
काठामाडौं । उत्तर कोरियाली नेता किम जोङ उनले युक्रेन युद्धमा मस्कोलाई बिनासर्त समर्थन प्रदान गरेका छन् । रुसका विदेशमन्त्री सर्गेई लभरोभसँग उत्तर कोरियामा भएको वार्तामा किमले युक्रेनी संकटको मूल कारण समाधान गर्न रुसी नेतृत्वले चालेका सबै कदममा आफ्नो समर्थन रहेको बताएका बीबीसीले जनाएको छ ।
पश्चिमी देशका अधिकारीले उत्तर कोरियाले गत वर्षमा युक्रेनविरुद्ध लड्न रुसमा अनुमानित ११ हजार सैनिक पठाएको बताउँदै आएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमण थालेका थिए ।
उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनए न्युज एजेन्सीका अनुसार, किम र लभरोभ शनिबार ‘न्यानो मैत्रीपूर्ण विश्वासले भरिएको वातावरणमा कुराकानी’ भयो ।
वार्तामा उत्तर कोरियाली नेताले रुसी सेना र जनताले देशको सम्मान र आधारभूत हितको रक्षा गर्ने पवित्र उद्देश्यमा अवश्य विजय प्राप्त गर्ने दृढ विश्वास व्यक्त गरेका जनाइएको छ ।
रुसको विदेश मन्त्रालयले दुई नेताले हात मिलाएर र अँगालो मारेर एकार्कालाई अभिवादन गरेको भिडियो टेलिग्राममा पोस्ट गरेको छ ।
लभरोभले उत्तर कोरियाली समकक्षी चोए सन हुईसँग पनि भेट गरे । र, रुसलाई सहयोग गर्न तैनाथ उत्तर कोरियाली सैनिकलाई धन्यवाद दिएका रुसको तास न्युज एजेन्सीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छोटो अवरोधपछि युक्रेनलाई सैन्य आपूर्ति पुनः सुुरु गरेका छन् । यही बेला उत्तर कोरियाको यस्तो समर्थनको घटना आएको छ ।
ट्रम्पले बिहीबार एनबीसी न्युजसँग आफूले नेटोसँग सम्झौता गरेको बताएका थिए । अमेरिकाले रुसी हवाई आक्रमणको वृद्धिपछि नेटोमार्फत युक्रेनमा प्याट्रियट हवाई रक्षा प्रणाली पठाउने उनले उल्लेख गरेका थिए ।
उत्तर कोरियाले पहिलोपल्ट गएको अप्रिलमा रुसमा सैनिक पठाएको सार्वजनिक रूपमा स्वीकार गरेको थियो । त्यो युक्रेन र पश्चिमले उत्तर कोरियाबाट रुसी–युक्रेनी मोर्चामा ठूलो संख्यामा सैनिक स्थानान्तरण भएको खुलासा गरेको केही महिनापछि थियो ।
किमले गत वर्ष जुनमा पुटिनसँग सम्झौता गरेका थिए । दुवै देशले आक्रमणको सामना गर्नुपरेमा एकार्कालाई समर्थन गर्ने त्यो सहमति थियो ।
उत्तर कोरियाले सैनिकबाहेक युद्धबाट ध्वस्त कुस्र्क क्षेत्र पुनर्निर्माणमा सहयोग गर्न हजारौँ कामदार पनि पठाउने वाचा गरेको मस्कोका सुरक्षा प्रमुखले गएको महिना बताएका थिए ।