
काठमाडौं । गल्फ भन्नासाथ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम जोडिन्छ । तर, ट्रम्पको नाम गल्फ खेलका व्यावसायिक खेलाडीको रूपमा नभएर विश्वभर धेरै गल्फ कोर्सहरूको मालिकको रूपमा चिनिन्छ ।
हुन त ट्रम्पलाई गल्फ खेलका राम्रा सोखिन मानिसको रूपमा पनि चिनिन्छ । दुई हप्ताअगाडि मात्र ट्रम्प स्कटल्यान्डमा रहेको आफ्नो टर्नबेरी गल्फ कोर्समा केही समय बिताएर फर्किएका थिए । जहाँ उनले गल्फ खेले, राजनीतिक भेटघाट पनि गरेका थिए ।
ट्रम्प फर्केको एक हप्तापछि अगस्ट १३ देखि १७ सम्म अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सपरिवार स्कटल्यान्डमा गर्मीको छुट्टी मनाउन पुगे । उनले छुट्टीको पहिलो बिहान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टर्नबेरी गल्फ कोर्समा गल्फ खेलेर बिताएका थिए ।
भान्स अघिल्लो बुधबार आफ्नो परिवारसहित एयर फोर्स टूमा स्कटल्यान्ड उडेका थिए । उनी इस्ट आयरशायरको किल्मार्नकबाहिर रहेको एक भव्य कन्ट्री इस्टेटमा बसेका थिए ।
स्कटल्यान्डको निजी भ्रमणको पहिलो दिनमा उनलाई टर्नबेरीसम्म करिब ३० माइलको दुरीमा गाडीमा लगिएको थियो । त्यहाँ उनले अमेरिकी गुप्तचर सेवा एजेन्ट र सैन्य कर्मचारीले भरिएका बग्गीहरूको लहरमा घेरिएर गल्फ खेलेका थिए ।
यो भ्रमण राष्ट्रपति ट्रम्पले केही हप्ताअघि स्कटल्यान्ड भ्रमण गरेको समयमा भएको हो । ट्रम्पले साउथ आयरशायरको टर्नबेरी र एबरडिनशायरको मेनिएमा आफ्नो नयाँ १८ होल गल्फ कोर्समा गल्फ खेलेका थिए ।
बिदा मनाउन गएका भान्स कार्नेल इस्टेट्समा बसेका थिए, जुन १४औँ शताब्दीको टावर र दुईहजार एकडभन्दा बढी जमिनमा रहेको १० बेडरुमको भव्य महल भएको निजी इस्टेट हो ।
गत बुधबार रिसोर्टमा उनको आगमनमा दर्जनौँ प्यालेस्टाइन समर्थक प्रदर्शनकारीहरूले स्वागत गरे । स्कटल्यान्डको प्रहरीले यसअघि नै महत्त्वपूर्ण धरपकडको योजना बनाएको पुष्टि गरेको थियो । आइतबारसम्म इस्टेट वरपरको हवाई क्षेत्रमा प्रतिबन्ध लागु गरिएको थियो ।
समाचारअनुसार, भान्सले स्कटल्यान्डमा पाँचदिन बिताए, जुन उनको ‘बोस’ अर्थात् राष्ट्रपति ट्रम्पले गत महिना देशको भ्रमणमा बिताएको समय बराबर थियो । मंगलबार भान्सले ग्लुसेस्टरशायरको रोयल एयर फोर्स बेस फेयरफोर्डमा तैनाथ अमेरिकी सेनासँग भेट गरेर जहाँ उनले बेसको क्षमताबारे जानकारी लिएका थिए ।
आधिकारिकरूपमा बिदामा भएकाले ह्वाइट हाउसको काममा नभए पनि उनले विदेशमन्त्रीको आधिकारिक निवास, केन्टको चेभेनिङ हाउसमा डेभिड ल्यामीसँग गाजा र अन्य अन्तर्राष्ट्रिय मामिलाबारे छलफल गरेका थिए ।
भान्सले आफूलाई विगतमा स्कट्स (आइरिस हिलबिली)को रूपमा वर्णन गरेका छन् । उनका पुर्खाहरू तीन शताब्दीभन्दा बढी पहिले अमेरिकाको अप्पालाचियन क्षेत्रमा बसाइँ सरेका थिए ।
बीबीसीबाट ।