
काठमाडौं । चीनले भिसा नीतिलाई खुकुलो बनाएपछि चीनमा विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । सरकारले पर्यटन, अर्थतन्त्र र आफ्नो सौम्य शक्ति (सफ्ट पावर) बढाउन भिसाबिना नै प्रवेशलाई विस्तार गरिरहेको छ ।
राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार, सन् २०२४ मा दुई करोडभन्दा बढी विदेशी पर्यटक भिसाबिना प्रवेश गरेका थिए । जुन कुल पर्यटकको एकतिहाइ र अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो ।
“भिसा आवेदन र प्रक्रिया पूरा गर्न धेरै झन्झट हुन्छ, यो नीतिले यात्रा गर्न साँच्चै सहज बनाउँछ,” बेइजिङको टेम्पल अफ हेभनको भ्रमणमा गएका जर्जियाका नागरिक जर्जी शावाद्जेले भने ।
अधिकांश पर्यटकीय स्थलमा अझै पनि विदेशीभन्दा स्वदेशी पर्यटकको बाहुल्य छ । तर, यात्रा कम्पनी र टुर गाइडहरूले ग्रीष्मकालीन बिदाका लागि आउने पर्यटकका ठूलो आगमनको अपेक्षा गर्दै तयारी गरिरहेका छन् ।
“म पर्यटकहरूको भिडले लगभग थाकिसकेँ र सम्हाल्न गाह्रो भइरहेको छ,” २० वर्षभन्दा बढी अनुभव भएका अंग्रेजी बोल्ने टुर गाइड गाओ जुनले भने ।
बढ्दो माग पूरा गर्न उनले अंग्रेजी बोल्ने टुर गाइड बन्न इच्छुक व्यक्तिलाई तालिम दिन नयाँ व्यवसाय सुरु गरे । “म एक्लैले सबैलाई सम्हाल्न सक्दिनँ,” उनले भने ।
कोभिड–१९ बाट सिर्जित प्रतिबन्ध हटाएपछि चीनले सन् २०२३ को सुरुमा पर्यटकका लागि आफ्नो सीमा खोल्यो । तर, त्यस वर्ष केवल एक करोड ३८ लाख पर्यटक आए । जुन महामारीअघिको अन्तिम वर्ष सन् २०१९ मा आएका तीन करोड १९ लाखको आधाभन्दा कम थियो ।
सन् २०२३ को डिसेम्बरमा, चीनले फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड्स, स्पेन र मलेसियाका नागरिकका लागि भिसामुक्त प्रवेशको घोषणा गर्यो । त्यसयता लगभग पूरै युरोपलाई समेटिएको छ ।
गत महिना ल्याटिन अमेरिकाका पाँच देश र उज्बेकिस्तानका नागरिक भिसामुक्त प्रवेशका लागि योग्य भए । त्यसपछि मध्यपूर्वका चार देश थपिए । जुलाई १६ मा अजरबैजान थपिएपछि यो संख्या ७५ पुग्नेछ ।
करिब दुईतिहाइ देशलाई एक वर्षको परीक्षण आधारमा भिसामुक्त प्रवेश प्रदान गरिएको छ ।
नर्वेका पर्यटक ओइस्टेन स्पोर्शेम यस नीतिले उनको परिवारले ओस्लोस्थित चिनियाँ दूतावासमा पर्यटक भिसाका लागि दुईपटक आउजाउ गर्नुपर्ने झन्झटबाट मुक्ति दिएको बताउँछन् । दुई बच्चासहित यो प्रक्रिया समय–खपत र महँगो थियो ।
“दूतावास धेरैजसो खुल्दैनथ्यो, त्यसैले यो धेरै कठिन थियो,” उनले भने ।
“नयाँ भिसा नीति हाम्रा लागि शतप्रतिशत लाभदायक छन्,” अन्तर्राष्ट्रिय यात्रुहरूका लागि बुटिक र विलासी यात्रा मार्गहरूमा विज्ञता राख्ने वाइल्डचाइना कम्पनीकी प्रबन्ध निर्देशक जेनी झाओले भनिन् ।
उनले आफ्नो व्यवसाय महामारीअघिको तुलनामा ५० प्रतिशतले वृद्धि भएको बताइन् ।
अमेरिका अझै पनि उनीहरूको सबैभन्दा ठूलो बजार हो, जुन हालको व्यवसायको करिब ३० प्रतिशत हिस्सा ओगट्छ । तर युरोपेली यात्रुहरूले अब उनीहरूका ग्राहकको १५–२० प्रतिशत हिस्सा ओगटेका छन्, जुन सन् २०१९ अघि ५ प्रतिशतभन्दा कम थियो ।
“हामी निकै आशावादी छौँ,” झाओले भनिन्, “हामी आशा गर्छौं कि यी लाभहरू निरन्तर रहनेछन् ।”
सांघाईस्थित अनलाइन ट्राभल एजेन्सी ट्रिप डक कम ग्रुपले भिसामुक्त नीतिले पर्यटनमा उल्लेखनीय वृद्धि भएको बताएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो तीन महिनामा उनीहरूको वेबसाइटमा चीन यात्राका लागि हवाई, होटल र अन्य बुकिङ दोब्बर भए, जसमध्ये ७५ प्रतिशत भिसामुक्त क्षेत्रबाट आएका थिए ।
कुनै पनि प्रमुख अफ्रिकी देशले भिसामुक्त प्रवेशको सुविधा पाएका छैनन् । यद्यपि, अफ्रिकी महादेशको चीनसँग तुलनात्मकरूपमा नजिकको सम्बन्ध छ । उत्तर अमेरिकी र केही अन्यलाई १० दिनको ट्रान्जिट प्रवेश भिसामुक्त योजनामा नपरेका १० देशका नागरिकलाई अर्को विकल्प छ, यदि उनीहरूले आएको देशभन्दा फरक देशतर्फ प्रस्थान गर्छन् भने १० दिनसम्म चीन प्रवेश गर्न सक्छन् ।
राष्ट्रिय अध्यागमन प्रशासनका अनुसार, यो नीति देशका ६० प्रवेश विन्दुमा सीमित छ । ट्रान्जिट नीति ५५ देशमा लागु हुन्छ । तर, तीमध्ये धेरैजसो ३० दिनको भिसामुक्त सूचीमा पनि छन् ।
यस नीतिले भिसामुक्त सूचीमा नपरेका १० देशका नागरिकलाई सीमित विकल्प प्रदान गर्छ । जसमा चेक गणतन्त्र, लिथुआनिया, स्विडेन, रुस, बेलायत, युक्रेन, इन्डोनेसिया, क्यानडा, संयुक्त राज्य अमेरिका र मेक्सिको छन् ।
स्विडेन एकमात्र उच्च आय भएको युरोपेली देश हो, जुन ३० दिनको सूचीमा परेन । सन् २०२० मा चिनियाँ कम्युनिस्ट पार्टीले स्विडेनका पुस्तक विक्रेता गुई मिन्हाईलाई १० वर्षको जेल सजाय सुनाएपछि चीनसँगको सम्बन्ध तनावपूर्ण बनेको छ । गुई सन् २०१५ मा थाइल्यान्डको समुद्री किनारमा रहेको आफ्नो घरबाट हराएका थिए र केही महिनापछि चीनमा प्रहरी हिरासतमा देखा परे ।
हिन्दुस्तान टाइम्सबाट ।