site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
भुन्टीको वेदना

साउन १५ अर्थात् खीर खाने दिन । दिनभर रोपो गोड्ने कामदारहरूलाई बिदा गरी भीमराज गोठ फर्किने सुरमा थिए । तर, त्यसअघि खेतमा पानी सोझ्याउनु जरुरी थियो ।

आज उनको कान्ले खेतमा पानी लगाउने पालो पनि हो । भोलिको पालो अरू कसैको छ, दंगासेतिर ।

उनले कुलोतिर दृष्टि दिए । कुलोमा थोपो पानी थिएन । मुहानतिर कसैले कैफियत गरे होलान् ! उनी काँधमा कोदाली हाली मुर्मुरिँदै उतै सोझिए ।

हो त नि ! मुहानका एक पोखरेलको कैफियत रहेछ । आफ्नो पालो हिजै भए पनि उनले आज पनि दागा धरेछन् ।

यामानका चपरी हाली आफ्नोतिर सोझ्याएको पानी चोरीको शैलीमा आफ्नैतिर भाँचे । फतफताउँदै पानी आफ्नैतिर सोझ्याउने धुनमा उनी लागे । पानीको वेग धेरै भएर हो कि कसो, पानीले साबिक दिशा परिवर्तन गर्न इन्कार गरिरहेको थियो । वेग रोकिएन ।

उनले कम्मरको पटुकी अझ राम्रोसँग कसे । छेवैको डिलमा मरिकुच्चेका चपरी काटे । अनि, भटाभट पानी थुन्ने धुनमा लागे ।

ती यामानका चपरीले आफ्नो सामर्थ्य देखाए । पानी पुनः मूल कुलोतिर बग्न थाल्यो ।

‘चार भित्ताको खेत छैन, नाथेहरूलाई यत्रो आरिस किन जागेको !’ भन्दै फतफताउँदै उनी कुलैकुलो फिर्ता भए । एकैछिनमा पानी उनैलाई पछ्याउँदै उनको कान्ले खेततर्फ सोझियो । सिरानीको गरोबाट समाहा छुट्यो ।

साँझ परिसकेकोले अब कसैले कैफियत गर्ने छैनन् भनी ढुक्क हुँदै उनी गोठतिर लागे ।

भर्खर ब्याएको लाहुरी भैँसीलाई खड्कुलामा बिहानै पकाइराखेको कँुडो दिए । छेवैको अर्को लैनोलाई भने पालीको कुनामा थुपारिएको दुई मुठा बन्सो हालिदिए । अनि, भोलिपल्ट बिहानका लागि कुँडो बसालिदिए ।

केही बेरमा दूध दुहुने तरखर गरे । पहिलो पालो लाहुरीकै थियो । फाँचो ठूलो र राँकिएका रहेछन् । पाडो खोजेर हत्तु देखियो भैँसी ।

यता एकपाथे ढुंग्रो टम्म भरिँदा मक्ख देखिए भीमराज । तल सुगुरेबाट छ महिनाअघि मात्र दुई हजारमा किनेर ल्याएकोमा गनिमत सम्झिए ।

अब दूध दुहुने पालो अर्काे भैँसीको थियो । त्यसले पनि छमाने ढुंग्रो झन्डैझन्डै भरिदिएको थियो ।

दुवै ढुंग्रोे पाली खाँबोको कापमा सरक्क झुन्ड्याए । अनि, हतारहतार छेवैको एक अँगालो बडहर झारी पालीको कुनामा थन्क्याए । अब उनलाई गोठ निरीक्षण गर्नुपर्छ भन्ने लाग्यो । अघिल्लो दिनको घटनाले झकझकाइदिएको छ । लाहुरीको पाडोले किलाबाटै तनक्क तन्किएर आधा दूध फाँचैबाट स्वाहा पारेछ ।

केही फतफताउँदै त्यसलाई अलिक कुनामा सारे अनि फर्केर हेरे । अब उनलाई हिजोको घटना दोहोरिन्न भन्ने विश्वास भयो ।

उनले खेततिर झर्ने डगरमा लगाइएको तगारोतर्फ नियाले । हिजो सबैभन्दा माथिको तगारो लगाउन बिर्सेकाले थारो माली गाई पसी सुत्ला मात्र लाग्न खोजेका मकै स्वाहा पारेको चोट उनमा ताजै छ । त्यसैले त्यो तगारो लगाईवरी दोहोरो जाँच गर्न भ्याए ।

साँझको झन्डै सात बज्न लागिसकेको थियो । भोक पनि लागेको थियो । उनी झल्यास्स भए, ‘आज त साउन १५ पो, खीर खाने दिन पो !’

