site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानी सांसद भन्छन्– होर्मुज स्ट्रेट बन्द गर्ने विषय अझै समीक्षामा छ

काठमाडौं । कट्टरपन्थी इरानी सांसद इस्माइल कोसारीले तेल ओसापसार गर्ने अन्तर्राष्ट्रिय सामुद्रिक मार्ग होर्मुज स्ट्रेट बन्द गर्ने विषय समीक्षामा नै रहेको बताएका छन् । सोमबार इरानको सरकारी मिडियाले प्रकाशन गरेको सामग्रीमा कोसारीले होर्मुज स्ट्रेटबारे कुनै निर्णय नभएको बताएका छन् । 

“होर्मुज स्ट्रेटबारे सैन्य उपायहरू पूरा भएका छन् । तर, यो बन्द गर्ने बारेमा कुनै निर्णय भएको छैन र यो विषय अझै समीक्षामा छ,” इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य कोसारीलाई उद्धृत गर्दै भनिएको छ ।

उनले भनेको सैन्य उपायबारे भने तत्काल स्पष्ट छैन । गत महिना इजरायल र इरानबीच भएको १२ दिनको हवाई युद्धको समयमा विश्वको झन्डै पाँच भागको एक भाग तेल र ग्यास ढुवानी गर्ने जलमार्ग इरानले बन्द गर्न सक्ने अनुमान गरिएको थियो ।

होर्मुज स्ट्रेट ओमान र इरानको बीचमा अवस्थित छ । यसले खाडीलाई दक्षिणमा ओमानको खाडी र त्यसभन्दा पर अरब सागरसँग जोड्छ ।

इरानले विगतमा होर्मुज स्ट्रेट बन्द गर्ने धम्की दिएको थियो । “यो हामीले निर्णय गर्ने कुरा हो । यो कहिले खुला रहन्छ र कहिले बन्द हुन्छ, हाल हामी समीक्षा गरिरहेका छौँ । आवश्यक परेमा हामीले जुनसुकै बेला कार्यान्वयन गर्न सक्छौँ,” कोसारीले थपे ।

रोयटर्सबाट ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  १२:११
प्रतिक्रिया दिनुहोस्