
सप्तरी । सप्तरीको खडक नगरपालिका–११ मा करेन्ट लागेर स्थानीय ५८ वर्षीय मो युनुस मियाँको मृत्यु भएको छ ।
शनिबार (साउन १०) आफ्नै खेतमा पानी पठाउने क्रममा उनलाई करेन्ट लागेको थियो । पानी तान्ने विद्युत्बाट चल्ने मोटरमा करेन्ट लागेर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईले जानकारी दिए ।
उनका अनुसार, करेन्ट लागेर घाइते भएका मियाँलाई उपचारका निम्ति राजविराजस्थित छिन्नमस्ता अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
किशोरीको शव फेला
सप्तरीको कञ्चनरूप नगरपालिका–१, बैरवामा १७ वर्षीया किशोरीको आफ्नै सुत्ने कोठामा झुन्डिएको अवस्थमा शव भेटिएको छ । स्थानीय अमोद पुर्वेकी छोरी ज्योतिकुमारीको शव कोठामा झुन्डिएको अवस्थमा फेला परेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
यस्तै, बिहीबार साँझदेखि हराइरहेका सप्तरीको डाक्नेश्वरी नगरपालिका–६ का २७ वर्षीय शिक्षक रामकिसुन राय मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५०० मिटर टाढा रहेको कोसी नहरको छेउमा शनिबार बिहान रायको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस