site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद् सरकारप्रति उत्तरदायी भयो : सांसद कार्की

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले सरकार संसद्प्रति जवाफदेही बन्नुपर्नेमा हाल ठिकविपरीत अभ्यास भइरहेको टिप्पणी गरेकी छन् । बुधबार (साउन २१) प्रतिनिधिसभा बैठकमा उनले यस्तो टिप्पणी गरेकी हुन् ।

“सरकार संसद्प्रति उत्तरदायी हो कि संसद् सरकारप्रति उत्तरदायी हो ? के हो यो ?,” उनले प्रश्न गरिन् ।

सरकार भिजिट भिसाको दुरुपयोगप्रति गम्भीर नभएको भन्दै उनले आपत्ति जनाइन् । “भिजिट भिसाको विरोधी हामीहरू होइनौँ । तर, भिजिट भिसाको नाममा मान्छेहरूलाई मार्ने र हत्या गर्ने जुन काम भएको छ, त्यसको विरोधी हौँ,” उनले भनिन्, “हामीले भिजिट भिसा हुनु हुँदैन भनेर विरोध गरेका छैनौँ ।”

उनले हजारौँ नेपाली महिला वैदेशिक रोजगारीमा गएर यौन दुव्यर्वहारको सिकार भएको, पुरुषहरू बाकसमा फर्केने गरेको देख्दा गृहमन्त्रीको मुटु काँप्दैन ? भन्दै प्रश्न गरिन् ।

“आज हजारौँ दिदीबहिनीहरू वैदेशिक रोजगारमा गएर बलात्कृत भएका छन् । हाम्रा दाजुभाइहरू बाकसमा फर्किएका छन् । आज दिनको ५० हजारदेखि लाख बुझ्ने गृहमन्त्रीको मुटु काँप्दैन ? भ्रष्टाचार त गर्‍यौँ गर्‍यौँ, देश त लुट्यौँ, नेपालीहरूलाई नमार,” उनले भनिन्, “भिजिट भिसाको नाममा नेपालीहरूलाई विदेशमा लगेर नबेच ।”

उनले भिजिट भिसा दुरुपयोगका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरिन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १४:३२
प्रतिक्रिया दिनुहोस्