site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकी विमान, कारमा प्रतिशोधात्मक कर लगाउँदै ईयू

काठमाडौं । युरोपेली संघ (ईयू)ले दोस्रो चरणको व्यापारिक प्रतिशोधात्मक कदमका रूपमा ७२ अर्ब युरोको अमेरिकी सामानलाई निसाना बनाउँदै गरेको पोलिटिको अनलाइनले जनाएको छ । यसमा विमान, कार र कारका पार्टपुर्जा समावेश रहेको जनाइएको छ ।

अमेरिकी उत्पादनलाई निसाना बनाउनुको तर्क पनि ईयूले स्पष्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको साता अगस्ट १ देखि युरोपेली संघको निर्यातमा ३० प्रतिशत कर लगाउने धम्की दिएका थिए । त्यसपछि ईयूले जवाफी कर घोषणा गरेको हो ।

युरोपेली संघका देशहरूले नयाँ प्रतिशोधात्मक करलाई समर्थन गरेमा ६.४ अर्ब युरोबराबरको कृषि उत्पादन पनि प्रभावित हुनेछ ।

ईयूले आयात कर लगाउन लागेको अमेरिकी सामानको सूचीमा बर्बन ह्विस्की पनि रहेको जनाइएको छ । यद्यपि, फ्रान्स र आयरल्यान्डले पेयपदार्थ क्षेत्रलाई ट्रम्पको प्रतिशोधबाट जोगाउन तीव्र ‘लबिइङ’ गरेका थिए ।

कुल २०० पृष्ठको सूचीमा सबैभन्दा ठूलो वस्तु विमान र विमानका पार्टपुर्जा छन् । यसमा करिब ११ अर्ब युरोको अमेरिकी निर्यातलाई निसाना बनाउन कर लगाइनेछ । यसले विमान निर्माता बोइङलाई ठूलो झट्का दिन सक्छ ।

त्यसपछि मेसिनरी, कार र कारका पार्टपुर्जा, रसायन र प्लास्टिक, चिकित्सा, विद्युतीय उपकरण र औद्योगिक सामान छन् । यी सबै अर्बौं युरोबराबरको रहेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ११:५०
प्रतिक्रिया दिनुहोस्