बेसी झर्न लाग्दा बुढियाले अलिक छिटो आउन भनेकी थिइन् । भसक्कै बिर्सेछन् उनले ! सम्झनासाथ हतारहतार गाउँतिर हिँडे । 

०००

खोइ कताबाट हो, घरमा वर्षौंदेखि पालेको खैरे कुकुर टुप्लुक्क आइपुग्यो । प्यारो कुकुर भएर होला, भीमराजले उसलाई सुम्सुम्याए । अनि, कहिले खैरे अघि कहिले मालिक अघि हुँदै उनीहरू गाउँको उकालो लागे ।

भीमराजका दुवै हातमा भरीभरीजस्तै दूधका ढुंग्र्रा झुन्डिएका थिए । दियालथाननजिक अलिक टाढाका नाताले भाइ पर्ने चन्द्रु भेट भए । उनको गोठ, खेत दंगासेपट्टि भएकोले उनी त्यताबाट उकालो लागेका थिए ।

दियालीथान दुवैतर्फको चढाइको जमघटविन्दु हो । पिठ्युँमा मकैको भारी अनि हातमा रित्तो ढुंग्रो देख्दा उनी आश्चर्यमा परे ! जिज्ञासा राखे, “भाइ, आज किन रित्तो ढुंग्रो ?” 

“आजको मुसलधारे पानीले घोक्सिला खोलो अकस्मात् बौलाएछ ! तर्न खोज्दा दूध घोप्टियो । धन्न ज्यान भने बच्यो,” चन्द्रुले बेलीविस्तार लगाए । भीमराजले सहानुभूति व्यक्त गरे ।

चन्द्रुले हातको राँको उनीतिर सोझ्याए । अनि, भरि ढुंग्रो देखेर चन्द्रुले जिब्रो काढे । भर्खरै किनेर ल्याएको उनको लाहुरी भैँसीले वाहवाही पायो । गफ गर्दै दुवैजना अघि बढे ।

भीमराज अघि थिए, चन्द्रु पछिपछि । पेटको भोक र साउन १५ को सम्झनाले होला, भीमराजको पाइला हतारमा अघि बढ्दै थियो ।

चन्द्रुको ढाडमा भने मकैको भारी भएकोले होला, उनले हापे । भने, “दाजु, तपाईं जाँदै गर्नुस् । म बिस्तारै आउँछु ।”

कोलचौर पुगेपछि भीमराज एक्लै अघि बढे । हातहरू थाकेका रहेछन् क्यार, दुवै ढुंग्र्रामध्ये कहिले ठूलो ढुंग्रो उनको देब्रे हातमा पुग्थ्यो भने कहिले सानो ।

भदौ महिनाको साँझ भएर होला, हावा फिटिक्क चलेको थिएन । भीमराज पसिनाले निथ्रुक्क भइसकेका थिए । घर पुगेर ढुंग्रो बिसाउने आतुरता पक्कै छाएको थियो उनमा ।

बारीको डिलमा अर्थात् सदियौँदेखिको भोर्लाको बोट आइपुग्दा उकालो सकिन्छ र समथर जमिन सुरु हुन्छ । सात घर झुरुप्प बसेको उनको गाउँ आइपुग्यो । त्यसैले होला, खैरे उनको पिछा छोडी अघिअघि बढ्यो । उनको पाइलाले पनि रफ्तार समात्यो ।

घरको कुइनेटोमै एक चलायमान सानो गाँठीको वस्तु उनीसँग ठोक्किन पुग्यो । धन्य उनी लड्नबाट जोगिए । दूधको ढुंग्रोचाहिँ नराम्रोसँग छचल्कियो । पोखिनचाहिँ पाएन । उनी चौपट्टै खुसी भए ।

तथापि, उनको खुसी धेरै बेर टिकेन । भीमराजसँग ठोक्किने कुनै कुकुरबिरालो थिएन । त्यो त एक अबला, पानी नचल्ने जातकी सानी फुच्ची थिई !

