site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
शेरबहादुर तामाङ भन्छन्– बैठकमा भनाभन भएको छैन

काठमाडौं । नेकपा (एमाले)का नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताएका छन् । शनिबार (साउन ३) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् ।

बैठकमा नेताहरूले आफ्ना दृष्टिकोण स्वतन्त्र भएर राखेका उनले उल्लेख गरे । “बैठकमा सदस्यहरूले आफ्नो दृष्टिकोण भरपुर रूपमा स्वतन्त्र भएर राख्नुभएको छ । त्यहाँ कुनै बन्देज छैन,” उनले भने, “विगतका कतिपय एकदुईवटा घटनाहरूमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरू पार्टीभन्दा बाहिर रहनु पनि भयो । केही साथीहरू आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ ।”

बैठकमा सदस्यहरूबीचमा कुनै भनाभन नभएको उनले बताए । “अमूक केही घटनाहरूलाई लिएर एमालेभित्र अब वाक् स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्ने कुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन,” उनले भने, “एमालेको बैठकमा कुनै सदस्यहरूको बीचमा कुनै भनाभन भएको छैन ।”

नेता तामाङले उमेरहद क्रियाशीलतामा आधारित हुने बताए । उमेर पुग्नसाथ व्यक्तिको क्रियाशीलता कम हुने भन्ने नरहेको उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:२५
प्रतिक्रिया दिनुहोस्