site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेता स्पेनलाई हराउँदै पोर्चुगल च्याम्पियन

‎काठमाडौं । साविक विजेता स्पेनलाई ‘टाइब्रेकर’मा ५–३ ले पराजित गर्दै पोर्चुगल यूईएफए नेसन्स लिगको च्याम्पियन बनेको छ ।

आइतबार जर्मनीको म्युनिखस्थित एलियन्ज रंगशालामा सम्पन्न फाइनलको निर्धारित ९० मिनेट र अतिरिक्त समयमा दुवै टोलीबाट २–२ को बराबरी भएपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएको हो ।

‎पेनाल्टीमा पोर्चुगलका लागि गोन्सालो रामोस, भिटिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डिस र रुबेन नेभेसले गोल गरे ।

Argakhachi Cement Island Ad

‎स्पेनका मिकेल मेरिनो, एलेक्स बाइना र इस्कोले गोल गरे । अल्भारो मोराटाको प्रहारलाई भने पोर्चुगलका गोलकिपर डियगो कोस्टाले बचाए ।

‎त्यसअघि खेलको २१औँ मिनेटमा मार्टिन जुबिमेन्डीको गोलमार्फत स्पेनले अग्रता लिएको थियो । ‎त्यसको पाँच मिनेटपछि नै नुनो मेन्डिसले पोर्चुगललाई बराबरीमा ल्याए । ४५औँ मिनेटमा मिकेल ओयर्जबालले गोल गर्दा स्पेन २–१ ले आगडि बढ्यो ।

‎क्रिस्टियानो रोनाल्डोले ६१औँ मिनेटमा गोल गर्दै खेललाई २–२ को बराबरीमा ल्याए ।

अतिरिक्त समयमा पनि गोल निस्कन नसकेपछि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट लगाइएका हो ।

‎पोर्चुगल दोस्रो पटक च्याम्पियन बनेको हो । यसअघि टोलीले सन् २०१९ मा यो उपाधि जितेको थियो ।

‎आइतबार नै तेस्रो स्थानका लागि भएको खेलमा फ्रान्सले जर्मनीलाई २–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्