site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधान नमान्नेहरूले नै संसद् अवरुद्ध पारेका छन् : प्रधानमन्त्री ओली

काठकाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले मात्रै संसद् अवरुद्ध गरिरहेको बताएका छन् । आइतबार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले संसद् नचाहिएकाहरूले मात्रै सदनमा अवरोध सिर्जना गरेको उल्लेख गरे । 

अराजकता र राजा चाहिनेहरूले नै अहिले संसद्‌मा अवरोध गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले संसद्‌भित्रै पसेर संसदीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरूबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गरे । यस्ता समस्या पुराना पार्टीहरूमा पनि रहेको र त्यसलाई हटाउनुपर्ने उनको भनाइ छ । नयाँ राजनीतिक दलहरूले पनि संविधान र कानुनभित्र बसेर आफ्ना अभिव्यक्ति दिन स्वतन्त्रता रहेको बताए ।

"जो मान्छे संविधान मान्दैन, जो मान्छे प्रणाली मान्दैन, लोकतन्त्र मान्दैन, संसदमा त्यस्ता मानिसहरू छन् र संसद् अवरुद्ध गरिरहेका छन् । उनीहरूलाई संसद् चाहिएकै छैन । संसद् किन चाहियो ? त्यसकारण उनीहरू संसद् देख्न सुन्न मान्दैनन् । भित्रै पसेर भत्काउने, भित्रै पसेर आगो बाल्ने, सोचमा भएका मानिसहरू भएपछि अनि प्रणालीमा समस्या उत्पन्न हुँदैन ?," ओलीले भने । 

प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलंका वा बंगलादेश कुनै पनि नबन्ने बताए । व्यवस्थामाथि प्रहार गर्नेविरुद्ध प्रतिकार गर्न पनि तयार रहेको उनको भनाइ छ । 

 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १६:१७
प्रतिक्रिया दिनुहोस्