
काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यू–१६ युथ लिगमा हिमालयन शेर्पा क्लबविरुद्ध ३–० को सहज जित निकालेको छ ।
बिहीबार (साउन २२) लिगअन्तर्गत सातदोबाटोस्थित एन्फा मुख्यालयमा पुलिसलाई जित दिलाउन समीर कुमारले दुई गोल गरे । दिप्सन पाण्डेले एक गोल गरे । पुलिसले पहिलो हाफमा दुई गरेको थियो । दोस्रो हाफमा एक गोल थप्यो ।
खेलको ३१औँ मिनेटमा दिप्सनले पुलिसलाई अग्रता दिलाएका थिए । ३८औँ मिनेटमा समीरले अग्रता दोब्बर बनाए । ६७औँ मिनेटमा समीरको दोस्रो गोलमा पुलिस ३–० ले अघि बढेको थियो ।
जितसँगै पुलिसले लिगमा ३१ अंक जोडेको छ । शीर्ष स्थानमा पकड जमाएको पुलिसले १२ खेल खेल्दा १० जित, एक बराबरी र एक हारबाट ३१ अंक बनाएको हो । पराजित हिमालयन समान खेलबाट १४ अंकमा सीमित छ ।