
काठमाडौं । सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ परेका छन् । पीडितले प्रहरीको टोल फ्री नम्बर १०० मा फोन गरेपछि उनलाई काठमाडौंको टोखाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीमाथि पीडितले २२ करोड रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् ।
अग्रवाल पटकपटक विवादमा आइरहने सेयर लगानीकर्ता हुन् । उनीमाथि सेयर बजारमा चलखेल गर्ने गरेको आरोप लाग्ने गरेको छ । अग्रवालले सेयर किन्न सर्वसाधारणलाई उस्काउने र आफूले किनेको सेयर बेचेर बाहिरिने गरेको आरोप लाग्दै आएको छ ।
उनले फेसबुक, टिकटक, क्लबहाउससहित विभिन्न सामाजिक सञ्जालमा उनले साना लगानीकर्तालाई प्रभावमा पार्ने गरी अभिव्यक्ति दिइरहेका हुन्छन् । उनका क्रियाकलापमा नेपाल धितोपत्र बोर्डले पनि निगरानी बढाएको छ ।
यसअघि, अग्रवाल र सिप्ला सेक्युरिटिज (ब्रोकर नम्बर २०)बीच पनि विवाद देखिएको थियो । सिप्ला सेक्युरिटिजले ०८१ असोजमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा समेत उजुरी दिएको थियो । अग्रवालले १६ करोड रुपैयाँ नदिएको आरोप सिप्ला सेक्युरिटिजको थियो ।
सम्बन्धित समाचार