
काठमाडौं । व्यवसायिक घरना संघाई परिवारले सञ्चालन गरेको त्रिवेणी स्पिनिङ मिल्स लिमिटेडको व्यापार बढ्दै गएको छ । चालु आर्थिक वर्षको आठ महिनामा उद्योगले दुई अर्ब ३३ करोड २० लाख रुपैयाँको धागो व्यापार गरेको छ ।
गत वर्ष सन् २०२४ मा उद्योगले दुई अर्ब ४३ करोड ४० लाख रुपैयाँको धागो व्यापार गरेको थियो । उद्योगले आठ महिनामै गत वर्ष हारहारीमा धागो व्यापार गरेको छ ।
सन् २०२३ मा दुई अर्ब ३८ करोड २० लाख र २०२२ मा तीन अर्ब ७१ करोड ४० लाख रुपैयाँ बराबरको धागो व्यापार गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
२०२३ को तुलनामा गतवर्ष धागो व्यापार दुई प्रतिशत मात्र बढेको छ । घरेलु र निर्यात दुवैको मागमा आएको कमीले उद्योगको व्यापार प्रभावित भएको छ ।
२०२४ मा गरेको कुल आम्दानीको ७२ प्रतिशत हिस्सा भारत र टर्कीमा धागो निकासी गरेर भएको छ । २०२३ मा निर्यातको हिस्सा ७१ प्रतिशत थियो ।
टर्कीमा आर्थिक गतिविधिहरू पुनरुत्थान पछि माग बढ्ने सम्भावनाहरूबीच यसमा सुधार हुने अपेक्षा गरिएको त्रिवेणी स्पिनिङले जनाएको छ । उद्योगले तीन अर्ब तीन करोड रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ ।
कम्पनीको मुख्य कच्चा पदार्थ पलिएस्टर फाइबर हो जुन कच्चा तेलबाट बनाइन्छ । कच्चा तेल अन्तर्राष्ट्रिय महत्वको उत्पादन भएकाले यसको मूल्य विश्वबजारमा माग र आपूर्ति स्थितिमा निर्भर गर्दै धेरै अस्थिर हुन्छ ।
त्रिवेणी स्पिनिङले उत्पादन मुख्यतया टर्की र भारतमा निर्यात गर्दै आएको छ । जसले गर्दा कम्पनीलाई विदेशी विनिमयदरहरूमा अस्थिरताको सामना गर्नुपरेको छ ।
सरकारले निर्यातजन्य उद्योगहरुलाई वस्तु निर्यातका आधारमा न्यूनतम् चारदेखि अधिकतम् आठ प्रतिशतसम्म नगद अनुदान दिएकाले निर्यात बढाउन सहज भएको उद्योगको भनाइ छ । आगामी आर्थिक वर्षदेखि सरकारले निर्यात अनुदान हटाएको छ ।
सन् १९९५ मा स्थापना गरेको उद्योग साधारण सेयर निष्कासन गर्न पब्लिक लिमिटेडमा परिणत भएको छ । उद्योग बाराको छातापिप्रामा छ ।
त्रिवेणीले पलिस्टर, भिस्कोस र एक्रिलिकर मिश्रित धागो उत्पादन गर्दै आएको छ । हाल कम्पनीको कुल उत्पादन क्षमता वार्षिक १८ हजार टन छ । उद्योगको अध्यक्ष रामचन्द्र संघइ हुन् ।