site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एलियन

मंगलग्रहबाट केही एलियनहरू ब्रह्माण्डका रहस्य बुझ्न पृथ्वीको भ्रमणमा आएका थिए । मानिसहरूसँग तुलना गर्दा उनीहरूको शारीरिक बनावट निकै भिन्न थियो । ती एलियनहरू सयौँ गुणा बढी बुद्धिमान्, शक्तिशाली र ज्ञानले भरिपूर्ण देखिन्थे ।

उनीहरूको भ्रमणको सम्पूर्ण व्यवस्थापन अमेरिकी अन्तरिक्ष कमान्डले गरेको थियो । अनुवादकको कामचाहिँ इजरायली इन्टेलिजेन्स एजेन्टले गरिरहेको थियो भने स्थानीय विद्वान् बुद्धिजीवीहरू तिनीहरूलाई पृथ्वी चिनाउने मार्गदर्शकको रूपमा साथ दिइरहेका थिए ।

पृथ्वीका नदीनाला, जंगल–पहाडहरूको प्राकृतिक सौन्दर्य देखेर एलियनहरू रोमाञ्चित भए । उनीहरूको ग्रहमा यस्तो हरियाली र विविधता थिएन ।

घुम्दै जब ती सहरतिर प्रवेश गरे, जताततै मन्दिर, मस्जिद, चर्च र गुम्बाहरू देखे । उनीहरूले अचम्म मान्दै सोधे, “यी सबै के हुन् ?”

बुद्धिजीवीहरूले जवाफ दिए, “यी त भगवान् बस्ने स्थानहरू हुन् ।”

अनुवादकले तिनीहरूको भाषामा उल्था गरे ।

एलियनहरू झन् चकित हुँदै सोधे, “भगवान् ! को हुन् उनीहरू ?”

“भगवान् भनेको हामीलाई रक्षा गर्ने, हाम्रो दुःखपीडा हरण गर्ने, सधैँ हाम्रा साथ रहने शक्ति हुन्,” बुद्धिजीवीहरूले स्पष्टीकरण दिँदै भने ।

हिँड्दै गर्दा केही पर बम र गोलीको ठूलो आवाज सुनियो । बारुदको गन्ध र लडाइँको सन्त्रास अनुभूत भयो ।

एलियनहरूले त्यतातिर औँलो ठड्याउँदै सोधे, “त्यहाँ के हुँदै छ ?”

“त्यहाँ युद्ध भइरहेको छ,” बुद्धिजीवीहरूले जवाफ दिए, “देशहरूबीच सिमाना विवादका कारण यस्तो अवस्था सिर्जना भएको हो ।”

एलियनहरू केही समय चुप लागे । अनि, गम्भीर आवाजमा भने, “अहो ! यहाँ त भगवान् भएर पनि युद्ध, पीडा र अशान्ति छ । पृथ्वी त साँच्चै सुन्दर ग्रह हो, तर मानव सभ्यता यति असहिष्णु र आत्मकेन्द्रित छ कि आफैँलाई नष्ट गर्ने बाटोमा उन्मुक्त छ ।”

पृथ्वीमा बढ्दै गएको परमाणु त्रासदी र पर्यावरणको विनाशले उनीहरू निकै चिन्तित देखिन्थे ।

“हाम्रो ग्रहमा न त कुनै सिमाना छन् न कुनै धर्म । न जात । हामी सबै एउटै जातका, एउटै ग्रहका, एउटै उद्देश्यका प्राणी हौँ । यो ब्रह्माण्डलाई जोगाउने हाम्रो साझा धर्म हो । त्यसैले हामी पृथ्वीलाई बचाउन आएका छौँ । अबको केही शताब्दीमा यदि चेतना पलाएन भने मानव सभ्यता र यो हरित ग्रहको अस्तित्व संकटमा पर्नेछ ।”

एलियनहरूका गम्भीर र सुस्पष्ट कुराले विद्वान् बुद्धिजीवीहरू स्तब्ध भए ।

उनीहरू मनमनै सोच्न थाले– साँच्चै हामीले कति संकीर्णता र अहंकारमा सीमित भएर यो सुन्दर ग्रहलाई नै विनाशतिर धकेलिरहेका छौँ ! धिक्कार छ हाम्रो तथाकथित ज्ञान, बुद्धि र प्रविधिलाई, जसले शान्ति होइन, विनाश निम्त्याउँदै छ ।

(हेटौँडा)

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्