site stats
बाह्रखरी :: Baahrakhari
देश
१६ वर्षीय किशोरले गरेको त्यो बीभत्स हत्या, ... अनि प्रहरीलाई फोन

काठमाडौं । गएको जेठ १८ गते साँझ ५ बजेर ११ मिटनेमा प्रहरीको कन्ट्रोल कक्ष रानीपोखरीमा एक युवाको फोन आयो । ती युवाले भने, ‘‘बौद्ध तीनचुलीस्थित एक घरमा चोरी गर्ने उद्देश्यले एक व्यक्ति कोठाभित्र पसी बच्चामाथि कुटपिट गरेजस्तो देखिन्छ । कोठाभित्र बच्चा रोइकराइ गरेको सुनिन्छ ।’’

उक्त सूचनासँगै प्रहरीको सीआरभी टोली केही समयमै तीनचुलीस्थित कान्छीमाया शेर्पाको घरमा पुग्यो । शेर्पाको घरको भुइँतल्लाको फ्ल्याट भाडामा लिएर बसेका १६ वर्षीय किशोर कोठाभित्र कराउँदै गुहार मागिरहेका थिए ।
तर, भित्रबाट कोठा बन्द भएका कारण प्रहरी टोली पस्न सकिरहेको थिएन । 

प्रहरीले आफूहरु उद्धारका लागि आएको भन्दै कोठा खोल्न किशोरसँग भनिरहेका थिए । प्रहरीको आग्रहपछि कोठा खोले । त्यसपछि उनी रुँदै कराउँदै माथिल्लो तल्लामा बस्नेसँग बचाऊ बचाऊ भन्दै गुहार माग्न पुगे ।

ती किशोरको शरीर रगतले लतपतिएको थियो । उद्धारका लागि पुगेको प्रहरीलाई लागेको थियो कि चोरी गर्ने उद्देश्यले कोठाभित्र किशोरमाथि कुटपिट भएको हुनुपर्छ । प्रहरीको टोली कोठाभित्र प्रवेश गर्‍यो ।

कोठाभित्रका दृश्य देखेपछि प्रहरी चकित पर्‍यो । कोठाभित्र एकजना पुरुषको घाँटी तथा टाउकोमा गम्भीर चोट लागेको र रगतको आहलसँगै कोल्टे फेरेको अवस्थामा देखे ।

प्रहरीको टोलीले तत्काल ती पुरुषलाई ट्याक्सीमा राखी नेपाल मेडिकल कलेज अत्तरखेल पठाए । अस्पतालले तत्कालै मृत घोषणा गरिदियो ।

प्रहरीले उनको साथबाट फेला एउटा आइफोन र अर्को सामसङ गरी दुईवटा मोबाइल फेला पारेको थियो । 

उक्त मोबाइलका आधारमा ती पुरुष सागर तामाङ भएको खुल्यो । प्रहरीले घटनाबारे अनुुसन्धान थाल्यो । जसको उद्धारका लागि प्रहरीको टोली तीनचुली पुगेको थियो, उनै किशोरलाई नियन्त्रणमा लियो ।

सामान्य चोटपटक लागेका किशोरको तीनचुलीस्थित स्तुपा सामुदायिक अस्पतालमा उपचारपछि अनुसन्धानका लागि थुनामा लियो ।  प्रहरीको अनुुसन्धानका क्रममा मृतक तामाङ किशोरको कोठाभित्र चोरी गर्ने उद्देश्यले प्रवेश नगरेको खुल्यो ।

उनीहरु लामो समयदेखि चिनजान र सम्पर्कमा रहेको तथ्य खुल्यो । प्रहरीको अनुसन्धानका क्रममा १६ वर्षीय किशोरले सागरको हत्या आफूले गरेको समेत स्वीकार गरे ।

सुकेधारास्थित एक ल्याबमा काम गर्ने ४० वर्षीय सागर तामाङसित ती किशोरको नौ वर्षदेखि सम्बन्ध भएको खुल्यो । आफ्नी आमामार्फत् चिनेका सागरसँगै किशोर काठमाडौंका ठाउँ–ठाउँमा घुमफिर गरेको प्रहरी अनुसन्धानमा फेला पर्‍यो ।

रगतको परीक्षण रिपोर्ट बोकेर कोठामा पुगेका थिए सागर

प्रहरीको अनुसन्धानका क्रममा जेठ १८ गते साँझ सागर किशोरकै रगत परीक्षणको रिपोर्ट बोकेर उनको कोठामा पुगेको खुलेको हो ।  सागरले काम गर्दै आएको सामाखुसीस्थित रिलाएबल डाइग्नोष्टिक ल्याबमा गत १७ जेठमा ती किशोरको रगत परीक्षण गरिएको थियो ।

त्यहीदिन किशोरले रगत परीक्षणबारे जानकारी दिन सागरलाई फोन गरेका थिए । उनले रगतमा केही समस्या देखिएको भन्दै आफैँ कोठामा आएर जानकारी गराउने जवाफ दिएका थिए ।

लामो समयदेखिको चिनजानका कारण सागर उनको कोठामा जाने/आउने भइरहन्थे ।  गत जेठ १८ गते किशोरको रगत परीक्षणको रिपोर्टसहित उनी त्यहाँ पुगेका थिए ।  त्यतिबेला सागर घरमा एक्लै थिए । आमामार्फत् चिनजान भएका सागरले उनलाई बालकदेखि नै माया गर्थे ।

...अनि हत्याको योजना बुने

प्रहरीको करिब एक महिना लामो अनुुसन्धानपछि असार ३ गते जिल्ला सरकारी वकिल कार्यालयले १६ वर्षीय किशोरविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरायो ।

१६ वर्षीय किशोर ज्यान मुद्दामा पुपक्र्षका लागि हाल भक्तपुरस्थित बालसुधार गृहमा राखिएको छ । प्रहरीको अनुसन्धानमा किशोरले हत्या गर्ने उद्देश्यले सागर तामाङमाथि चक्कु प्रहार गरेको खुलेको छ । किशोरले सागरलाई पानी खाइरहँदा पछाडिबाट चक्कु प्रहार गरी लडाएको खुलेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकारीले भने, ‘‘पूर्वयोजना अनुसार सागरलाई घरमा बोलाएर हत्या गरेको देखिन्छ ।’’ 

उमेर १६ वर्ष भए पनि खाइलाग्दो जीउडाल र तेक्वान्दो खेलसमेत खेल्ने गरेकाले उनमा आक्रमण गर्ने आत्मविश्वास बढेको देखिएको प्रहरीको भनाइ छ । किशोरले उक्त कुरा बयानमा समेत स्वीकार गरेका छन् ।
 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १९:०५
प्रतिक्रिया दिनुहोस्