
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सातदोबाटोस्थित नेसनल हाई पर्फमेन्स सेन्टरको उद्घाटनका लागि पुगेका थिए । त्यस क्रममा उनले खेलकुद क्षेत्रमा कसैले पनि राजनीति नगर्न आग्रह गरे ।
उनको भनाइ थियो– खेल क्षेत्रमा आएका व्यक्तिहरूले राजनीति गर्ने होइन, खेल क्षेत्रको विकास गर्न ध्यान दिने हो ।
उनले नेपाली खेल क्षेत्रका अरू विषयमा पनि बोले । त्यस क्रममा प्रधानमन्त्री ओलीले उज्वेकिस्तानमा भएको एएफसी एसियन कप छनोटमा सहभागी भएको नेपाली महिला फुटबल टिमलाई 'भलिबल टिम' बताए ।
“अहिले भर्खरै अघि पनि यहाँ चर्चा भयो । उज्वेकिस्तानमा हैन हाम्रो महिला भलिबल ? त्यहाँ यति राम्रो भलिबल खेल्नुभयो हाम्रो महिला टिमले,” प्रधानमन्त्रीले भने ।
फुटबल टिमलाई 'भलिबल' भनेपछि कार्यक्रममा उपस्थितहरूले उनलाई सच्याउँदै फुटबल टोली भएको बताएका थिए ।
त्यसपछि उनले फुटबल टिमले उज्वेकिस्तानमा राम्रो खेलेको बताएका थिए ।