
काठमाडौं । सरकारले विदेशमा रहेका नेपालीको यथार्थ विवरण संकलन गर्न ‘श्रम सञ्चार’ एप ल्याउने तयारी गरेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयकका सम्बन्धमा उठेका प्रश्नको जवाफ दिने क्रममा 'श्रम सञ्चार' एप सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिइन् ।
“श्रम सञ्चार एप रिलिज गर्ने हाम्रो तयारी छ । यसलाई नागरिक एपमा मर्ज गरेर ल्याउने भन्नेछ,” परराष्ट्रमन्त्री राणाले भनिन्, “विश्वभरमा रहेका नेपाली जो वैध तथा अवैध तरिकाले जानुभएको छ, यो एपमार्फत उहाँहरू कहाँ हुनुहुन्छ भन्ने थाहा हुन्छ ।”
वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षाका लागि परराष्ट्र, गृह र श्रम तीन मन्त्रालय मिलेर एउटा कार्यदल गठन गरी काम गरिरहेको उनले बताइन् । यही कार्यदलले ‘श्रम सञ्चार’ एप आवश्यक रहेको ठहर गरेको थियो ।
एप सञ्चालनमा आएपछि विदेशमा रहेका नेपालीले एपमा आफ्नो विवरण राखेर दर्ता हुनुपर्नेछ । आपत्कालीन उद्धारको समयमा एपले सघाउनेछ ।
मन्त्रालयले अहिले अवैध तरिकाले विदेश गई काम गरिरहेका नेपालीलाई वैध बनाउने काम गरिरहेको पनि उनले बताइन् ।