमाएको तीतो अनुभव पनि दोर्जेले बोकेको थियो ।
दोर्जेलाई अघि लगाउँदै केही क्षणमै नोर्बु, उसका साथी र याकहरू तल छोर्तेनको प्रवेशद्वार हुँदै तलतिर पुगे । होहल्ला कम भयो, शान्त भयो, खोलाको आवाज फेरि सुनिन लाग्यो, टसी घरभित्र पस्यो । अझै उज्यालो भइसकेको थिएन । चन्द्रमा बिस्तारै पश्चिमतिर जाँदै थियो । आकाशमा अझै पनि अनगिन्ती ताराहरू चम्किरहेका थिए ।