
काठमाडौं । नेपाल बिमा प्राधिकरणले निर्जीवन बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग अन्तरक्रिया गरेको छ । काठमाडौंमा आयोजित अन्तरक्रियामा बिमासम्बन्धी समसामयिक विषयमा छलफल भएको प्राधिकरणले जनाएको छ ।
बिमा उद्योगको विद्यमान अवस्था, दाबी भुक्तानी, लगानीका क्षेत्र, डिजिटलाइजेसन, संस्थागत सुशासन, वित्तीय विवरण, बिमा शिक्षा र सेवा प्रवाहलगायत विषयमा रायसुझाव लिन कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा कम्पनीलाई वित्तीय रूपमा सबल बनाउन, मुनाफा सुनिश्चित गर्न र बिमितको हित रक्षा गर्न निर्जीवन बिमा कम्पनीका सञ्चालकहरूलाई निर्देशन दिए ।
“बिमा कम्पनीहरू सबल हुनका लागि बाध्यकारी बिमाको दायराबाट बाहिर निस्कनुपर्छ, बिमा ऐन नियम जिम्मेवारीपूर्वक पालना गर्नुपर्छ,” ओझाले भने, “कम्पनीको नीतिगत र दीर्घकालीन विषयमा सञ्चालक समिति जानकार रहनुपर्छ ।”
प्राधिकरणले सूक्ष्म व्यवस्थापन गर्न नचाहेको उल्लेख गर्दै उनले यस्तो अवस्था आउन नदिन व्यवस्थापनलाई सञ्चालक समितिले नियन्त्रण गरेर जिम्मेवार बनाउनुपर्ने बताए ।
बिमा कम्पनीका प्रदेश कार्यालयहरूलाई दाबी फछ्र्यौटको अधिकारसहित सशक्त बनाउन निर्देशन उनले दिए । उनले प्राधिकरणका प्रदेश कार्यालयहरूमा समेत गरी दाबी भुक्तानीका उजुरी बढिरहेकोले समयमै दाबी भुक्तानी दिएर बिमाप्रतिको विश्वास बढाउनु आवश्यक रहेको बताए ।
बिमा उद्योगको विकास, बिमितको हित रक्षा, बिमाको दायरा विस्तार र लक्षित समूहसम्म बिमाको पहुँच पुर्याउनका लागि प्रक्षेपित सेवा दिएर सहकार्य गर्न प्राधिकरण तयार रहेको उनले बताए ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बिमा उद्योगलाई सुव्यवस्थित रूपमा अगाडि बढाउन प्राधिकरणले नियमकीय भूमिका सँगसँगै सहयोगीको भूमिका समेत निर्वाह गर्दै आएको बताए ।