site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अज्ञात समूहको आक्रमणमा इरानमा ६ जनाको मृत्यु, २० घाइते

काठमाडौं । दक्षिणपूर्वी इरानमा अज्ञात आक्रमणकारीले शनिबार एउटा अदालत भवनमा बन्दुक र ग्रेनेडले हमला गर्दा एक बालकसहित ६ जनाको मृत्यु भएको छ । २० जना घाइते छन् । त्यसक्रममा सुरक्षाकर्मी र आक्रमणकारीबीच गोली हानाहान भएको थियो ।

उता, इरानको अशान्त दक्षिणी प्रान्त सिस्तान र बलुचिस्तानमा भएको सशस्त्र झडपमा सुरक्षाकर्मीले तीन बन्दुकधारीको ज्यान लिएका छन् । आक्रमण प्रान्तको राजधानी जाहेदानमा भएको थियो । सुरक्षाकर्मीले राजधानी तेहरानबाट ११ सय ३० किलोमिटर दक्षिणपूर्वस्थित उक्त घटनास्थल तत्काल नियन्त्रणमा लिएका छन् ।

सुरक्षा बलसँग नजिक मानिने अर्धसरकारी तस्नीम समाचार एजेन्सीको एक रिपोर्टले यो आक्रमणका निम्ति आतंकवादी समूह जैश अल–अदललाई जिम्मेवार ठहर्‍याएको छ ।

आतंकवादी संगठनबाट इरानको पूर्वी सिस्तान र पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको स्वतन्त्रताका निम्ति यस्ता आक्रमण भइरहन्छ ।

अफगानिस्तान र पाकिस्तानको सीमासँग जोडिएको यो प्रान्त आतंकवादी समूह, सशस्त्र लागुऔषध तस्कर र इरानी सुरक्षा बलबीच कहिलेकाहीँ हुने घातक झडपको केन्द्र हो । गत अक्टोबरमा यो प्रान्तमा एक इरानी प्रहरी समूहमाथि गरिएको आक्रमणमा कम्तीमा १० अधिकारी मारिएका थिए ।

सिस्तान र बलुचिस्तान प्रान्त इरानको सबैभन्दा कम विकसित क्षेत्रमध्ये एक हो । यो क्षेत्रका सुन्नी मुस्लिम बहुल बासिन्दा र इरानको शिया समुदायबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण छ । रोयटर्सबाट ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्