काठमाडौं । इरानले गत महिना इजरायलसँगको द्वन्द्वमा क्षतिग्रस्त हवाई रक्षा प्रणालीहरू प्रतिस्थापन गरेको छ ।
यो जानकारी नियमित सेनाका उप–प्रमुख (अपरेसन्स) महमूद मूसावीलाई उदृत गर्दै इरानको डिफा प्रेस समाचार एजेन्सीले आइतबार दिएको रोयटर्सले बताएको छ ।
जुन महिनाको द्वन्द्वमा इजरायलको वायुसेनाले इरानको हवाई क्षेत्रमा प्रभुत्व जमाउँदै देशको हवाई रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको थियो । तर, इरानी सशस्त्र बलहरूले इजरायली भूभागमा लगातार मिसाइल र ड्रोन आक्रमणहरू गरेका थिए ।
“हाम्रा केही हवाई रक्षा प्रणालीहरू क्षतिग्रस्त भएका थिए जुन हामीले लुकाउन सक्ने कुरा थिएन । तर, हवाई क्षेत्र सुरक्षित गर्न हाम्रा सहकर्मीहरूले स्वदेशी स्रोतहरू प्रयोग गरेर तिनलाई उपयुक्त स्थानहरूमा भण्डारण गरिएका पूर्वयोजनाबद्ध प्रणालीहरूसँग प्रतिस्थापन गरेका छन्,” मूसावीले भने ।
युद्धअघि, इरानसँग आफैँले बनाएको लामो दूरीको हवाई रक्षा प्रणाली बवर–३७३ र रूसी निर्मित एस–३०० प्रणाली थियो ।
डिफा प्रेसको रिपोर्टले गत हप्ताहरूमा इरानमा विदेशमा बनाइएका कुनै पनि हवाई रक्षा प्रणालीहरूको आयात नभएको बताएको छ ।
गत अक्टोबरमा इरानी मिसाइल कारखानाहरूमा इजरायलले आंशिक आक्रमणपछि इरानले सैन्य अभ्यासका क्रममा रूसमा निर्मित हवाई रक्षा प्रणालीहरू प्रदर्शन गरेको थियो । रोयटर्स