site stats
बाह्रखरी :: Baahrakhari
देश
औषधि खरिद गर्न कोसी स्वास्थ्य मन्त्रालयले गर्‍यो सिंहदरबार वैद्यखानासँग सम्झौता

विराटनगर । कोसी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले आयुर्वेद औषधि खरिदका लागि सिंहदरबार वैद्यखानासँग सम्झौता गरेको छ । सिंहदरबार वैद्यखानासँग सोमबार विराटनगरमा औषधि खरिदसम्बन्धी सम्झौता भएको हो ।

चालु आर्थिक वर्षका लागि मन्त्रालयले वैद्यखानासँग दुई करोड २० लाख मूल्य बराबरको आयुर्वेद औषधि खरिद गर्नेछ । कोसी प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा. राधिका थपलिया र वैद्यखानाका निर्देशक प्रदीप केसीबीच सम्झौतामा हस्ताक्षर भएको छ ।

स्वास्थ्यमन्त्री भुपेन्द्र राईले जनस्वास्थ्यमा अति आवश्यक पर्ने औषधिहरूको खरिदमा हुने गरेको ढिलासुस्ती अन्त्य गर्न र सहज ढंगले सर्वसाधारणलाई उपलब्ध गराउने उद्देश्य रहेको बताए ।

“असार लागेपछि मात्रै खरिद गर्ने परिपाटीलाई अन्त्य गरी सुशासन कायम गराउन प्रयास थालेका हौँ,” उनले भने ।

कोसी प्रदेश सचिव थपलियाले प्रदेशको औषधि आपूर्ति केन्द्रले खरिद गरेर स्वास्थ्य संस्थालाई वितरण गर्दै आएकामा जिल्लास्थित स्वास्थ्य केन्द्रले पनि खरिद गर्न सक्ने नयाँ व्यवस्था गरिएको बताइन् ।

समयमै औषधिको आपूर्तिका लागि मार्गदर्शनसमेत कार्यान्वयनमा लगेको उनको भनाइ छ ।

“सरकार र सरकारबीच (जीटूजी) खरिद सम्झौता भएको छ । पारदर्शिताका लागि यो कदम चालिएको हो । खरिदलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्य हो,” उनले भनिन् ।

सिंहदरबार वैद्यखानाका महानिर्देशक प्रदीप केसीले कोशी सरकारलाई औषधि खरिदमा दिइने २० प्रतिशत छुट बराबरको मूल्यको पनि आयुर्वेद औषधि उपलब्ध गराउने बताए ।

उनले भने, “वैद्यखानाले गुणस्तरीय औषधि उत्पादनमा ध्यान दिँदै आएको छ । हामीले सातवटै प्रदेश सरकारसँग जीटूजी प्रक्रियामार्फत नै औषधि खरिद गर्नका लागि अनुरोध गरिरहेका छौँ ।”

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १५:५५
प्रतिक्रिया दिनुहोस्