
काठमाडौं। भारतमा कोभिड–१९ संक्रमण द्रुतरूपमा फैलिन थालेपछि प्रधानमन्त्री नरेन्द्र मोदीसँगको बैठकका लागि मन्त्रीहरूले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने भएको छ । भारतमा कोभिड–१९ का सक्रिय संक्रमित सातहजार नाघेपछि मोदीलाई भेट्न पीसीआर परीक्षण गर्नुपर्ने निर्णय गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आज साँझ मोदीसँगको बैठकमा सहभागी हुन लागेका दिल्लीका मुख्यमन्त्री, लोकसभा सांसद, प्रदेशसभा सांसदसहित ७० जना भारतीय जनता पार्टी (भाजपा)का कार्यकर्तालाई पीसीआर परीक्षण गर्न भनिएको छ ।
भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एक विज्ञप्तिमार्फत गत २४ घण्टामा ३०६ जना नयाँ कोभिड संक्रमित थपिएको जनाएको छ । देशमा कुल सक्रिय कोभिड संक्रमितको संख्या सातहजार १२१ पुगेको छ ।
यसैगरी, गत २४ घण्टामा ६ जना कोभिड संक्रमितको मृत्यु भएको छ । जसमध्ये केरलामा तीनजना, कर्नाटकमा दुईजना र महाराष्ट्र राज्यमा एक जनाको मृत्यु भएको हो ।
भारतमा सबैभन्दा बढी केरलामा एकैदिन थप १७० जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, गुजरातमा ११४ जना र कर्नाटकमा १०० जनामा संक्रमण पुष्टि भएको छ । यसबाहेक दिल्लीमा ६६ जना संक्रमित थपिएका छन् ।
इन्डिया टुडेबाट ।