
काठमाडौं । गएको जनवरी १३ देखि फेब्रुअरी २६ सम्म भारतको प्रयागराजमा कुम्भमेलामा दिनहुँ ठूलो संख्यामा भक्तजन पुगे । कुम्भमेलामा ६६ करोड भक्तजन सहभागी भएको उत्तर प्रदेश राज्य सरकारले जनाएको थियो ।
कुम्भमेलामा विभिन्न समयमा भक्तजनको घुइँचोका बेला भागदौड भएको थियो । त्यसबारे उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले फेब्रुअरी १९ मा विधानसभामा भनेका थिए, “जनवरी २९ राति कुम्भको संगमनजिक बिहान १ः१० देखि १ः३० बजेको बीच एक दुर्भाग्यपूर्ण घटना भयो... ६६ भक्तजन यसको चपेटामा परे र उनीहरूलाई तुरुन्तै अस्पताल लगियो । उनीहरूमध्ये ३० जनाको मृत्यु भयो... र ३० मध्ये २९ जनाको पहिचान भयो ।”
उनले उल्लेख गरेका स्थानमा मात्र नभई अरू क्षेत्रमा पनि भागदौडमा भक्तजनको मृत्यु भएको बीबीसी हिन्दीको अध्ययनमा पत्ता लागेको छ ।
योगी सरकारले ३६ परिवारलाई डायरेक्ट बेनिफिट ट्रान्सफर (डीबीटी) वा चेकमार्फत २५ लाख भारु क्षतिपूर्ति दिएको थियो । यसमध्ये २६ परिवारलाई नगद पाँच लाख दिइएको बीबीसीले प्राप्त गरेको भिडियो तथा तस्बिरमा देखिएको छ । प्रहरीले ५०० दर नोटका बन्डल वितरण गर्दै गरेको भिडियोमा देखिन्छ ।
धेरै परिवारले बीबीसीलाई उनीहरूको इच्छाविपरीत ‘अचानक स्वास्थ्य बिग्रिएर’ मृत्यु भएको भनेर कागजातमा हस्ताक्षर गराइएको बताए । बीबीसीले आफ्नो अध्ययनमा सरकारी ढुकुटीबाट स्वतः प्रमाणित पाँच लाखका नोटको प्रमाण फेला पार्न भने सकेन ।
तर, २६ परिवारलाई दिइएको कुल १.३ करोड रकम कहाँबाट आएको भन्ने स्पष्ट नभएको अध्ययनका क्रममा खुल्यो । ती सबै विषयमा उत्तर प्रदेश प्रहरी संलग्न रहेको परिवारले बताएका छन् । धेरै घटनामा पुष्टि गरिएका तस्बिर र भिडियो परिवारसँग छन् ।
बीबीसीले थप १९ परिवार पत्ता लगायो, उनीहरू क्षतिपूर्ति पाउने ३६ परिवारमा समावेश थिएनन् । र, उनीहरूले प्रतिव्यक्ति पाँच लाख समेत पाएनन् ।
यी १९ परिवारले के बताए भने जनवरी २९ को भागदौडमा उनका आफन्तको मृत्यु भएको थियो । उनीहरूले पोस्टमार्टम रिपोर्ट, मृत्यु प्रमाणपत्र देखाए । केहीले त्यही दिनका तस्बिर र भिडियो पनि देखाए, त्यहाँ उनका आफन्तको शव देखिन्छ ।
बीबीसीका अनुसार, कुम्भमेलामा भागदौडका ८२ मृतकका परिवारलाई तीन श्रेणीमा विभाजित गर्न सकिन्छ । पहिलो श्रेणीमा २५ लाख मुआब्जा पाएका परिवार पर्छन् । दोस्रो श्रेणीमा पाँच लाख नगद पाएका परिवार पर्छन् । तेस्रो श्रेणीमा कुनै आर्थिक सहायता नपाउने परिवार पर्छन् ।