
धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले १५ वर्षीया किशोरी अञ्जलीकुमारी यादवको हत्या आरोपितलाई पक्राउ गरेको छ । आरोपित क्षीरेश्वरनाथ नगरपालिका–९, इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरी प्रहरीले बिहीबार (साउन १५) सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरीका अनुसार, धनुषाको बटेश्वर गाउँपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–४, कटैयाचौरीस्थित डेरामा बस्दै आएकी अञ्जलीमाथि गएको सोमबार (साउन १२) राति खुकुरी प्रहार गरी हत्या गरिएको थियो ।
आरोपित रामबाबुलाई बुधबार (साउन १४) राति करिब साढे १० बजे क्षीरेश्वरनाथ नगरपालिका–९ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले जानकारी दिए ।
रामबाबु यसअघि आफ्नी श्रीमतीको हत्या गरी पाँच वर्ष जेल सजाय काटेर ०७७ सालमा रिहा भएका थिए । साहले सोमबार राति खुकुरी प्रहार गर्दा अञ्जलीको मृत्यु भएको थियो । अञ्जलीकी आमा ३५ वर्षीया आशा र मिथिला नगरपालिका–१, ढल्केवरकी १४ वर्षीया राधा यादव घाइते भएका थिए ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आशाको उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
रामबाबु आशाका प्रेमी रहेको र उनकै कारण घटना घटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रनाउ सिंहका अनुसार, आरोपित रामबाबु सजाय काटेर रिहा भएको केही महिनापछि दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए । सोहीक्रममा मदिरा पसल सञ्चालन गरिरहेकी आशासँग उनको चिनजान भई प्रेम सम्बन्ध गाँसिएको थियो ।
“आशाको श्रीमान्लाई दुवैजनाको सम्बन्धका बारेमा थाहा भएपछि दुवै पक्ष बसेर गाउँमा छलफल गरी आशालाई रामबाबुको जिम्मा लगाउने सम्झौता भएको रहेछ,” उनले भने, “श्रीमान्ले दुई छोरा र एक छोरीको हेरचार गर्ने सहमति भएपछि उनीहरू छुट्टिएका रहेछन् ।”
आशाको सुरुमा आर्थिक अवस्था कमजोर थियो । पछि आर्थिक अवस्था सुध्रँदै जाँदा रामबाबुसँग टाढिएको र पूर्वश्रीमान्सँग नजिकिन थालेपछि हत्या गरेको उनले प्रहरीसमक्ष बयान दिएको प्रहरी प्रनाउ सिंहले जानकारी दिए । रासस