
सुर्खेत । कर्णाली प्रदेशमा सत्तासाझेदार दल नेकपा (एमाले) र नेपाली कांग्रेसबीचको तिक्तता अब साम्यतर्फ अग्रसर देखिएको छ ।
शनिबार (साउन २४) बसेको सत्ता संयन्त्रको बैठकबाट आपसी समझदारी कायम गर्दै अगाडि बढ्ने निर्णय गरिएको कांग्रेसका कर्णाली सभापति ललितजंग शाहीले जानकारी दिए ।
“आजको बैठकमा अरू धेरै विषयमा कुरा भएन । हिजोअस्ति दुई दलबीच देखिएको विवादलाई साम्य बनाएर लिने कुरा भएको छ,” सभापति शाहीले बाह्रखरीसँग भने, “सरकारको कामलाई आपसी समझदारीमा कसरी प्रभावकारी बनाउन सकिन्छ त्यही तरिकाले दुवै दल जान्छौँ ।”
बिहीबार (साउन २२) बसेको एमाले संसदीय दलको बैठकमा कांग्रेसले असहयोग गरेको निष्कर्ष निकालिएको थियो नि ? भन्ने प्रश्नमा उनले आफूहरूले सहयोग नगरे सरकार दुई महिना पनि नटिक्ने बताए ।
“कर्णालीमा गठबन्धनको सरकार छ । दलीय प्रणालीअनुसार अगाडि बढ्नुपर्छ भनेर हामीले भनेका छौँ,” उनले भने, “आपसी विश्वास कसरी निर्माण गर्न सकिन्छ, त्यो वातावरण दुवै दलले निर्माण गर्नुपर्छ ।”
बिहीबार एमालेले गठबन्धन संस्कृतिको मर्मअनुरूप कांग्रेस नचलेको निष्कर्ष निकालेको थियो । त्यसपछि दुई दलबीचको तिक्तता बाहिरिएको थियो ।
शनिबार सत्ता संयन्त्रको बैठकमा कांग्रेसका कर्णाली सभापति शाहीसँगै संसदीय दलका नेता जीवनबहादुर शाही, मुख्यमन्त्री यामलाल कँडेल, एमाले प्रदेश कमिटी अध्यक्ष गुलावजंग शाह र प्रदेश इन्चार्ज गोरख बोगटी सहभागी थिए ।