
काठमाडौं । सर्वोच्च अदालतमा सिफारिस तीन न्यायाधीशसहित एक न्याय परिषद् सदस्यको संसदीय सुनुवाइ प्रक्रिया सुरु गरिएको छ । शनिबार (जेठ ३१) सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा उनीहरूको संसदीय सुनुवाइ थालिएको हो ।
समिति सभापति ईश्वरीदेवी न्यौपानेले भनिन्, “संसदीय सुनुवाइ समितिको कार्यविधि, २०८० को दफा १२ बमोजिम प्रस्तावित व्यक्तिका बारेमा सर्वसाधारणलाई जानकारी दिने र प्रस्तावित व्यक्तिका सन्दर्भमा कुनै सूचना वा उजुरी भए त्यस्तो सूचना वा उजुरी समितिसमक्ष दिने प्रयोजनका लागि सोसम्बन्धी सूचना सरकारी सञ्चारमाध्यम र विद्युतीय सञ्चारका माध्यमबाट सार्वजनिक गर्न प्रस्ताव गर्दछु ।”
न्याय परिषद् सदस्यमा वरिष्ठ अधिवक्ता महेश नेपाललाई सिफारिस गरिएको छ । न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीशमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सिफारिस गरेको छ । न्युज एजेन्सी नेपाल