सुर्खेत । कर्णाली प्रदेशमा आज देउडा पर्व मनाइँदै छ । देउडा पर्वकै अवसरमा कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता एवं उपसचिव उत्तम गौतमले बुधवार एक सूचना जारी गर्दै देउडा पर्व तथा साउने संक्रान्तिको अवसरमा प्रदेशभरका सरकारी कार्यालय तथा सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराए ।
०८१ चैत्र १७ गते कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद बैठकले कर्णाली प्रदेशमा देउडा पर्वमा बिदा दिने निर्णय गरेको थियो ।
सुर्खेत वीरेन्द्रनगरको देउडा पार्कमा विशेष समारोह हुँदैछ । कला संस्कृति प्रतिष्ठानका पुराना देउडा कलाकार विजराज सेजुवालका अनुसार कर्णालीमा देउडा पर्वलाई विशेष महत्वका साथ मनाउन लागिएको छ ।
के हो देउडा गीत
देउडा गीत पश्चिम नेपालका मेला, चाडपर्व, जात्रामा गाइने एक प्रकारको नृत्य प्रदान गीत हो । यस गीतमा गरिएको नृत्यलाई देउडा खेल अथवा न्याउले खेल भनिन्छ । यो गीत विशेष गरी समूहमा प्रस्तुत गरिन्छ । स्थानीय भाषिकाहरूमा सृजित भई लोकप्रियता कमाएको देउडाले यस क्षेत्र भन्दा बाहिर पनि आफ्नो प्रभाव छोडेको छ ।
राष्ट्रिय स्तरमा पनि यो भाका निकै चर्चाको विषय बन्ने गरेको छ । रैथाने वस्ती नभएको ठाँउ कैलाली, बर्दिया, बाकेँ, सुर्खेतलगायतका जिल्लाहरुमा देउडा गीतले प्रभाव छोडेको पाइन्छ । देउडा खेल र गायनको प्रक्रिया यस क्षेत्रमा खास गरेर दशैं, तिहार, होली, गौरा पर्व, मेला, पुतला, रत्यौली, विवाह, आदिमा प्रस्तुत गरिन्छ । यस गीतलाई एकल रुपमा पनि गाउन सकिन्छ । नृत्यसँग डेढ कदम चालेर गोलो घेरा बनाइ प्रस्तुत गरिने भएकाले यस गीतलाई देउडा नामकरण गरिएको मानिन्छ ।
संस्कृत भाषाको देउँदुराय शब्दबाट देउदुरा हुँदै देउडा शब्द बनेको हो भन्ने पनि छ । देउडा गीतमा वैयक्तिक जीवनका विभिन्न पक्षहरूलाई उद्धघाटित गरिएको हुन्छ । मान्छेको जीवनमा आउने सुख दुःखका अनुभूति र मिलन बिछोडको पक्षलाई देउडाले सङ्केत गरेको हुन्छ ।
देउडा गीत नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा गाइने चर्चित लोक गायन शैली हो ।
देउडाको इतिहास
देउडा गीतको सुरुवात खस सभ्यतासँगै सुरु भएको अनुमान लगाइन्छ । कतिपय ठाउँमा पहिलेका दिनहरूमा देउडा गीत गाउन लाज मान्ने चलन पनि थियो । त्यो अवस्थामा देउडाबाट नै छोरेट्टा (केटा) र छोरेट्टी (केटी) बीच सवाल जवाफ चल्ने गर्दथ्यो ।
देउडा गीत एक प्रकारको भाषा हो यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ । प्राय यसका गीतहरू खस भाषामा आधारित हुन्छन् । खास गरेर खस भाषाको उद्गम स्थल जुम्ला जिल्लाको सिंजालाई मानिएको छ ।
पश्चिम नेपालका अधिकांश राज्यहरू जस्तै बैतडी ,डोटी, दैलेख, दुल्लु, जाजरकोट आदि ठाउँमा खस भाषाको प्रयोग भएको पाइन्छ । देउडा गीत पनि यिनै राज्यमा प्रचलित भएको थियो र अहिले पनि तत्कालिन राज्य अन्तर्गत पर्ने स्थानहरूमा यो देउडा गीत लोकप्रिय बन्दै गएको छ ।