गरिबको समस्या त्यही न हो, पेट भर्नैका लागि सानैदेखि विष्ट भनिने ठूलाबडाकहाँ गोठालो बस्नुपर्ने । घरेलु काम गर्नुपर्ने । ऊ पनि कृष्णराजको घरमा गोठालो थिई ।

उसमा कस्तो लत बसेछ कुन्नि, बिँडी खानैपर्ने ।

दिउँसो कसैले दिएको लामपाते सुर्तीबाट उसले बिँडी बनाएकी थिई, सतिबयरको पातमा बेरेर । अभागले घेरेछ क्यार त्यति बेलै उसलाई । बिँडी सल्काउने धुनमा आगो खोज्दै ऊ पल्लो घरतिर लागेकी मात्र थिई, त्यतिखेरै यो ‘दुर्घटना’ भइदियो ।

००० 

आफूसँग ठोक्किने भुन्टी भएको थाहा पाउनेबित्तिकै भीमराजको शरीरमा ह्वात्तै एक सय चार ज्वरोको ताप नाघ्यो ! हत्तपत्त दुवै ढुंग्रा भुइँमा बिसाई उनी पाशविक चरित्र देखाउन थाले ।

पहिले त भुन्टीलाई बेस्सरी जगल्टाए । र पनि रिस मरेन । जगल्टा तान्दै पारि मझेरीसम्म घिस्याए । त्यो ५५ वर्षे लक्काको थप्पड र लात्तो लगातार बर्सिन लाग्यो । भुन्टी मानौँ मानिस हैन, भकुन्डो हो ।

छरछिमेक खीर पकाउन लागेका होलान्, तत्काल कोही बाहिर निस्केनन् । भीमराजकी बुढी भने छिटको सारी माथिमाथि सार्दै देखापरिन् । अनि भनिन्, “यो केटी त कम्ता मापाकी भा’की छे ब्यारे !”

चोट अत्यधिक खाइछ क्यारे, चिच्याउँदै गरेकी भुन्टीको वाक्य बन्द भइसकेको थियो । ऊ मुढोझैँ लडेकी थिई ।

केही बेरमै सातै घरका सबैको त्यहाँ मेला लागिसकेको थियो । तर, बोली कसैको फुटेन । ती ‘के भएको ?’ भनेर निरीहझैँ जिज्ञासा मात्र राखिरहेका थिए । 

त्यति बेलासम्म चन्द्रु पनि आइसकेको थियो । मकैको भारी बिसाई ऊ त्यहाँ उभियो । 

एकमनले सोच्यो, ‘छिमेकी दाइले कस्तो अत्याचार गरेछन् । दूध नाश भएर के भो ? मेरो पनि त खोलो तर्दा सबै दूध घोप्टियो नि ! मैले कसलाई उजुर गर्न जाऊँ ?’

आफ्नो भित्री मनमा लागेको कुरा भनिदिऊँ कि झैँ लाग्यो उसलाई । तर, आँट गर्न सकेन । चुपचाप बस्यो ।

उता भीमराजकी बुढी अर्थ्याउँदै भुन्टीको अर्घेल्याई पुष्टि गर्दै थिइन् । आफ्नै घरमा बसेकी सानी केटीको यो हालत कृष्णराजकी बुढियालाई समेत थाहा भयो । उनी थप्रेकबाट हेरिरहेकी थिइन् ।

पछि फरियाको सप्कोले टाउको छोप्दै संकोचका साथ भीडमा देखापरिन् । तर, बोल्ने हिम्मत उनीसँग पनि भएन ।

खासमा उनले बोल्न खोजेकी त हुन्, तर जेठाजुसँग के मुख लाग्नु भनी मुख खोल्न सकिनन् । आफ्ना बुढा त्यहाँ भइदिए न्यायको पक्षमा दुईचार शब्द निस्किन्थ्यो कि भन्ने कल्पना मात्र गरिन् ।

बरु, हतारहतार अम्खोरामा पानी ल्याएर भुन्टीको मुखमा बिस्तारै चुहाइन् । अनि, अनुहारमा पटकपटक छ्यापिन् । भुन्टी ब्युँतिई ।

उता क्षत्रिनी बज्यैलाई पनि धेरै करुणा लागेछ क्यार, कचौरामा सक्खर पानी बनाई ‘यति खा नानी’ भन्दै थिइन् । आखिर उनी टोलकै ममतामयी बुढी थिइन् ।

भुन्टी भने पीडाले ‘ऐया...ऐया...’ मात्र भन्दै थिई । कसैले उसकी आमा मसिनीलाई पर पुहुनीटोलमा खबर गरिदिएछ क्यारे, निसास्सिँदै आइपुगी । भावावेशमा पहिलो दुईचार मिनेट त केही बोल्न सकिन । खालि उसलाई सुम्सुम्याएर टोलाइ मात्र रही ।

पछि वाक्य फुट्यो, “के बिमाख गरी र मुखिया, मेरी छोरीले ?”

