
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र ठूलो आत्मविश्वास चाहिएको बताएका छन् । बुधबार काठमाडौंमा नन्दप्रसाद शिवाकोटीको स्मृति दिवसमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वासको आवश्यकता रहेको भन्दै यसलाई नेपाली कांग्रेसले बिर्सिन नहुने उल्लेख गरे । कांग्रेस नेपालको राष्ट्रिय शक्ति भएको कुरा भुल्न नहुने उनको भनाइ छ ।
राष्ट्रिय शक्तिको जिम्मेवारी निर्वाह गर्ने पार्टी नै राष्ट्रिय पार्टी भएको उनको भनाइ छ । राष्ट्रको अगाडि आएको सबैभन्दा ठूलो चुनौती बुझ्ने, छाम्ने, पर्गेल्ने र सम्बोधन गर्ने तागत राख्ने तथा हल गरेर अघि बढ्ने पार्टी नै राष्ट्रिय पार्टी भएको बताए ।
अहिले देशमा ठूलो असन्तुष्टि रहेको बताउँदै नेपाली समाजलाई यसबाट बाहिर निकाल्नुपर्ने उनको भनाइ छ । कांग्रेसलाई आत्मविश्वास, शुद्धता चाहिएको बताए ।
"नेपाली कांग्रेस पार्टीभित्र ठूलो आत्मविश्वास अहिले चाहिएको छ । नेपाली कांग्रेस पार्टीले के कुरा बिर्सिनु हुँदैन भने हामी नेपालको राष्ट्रिय शक्ति हौँ । राष्ट्रिय पार्टी भनेको निर्वाचनको परिणामले निर्धारण गर्दैन । चुनाव जितेर राष्ट्रिय पार्टी भइँदैन । त्यसको छुट्टै परिभाषा छ । नेपाली कांग्रेस त चुनाव नलढेको बेलामा पनि राष्ट्रिय पार्टी हो," उनले भने ।
थापाले सत्ता र शक्तिमा पुग्नका लागि आधारभूत मूल्य र मान्यतासँग सम्झौता गरेर प्राप्त गरिएको सत्ताको अर्थ नरहने बताए । न्युज एजेन्सी नेपाल