
काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण फलदायी हुने विश्वास व्यक्त गरेका छन् । सोमबार काठमाडौंमा संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँगको सामूहिक भेटवार्तामा उनले ओलीको भ्रमणलाई फलदायी बनाउने गरी गृहकार्य भइरहेको बताएका हुन् ।
“शिष्टाचार भेटघाट राम्रो भयो । दुई देशको सम्बन्धका विषयमा छलफल भयो,” भेटवार्तामा सहभागी मोर्चाका नेता हृदयेश त्रिपाठीले भने, “उहाँले प्रधानमन्त्रीको भ्रमणलाई फलदायी बनाउने गरी विभिन्न तहमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । फलदायी हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।”
नेपालको दुईदिने भ्रमणमा लागि भारतीय विदेशसचिव मिस्री आइतबार बिहान काठमाडौं आएका थिए । काठमाडौं आएलगत्तै उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए ।
प्रधानमन्त्री ओलीले भदौ ३१ देखि असोज १ गतेसम्म गर्ने भारत भ्रमणको तयारीस्वरूप विदेश सचिव मिस्री नेपाल आएका हुन् । यसै क्रममा उनले सोमबार संघीय लोकतान्त्रिक मोर्चाका नेताहरूसँग भेटवार्ता गरेका हुन् ।
सोमबार भएको भेटवार्तामा मोर्चाका नेताहरू हृदयेश त्रिपाठी, महन्थ ठाकुर, वृषेशचन्द्र लाल, उपेन्द्र यादव, राजेन्द्र महतो सहभागी थिए ।