मुखिया शब्द दलितहरूले ठूलाबडालाई मानार्थ सम्बोधन गर्ने शब्द थियो त्यस भेगमा । उसले अलिक कडा स्वरमा जिरह गर्ने सुर नकसेकी होइन । तर, उता भीमराजको बुढीले आँखा तरिन् ।

मसिनी झस्किई । मजुरीमा कटाउने सर्तमा उसले उनको घरबाट लिएको पाँच पाथी धान चुक्ता भएको छैन । बिरामी बुढा अझै ओछ्यानमै छन् । ऊ नतंग्रिएसम्म फरफारक गर्ने त कुरै छोडौँ, थप बैना मजुरी माग्नुपर्नेछ । उनले ‘हुन्छ’ पनि भनेका छन् ।

यो सम्झेर ऊ झन् हच्किई । उसको मुख बन्द रह्यो ।

केही बेरमा सबै आ–आफ्ना घर पसे ।

भुन्टीकी आमाछोरीले कृष्णराजकै थप्रेकमा रात काटे । धन्य त्यो गर्मीयाम थियो । तर पनि बुढियाले एउटा सत्रन्जी र पातलो काम्लोचाहिँ दिएकी थिइन् ।

बिहानपख बल्ल भुन्टीको ऐयाआत्था केही कम भएकोले होला, दुवै आमाछोरी निदाएझैँ लाग्दै थियो ।

०००

अर्को तीन दिनमा मसिनीको बुढालाई ज्वरो अलिक कम भयो । भित्रबाहिर गर्न थालेको थियो । पुहुनी टोलका सार्की, दमाइँ अनि कामीलाई उनीहरूबीच एक पञ्चायती गर्नका खातिर मसिनीले सबै घरमा खबर गरी ।

‘हुन्छ’ भन्ने धेरै थिए । कोहीचाहिँ ठूलाबडा (उनीहरूको शब्दमा विष्ट)सँग पौँठाजोरी खेल्न नसकिने कुरा बताइरहेका थिए ।

जे भए पनि पुहुनी टोलको छेउ खहरे डिलमा पञ्चायती बस्नेचाहिँ भयो । मसिनी जोडी छोरी भुन्टीलाई लिएर बिहान सातै बजे ठाउँमा पुगिसकेको थियो । नौ बजिसक्दा पनि दुईचारजना मात्र देखिए ।

जम्मा भएकाहरू मध्ये कसैले आफूउपर उपल्लो जातले गरेको चरम घृणाका बारेमा क–कसले बोलिदिने भनी आ–आफूमा मन्द गनगन गर्दै थिए । यस्ता एकदुईको गन्थनको के नै अर्थ र, टोलकै सर्वाधिक मानिसले उपस्थिति समेत नजनाइदिएपछि !

कसैलाई विष्टहरूकोमा बनी गर्न जानुपर्ने भो भने । कसैलाई अरू नै कामले फुर्सद भएन रे ! कोहीचाहिँ विष्टसँग सिँगौरी खेल्न सकिँदैन भनी पन्छिए ।

आउनेमध्येका सबैभन्दा पाका अनि धेरैले गणना पनि गर्ने मिश्रे सार्कीले मुख खोल्यो, “हेर भाइ, हाम्रोबीच मात्र मिटिङसिटिङ गरेर केही हुनेवाला छैन । बरु, माथ्लाटोल जिम्वाल बाकहाँ जाऊँ, बरु म पनि गइदिन्छु ।”

मसिनी जोडीलाई ठिक हो झैँ लाग्यो । तिनले खिन्न भावमा भने, “आखिर आफ्नै टोलका धेरैले चासो नदिएपछि के गर्नु ?”

अनि सोचे, ‘भलै जिम्वाल बा गरिब छन्, उनको साख ठूलै छ । गाउँका जेठाबाठामध्येका हुन् । आखिर जिम्वालका सन्तान न परे ! यसभन्दा अघि पनि गाउँको पञ्चेतीमा उनले एकदुईजनालाई न्याय दिएकै हुन् ।’

०००

भुन्टीलाई डोर्‍याउँदै मसिनीका जोडी माथ्लोडाँडा जिम्वाल बाको घरतर्फ लाग्यो । मिश्रे पनि साथै लागिदियो ।

जिम्वाल बा कोदो रोप्दै रहेछन् । हात टकटकाउँदै सोधे, “कति कामले आयौ ?”

