site stats
बाह्रखरी :: Baahrakhari
विदेश
दोस्रो विश्वयुद्ध अन्त्यको ८०औँ वर्षगाँठमा चीनले सैन्य परेडमा नयाँ हतियार प्रदर्शन गर्दै

काठमाडौं । चीनले आगामी महिना बेइजिङको केन्द्रमा दोस्रो विश्वयुद्ध अन्त्य भएको ८०औँ वर्षगाँठको अवसरमा विशाल सैन्य परेड आयोजना गर्ने भएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार, परेडमा नयाँ चिनियाँ हतियार पहिलोपटक विश्वसामु प्रदर्शन गरिनेछ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ सैन्य अधिकारीहरूले जनमुक्ति सेना (पीएलए)का लडाकु विमान र बमवर्षकसहित सयौँ विमान र नवीनतम सैन्य उपकरणसहितको स्थल सेना परेडमा सहभागी हुने बताएका छन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, परेडमा संयुक्त हतियार संरचनालाई वास्तविक युद्धको कार्यशैली प्रतिविम्बित हुने गरी व्यवस्थित गरिनेछ । जसमा हवाई, स्थल र समुद्री युद्ध समूह समावेश हुने बताइएको छ ।

चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार, सैन्य परेडमा चौथो पुस्ताका नयाँ उपकरण मुख्य आकर्षण हुनेछन् । जसमा उन्नत ट्यांक, विमानवाहक युद्धपोतबाट सञ्चालन हुने विमान र लडाकु विमान समावेश छन् ।

चिनियाँ सेनाको प्रणालीमा आधारित युद्ध क्षमता प्रदर्शन गर्न यी उपकरणलाई सञ्चालन मोड्युलमा व्यवस्थित गरिनेछ ।

“परेडमा प्रदर्शन गरिने सबै हतियार र उपकरणहरू स्वदेशमै निर्मित र हाल सेनाको प्रयोगमा रहेका मुख्य युद्ध सामग्री हुन् । यो आयोजना चिनियाँ सेनाको नयाँ पुस्ताका हतियार र उपकरणहरूको एकमुष्ट प्रदर्शन हो,” ग्लोबल टाइम्सले थपेको छ ।

आगामी सेप्टेम्बर ३ मा हुने परेड सन् १९४५ मा जापानी सेनाको औपचारिक आत्मसमर्पणको स्मरणमा गरिने सन् २०१५ पछिको दोस्रो परेड हुनेछ ।

विदेशी सैन्य सहचारीहरू र सुरक्षा विश्लेषकहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएअनुसार, उनीहरूले चीनको सेनाले परेडमा ड्रोन–प्रतिरोधी प्रणाली जडित सैन्य ट्रक, नयाँ ट्यांक र चीनका विमानवाहक पोतहरूको सुरक्षा गर्न प्रयोग हुने प्रारम्भिक चेतावनी दिने विमानहरूसहितका नयाँ हतियार र उपकरणहरू प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।

अमेरिका र उसका सहयोगीहरूले चीनको बढ्दो क्षेप्यास्त्र भण्डार, विशेषगरी जहाज–भेदी क्षेप्यास्त्र प्रणाली र हाइपरसोनिक क्षमता भएका हतियारहरूको प्रदर्शनलाई नजिकबाट नियाल्नेछन् ।

विजय दिवस परेडमा ४५ वटा सैन्य टुकडी सहभागी हुने र यो बेइजिङको तियानमेन स्क्वायरमा राष्ट्रपति सी चिनफिङको अगाडि करिब ७० मिनेटसम्म चल्नेछ ।

चिनियाँ नेताको साथमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित आमन्त्रित विदेशी नेताहरू र विशिष्ट व्यक्तिहरू उपस्थित हुने कार्यक्रम छ । पुटिनले सन् २०१५ को वार्षिकोत्सव परेडमा पनि भाग लिएका थिए ।

चिनियाँ अधिकारीहरूले अगस्टको सुरुदेखि नै बेइजिङको केन्द्रमा सुरक्षा व्यवस्था कडा पारेका छन् । पहिलो ठूलो स्तरको परेड अभ्यास आयोजना भएदेखि नै ठाउँ–ठाउँमा चेकपोइन्टहरू स्थापना गरिएको छ । सडक यातायात मोडिएका र सपिङ मल तथा कार्यालय भवनहरू बन्द गरिएका छन् ।

अल्जजिराबाट ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्