site stats
बाह्रखरी :: Baahrakhari
देश
हायू परिवारले राज्यलाई दिएको सन्देश

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, छेत्पाका उर्मिला हायूको १६ जनाको परिवारले पाँच दिनअघि थातथलो छाडेका थिए । पछिल्लो समय देशभर बसाईं–सराईका क्रम तीव्र चलिरहेका बेला हायू परिवारले पनि आफ्नो खुसी र सुख निम्ति त्यसरी निर्णय लिनु आश्चर्यको कुरा थिएन । तर, हायू परिवारले थातथलो छाडेको चार दिनपछि एकाएक चर्चा पायो ।

हायू परिवारको संरक्षण गर्न राज्यले मासिक भत्तासमेत उपलब्ध गराइरहेको छ । उनीहरूलाई सरकारले मासिक जनही चार हजारका दरले भत्ता उपलब्ध गराउँदै आएको छ । 

तर, शुक्रबार उनीहरूले थातथालो छेत्पा नफर्किने गरी छाडे, त्यो पनि रहस्यमय ढंगले । त्यहीकारण हायू परिवारले थातथलो छाड्दा यति धेरै चर्चा मात्रै भएन, प्रहरीलाई त खोजीका लागि चौतर्फी दबाब बढ्यो ।

हायू परिवारले घर छाड्दा घरमा पालेका भैँसी, बाख्रा र कुखुरासमेत गोठमै छाडेका थिए । त्यहीकारण उनीहरूको थातथलो छोडाइ सामान्य ठानिएन । हायू परिवार बेपत्ता भएको आशंका गरियो । उनीहरूबारे समाचार सार्वजनिक भएपछि प्रहरीले खोजी तीव्र पार्‍यो ।

प्रहरीले अन्ततः हायू परिवार पोखरा पुगेको पत्ता लगायो । उर्मिला हायूको परिवारले गाडी बुक गरी कास्कीको पोखरा महानगरपालिका–३०, गगनगौडा पुगेको खुल्यो । उनीहरूले सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा डेरा लिँदै बसेको भेटिएको छ ।

मंगलबार बिहानै हायू परिवारलाई आफन्तको जिम्मा लगाइएको छ । उर्मिलासहितका हायू परिवारलाई ज्वाइँ नाता पर्ने धनबहादुर तामाङको जिम्मा लगाइएको हो । धनबहादुर सम्पर्कविहीनमध्येकी कमला हायूका पति हुन् । 

प्रहरीको प्रारम्भिक सोधपुछमा हायू परिवारले घरमा अशान्त, बालबच्चाहरू बिरामी भइरहने र धामीले घर छाड्ने सल्लाह दिएपछि घर छाडेको प्रतिक्रिया दिएका छन् । आफ््नो परिवारबारे सार्वजनिक समाचार उनीहरूलाई निको लागिरहेको छैन ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि बस्नेतका अनुसार, उनीहरू पोखराबाट सिन्धुली नफर्किने बताइरहेका छन् ।

सोधपुछका क्रममा हायू परिवारले भनेको कुरा उद्धृत गर्दै डीएसपी बस्नेत भन्छन्, ‘‘परिवारमा दुःख र अशान्त हुन थालेपछि घर छाडेर हिँडेका हौँ । अब सिन्धुली फर्किदैनौँ । यहीँ कतै डेरा लिएर काम गरी बस्छौं ।’’

सोधपुछका क्रममा प्रहरीले उनीहरूमा परम्परागत सोच र अन्धविश्वास व्याप्त रहेको पायो । जुन समाजका लागि चुनौती हो । राज्यप्रति प्रश्न हो । अझ एआइको युगमा संसार पुग्दा राज्यको तहबाट हायू परिवारलाई अन्धविश्वासबाट उठाउन नसक्नु राज्यको कमजोरी हो ।

हायू परिवार मात्रै होइन, संयोग सिन्धुलीकै ५२ वर्षीय त्रिलोचनराज घिमिरेको मनोभाव पनि अन्धविश्वासबाट नै गुज्रिएको देखिन्छ । सिन्धुलीको कमलामाई नगरपालिका–५ का घिमिरे शुक्रबार बिहानै चितवनको देवघाट पुगेर नारायणी नदीमा डुबे । 

उनी अझै बेपत्ता छन् । प्रहरीका अनुसार, देवघाटको पुलबाट नदीमा हाम फाल्नुअघि उनले देवघाटका मानव आश्रमहरूमा दान दिएका थिए । एक छोरा, एक छोरी श्रीमतीको खुसी परिवारलाई विलखबन्दमा पारेर घिमिरे नारायणी नदीमा बेपत्ता छन् । 

 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्