site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँचतारे होटेल फरेस्ट इनले सञ्चालनको पहिलो वर्ष गर्‍यो साढे १३ करोड व्यापार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको लगानी रहेको पाँचतारे होटेल फरेस्ट इन लिमिटेड सञ्चालनको पहिलो वर्ष १३ करोड ६० लाख रुपैयाँ व्यापार गरेको छ । होटेल गत वर्षको असारदेखि सञ्चालनमा आएको हो । 

राजधानीको बूढानीलकण्ठमा रहेको होटेलको व्यवस्थापन इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप (आईएचजी)ले सम्हालेको छ । ‘होलिडे इन रिसोर्ट’ ब्रान्डमा होटेल सञ्चालन भइरहेको छ । होटेलको अकुपेन्सी रेट २६ प्रतिशत रहेको रेटिङका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । 

होटेलको दुई अर्ब १६ करोड २१ लाख रुपैयाँ ऋण रहेको छ । होटेलले ‘ए’ फोर रेटिङ स्कोर प्राप्त गरेको छ ।  

होटेल फरेस्ट इन सन् २०१० मा मन्त्री खड्काले स्थापना गरेका हुन् । होटेलमा १०४ कोठा रहेका छन् । यस्तै, १.४ हेक्टर क्षेत्रफलमा होटेल पूर्वाधार रहेको छ । साथै, पाँचतारे होटेलमा हुने सबै प्रकारका सुविधाहरू रहेका छन् ।

होटेलमा ऊर्जामन्त्री खड्काका साथै विनिता थापाको ३२ प्रतिशत स्वामित्व रहेको छ । सञ्चालनमा आएको पहिलो वर्ष भएकाले होटेलको इवीटीडीए मार्जिनलगायत अन्य सूचक ऋणात्मक रहेका छन् । 

होटेलले ४० करोड रुपैयाँबराबरको ४० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको छ । आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा एनआईसी एसिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  २१:११
प्रतिक्रिया दिनुहोस्