भुन्टीको चोटपटक अनि थिलथिलो अनुहार साक्षी राख्दै तिनले सबै बेलीविस्तार लगाए ।

जिम्वाल बाले मन्द स्वर निकाले र भने, “हल्ला त सुनेको थिएँ ।” उनले थपे, “यस्तो औधी त गरी नहाल्नुपर्ने !”

धेरै कुरा त उनले गरेनन्, तर हाउभाउबाट स्पष्टचाहिँ हुन्थ्यो कि उनी पनि हच्केका छन् । नामले जिम्वाल त हुन् तानि, तर यसअघि उनले समेत भीमराजबाट थुप्रै सापटी खाएका छन् । उनको त्यो ठूलो गाईगोठजस्ता छाउराछाउरीलाई पाल्न गाउँघरका हुनेखानेबाट सापटी त लिनैपर्‍यो नि !

सायद थप सापटीको फिराकमा छन् । उनले प्रधानपञ्च रामशरणकहाँ जान सुझाउँदै पुनः कोदोको मेलोमा फर्के ।

मसिनीको परिवारलाई पनि ‘हो त नि’ झैँ लाग्यो अनि त्यता सोझिए ।

०००

भेट हुने हो कि होइन भन्ने शंका लिँदै तल्लोटोल रामशरणकहाँ झरेका थिए उनीहरू । संयोग नै भन्नुपर्छ, उनी आँगनमै भेटिए । उनी समाजसेवी हुन् । कसैले कतै कामविशेषले बोलायो भने गाँसै छोडी हिँडिहाल्छन् । धन्य भर्खरै नाकाजोली पुगेर तीन दिनपछि फर्केका थिए । हायु दाजुभाइको जग्गा सिमानामा लफडा परेकोले मिलाउन गएका थिए रे !

मिठो स्वर र सहयोगी भावनाका धनी प्रधानपञ्चले मन्त्रमुग्ध स्वरमा सोधे, “कति कामले आयौ मिजार ?”

यहाँ सुनवाइ हुने पुरापुर आशाले मसिनीले सबै बेलीविस्तार लगाई । प्रमाणस्वरूप उसले भुन्टीको घाउचोट अनि सुन्निएको शरीरतिर देखाई । उसका बुढाले पनि घटना पुष्टि गर्ने गरी थप कुरा राख्यो ।

मिश्रेले पनि उनीहरूको समर्थनमा कुरा बोलिदियो । भुन्टी भने उसको सुन्निएको मुखलाई उधोमुन्टो गरी साक्षीजस्तै मात्र टोलाइरहेकी थिई ।

मिठो स्वर आखिर मिठोमै मात्र टुंगियो ! उनले भने, “हेर मिजार, मैले गर्ने भनेको पञ्चायती नै हो । त्यो त तँलाई पनि थाहा छ । म पनि सघाइदिऊँला । तर, हेर बाबु, भीमराजविरुद्ध यो गाउँमा कसैले बोल्ने हिम्मत गर्न सक्दैन । आखिर मर्दापर्दा सरसापट गर्ने ठाउँ त्यही हो । सबै मौन साक्षी मात्र बसिदिन्छन् । बरु, उनैको पक्षमा मुख खोल्लान् । कदाचित त्यस्तो भइदिएमा तिमीहरूले र मैले बैरी मात्र कमाउनेछौँ । आखिर के नै फाइदा भो र ! बरु, एक काम गर, तिमीहरू सिधै सदरमुकाम सिन्धुली आजै गइहाल । बरु, म लेखनदास अनि वकिलको नाम ठेगाना दिन्छु ।”

उनले गाउँ पञ्चायतको लेटरप्याड झिके । के ठाने कुन्नि, पहिचान खुल्ने विवरण सरक्क च्याते र गुटुमुटु पारेर काठे बरन्डाबाट बारीतिर हुत्याए । सम्भवतः उनले त्यो प्रक्रियामा उनीहरूलाई सघाउन खोजेको प्रमाण लुकाउन चाहेका हुँदा हुन् । आखिर भीमराजलाई किन व्यर्थै चिढ्याऊँझैँ लाग्यो उनलाई ।

खाली कागजमा दुई लेखनदास, एक वकिल अनि जिल्ला अदालत सिन्धुलीमाढीको थातठेगाना लेखेर मसिनीको हातमा दिए ।

उता लेखनदास, वकिल र अदालतको नाम बिरलै सुनेका मसिनी जोडी टोलाउँदै एकछिन उभियो अनि ‘पुनः मुसीको भव’को भावमा घरतिर सोझियो ।
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्