site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीको भारत भ्रमण तीन दिनको हुने, नेपालको प्राथमिकतामा छैन ‘सुपुर्दगी सन्धि’
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तीन दिनको हुने भएको छ । भारतीय विदेशसचिव विक्रम मिश्रीको दुईदिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको भारत भ्रमण तीन दिन तय गरिएको हो ।

भारतीय विदेशसचिव मिश्री दुईदिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्केका हुन् । 

“प्रभानमन्त्रीको भारत भ्रमण तीन दिनको हुने भएको छ । भ्रमणको मिति भदौ ३० देखि असोज १ गतेसम्मको लागि तय गरिएको छ,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले बाह्रखरीलाई भन्यो । 

विगतमा पहिले राजधानी नयाँदिल्ली जाने परम्परा तोड्दै यसपटक प्रधानमन्त्री ओली काठमाडौंबाट चाटर्ड उडानमा सिधै बिहार राज्यको बोधगया जानेछन् । बोधगया गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको ठाउँ हो । “सबै द्विपक्षीय भेटवार्ता बोधगयामा हुनेछन्,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणमा दुई देशबीच ‘सुपुर्दगी सन्धि’ नहुने दाबी स्रोतको छ । “सुपुर्दगी सन्धि भारतको प्राथमिकतामा भए पनि नेपालले त्यसलाई प्राथमिकतामा राखेको छैन,” परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो । 

ओली २०८१ असार ३१ गते प्रधानमन्त्री भएपछि गर्न लागेको यो पहिलो भारत भ्रमण हो । यसबीचमा उनले भारत भ्रमण नगरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने दुईपटक भेटवार्ता भएको छ । गत वर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा थाइल्यान्डको बैंककमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओली भारत जानुअघि चीनको भ्रमणमा जाने तयारीमा छन् । सांघाई सहयोग संगठन (एससीओ)को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । 

सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिमा हुँदैछ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् । 

सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् । तियानजिमा पनि प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुनेछ । भारत सांघाई सहयोग संगठनको सदस्य हो भने नेपाल ‘डायलग पार्टनर’ हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्