
काठमाडौं । वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज (साउन २७) विश्वासको मत आज लिँदै छन् । उनले विश्वासको मत लिनका निम्ति अपराह्न ४ बजे बस्ने गरी बैठक डाकिएको प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिए ।
बैठकको कार्यसूचीमा विश्वासको मतबाहेक अरू कुनै विषय छैन । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेस आन्तरिक विवादमा रुमल्लिएको छ ।
निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा समूह आफूतर्फका १४ प्रदेशसभा सदस्यमध्ये तीनजनालाई मन्त्री बनाउने सहमति मुख्यमन्त्री बानियाँले कार्यान्वयन नगर्दासम्म विश्वासको मत नदिने पक्षमा अडिग छ । उनीहरू सहमति कार्यान्वयन नभए प्रदेशसभामा अनुपस्थित हुने अडानसहित काठमाडौंमै छन् ।
मुख्यमन्त्री बानियाँले भने जुनसुकै अवस्थामा विश्वासको मत लिने बताएका कांग्रेस वाग्मती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।
“संसदीय दलबाट सबैजनालाई उपस्थितिका लागि ह्वीप जारी भएको छ । उहाँहरू अनुपस्थित हुनुहुन्छ भन्नेमा हामी विश्वास गर्दैनौँ,” महर्जनले बाह्रखरीसँग भने, “आजका लागि विश्वासको मत लिने पूर्वनिर्धारित कार्यसूची छ । त्यो कसैको अनुपस्थितिले रोकिँदैन ।”
बानियाँ कांग्रेसका ३७ र नेकपा (एमाले)का २७ गरी ६४ सांसदको समर्थन देखाएर मुख्यमन्त्री बनेका हुन् । सदनको विश्वास कायम राख्न उनलाई ५६ सांसदको समर्थन आवश्यक पर्छ ।
कांग्रेसका १४ जना उपस्थित नभए सत्तासाझेदार दलका तर्फबाट ५० सांसद मात्र पुग्छन् । यस्तोमा विपक्षीका तर्फबाट विश्वासको मतका पक्षमा मतदान नगरिए सरकार गठनको सातौँ दिनमै ढल्ने अवस्था हुन्छ ।
हालसम्म विपक्षबाट विश्वासको मत दिने निर्णय सार्वजनिक भएको छैन । “मुख्यमन्त्रीले जुनसुकै हालतमा आज विश्वासको मत अघि बढ्छ भन्नुभएको छ,” दलका सचिव समेत रहेका सांसद महर्जनले भने, “विश्वासको मतको परिणामपछि अन्य निर्णयहरू पनि हुँदै जालान् ।”
लामा पक्षका सांसदहरू काठमाडौंमा सामूहिक छलफलमा जुटेका छन् । उनीहरू लामाको राजीनामाअघि गरिएको सहमति कार्यान्वयन नहुँदासम्म विश्वासको मत दिने पक्षमा छैनन् ।
“हामी अहिले सामूहिक छलफलमै छौँ । अहिलेसम्म सहमतिको पालना पनि भएको छैन र हामीले अडान छोडेको वा छोड्ने अवस्था पनि छैन,” लामापक्षीय एक सांसदले भने, “उहाँहरू पेलेर जान खोज्दै हुनुहुन्छ । त्यसकारण हामी आजको सभामा अनुपस्थित हुने सम्भाजना बढी छ ।”
ती सांसदका अनुसार, मुख्यमन्त्रीले नयाँ मन्त्रीहरू नियुक्त गर्दै सहमति कार्यान्वयन गरेमा मात्र प्रदेशसभामा पुग्ने तयारीमा लामा पक्ष छ । “अहिले पनि फोन संवाद भइरहेकै छ । मुख्यमन्त्री पक्षसँग हामी संवादहीनताको अवस्थामा छैनौँ,” ती सांसदले भने, “पार्टी सभापति शेरबहादुर देउवासँग पनि सम्पर्क भइरहेकै छ । तर, सहमतिको पालना हुन्छ/हुँदैन त्यो हामी हेरिरहेका छौँ ।”
लामाविरुद्ध संसदीय दलको नेतामा अविश्वास प्रस्ताव दर्ता गरिनुअघि तीन मन्त्रीले राजीनामा दिएका थिए । उक्त प्रस्ताव दर्तापछि दुई गरी पाँच मन्त्रीले राजीनामा दिएका थिए ।
त्यसरी रिक्त भएका पदमा तत्कालीन मुख्यमन्त्री लामाले प्रदेशसभा सदस्य गोविन्द लम्साललाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका थिए । माया श्रेष्ठ र गीता गुरुङलाई बिनाविभागीयमन्त्रीमा नियुक्त गरेका थिए ।
उनीहरूको शपथको सूचनापछि प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्वस्थ भएको भन्दै काठमाडौं आएका थिए । शपथ रोकिएको थियो ।
त्यति बेला लामाले राजीनामाका निम्ति आफूतर्फका उनीहरू तीनजनालाई मन्त्री बनाउनुपर्ने सर्त गरेका थिए । आफ्नो निवास बूढानीलकण्ठमा सभापति देउवाले दुवैजनालाई आश्वस्त पारेका थिए । त्यसपछि लामाले राजीनामा दिएका थिए । तर, लामा पक्षले बानियाँ मुख्यमन्त्री भएर शपथ लिएकै दिन सहमतिअनुसार अघि नबढेको भन्दै असन्तुष्टि जनाएको थियो ।